पुँगरमै बाख्रा पालनबाट मनग्य आम्दानी


प्रकाशित मिति : पुस २४, २०७९ आईतबार

जयपृथ्वी नगरपालिका पडेसका किसान भरतबहादुर विष्टले बाख्रा पालनबाट लाखौँको कारोबार गरिरहनुभएको छ ।

पुँगर लेकमा बस्ने उहाँले दुई बाख्राबाट सुरू गरेको व्यवसाय अहिले दुई खोर नै भरिभराउ छ । चार पुस्तादेखि पुँगरमा रमाएको विष्ट परिवारले तीन दशकयता मात्रै बाख्रापालन सुरू गरेको थियो । जिल्ला सदरमुकामबाट डेढ घण्टा मात्रै टाढा रहेको पुँगरमा उहाँले हरेक महिना चार/पाँच खसी बिक्री गर्दै आउनुभएको छ ।

उहाँले भन्नुभयो ,“बाख्रा सुरू गरेको समयमा एउटै बाख्रो र पाठी मात्रै थियो । पछि बढ्दै जाँदा दुई वर्षमा दर्जनको हाराहारीमा भए ।” उहाँका अनुसार अहिले बाख्राको जति कारोबार गरे पनि ५५ बाख्राभन्दा तल भने कहिल्यै कम भएका छैनन् ।

“मैले जिन्दगीमा धेरै व्यवसायमा हात हाले, तर सफलता भने कतैबाट हात लागेन, उहाँले भन्नुभयो, “बाख्रा व्यवसायपछि भने कहिल्यै पछाडि फर्कनुपरेन । अहिले पनि महिनामै चार/पाँच बाख्रा बेचिन्छ । त्योअनुसारको उत्पादन पनि भइरहन्छ ।” निरन्तर सङ्घर्षपछि सफलता मिल्दै जाँदा ‘गरे हुन्छ’ भन्ने सोच थपिएको उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँ बाख्रालाई बाघ, स्यालबाट भने जोगाउन हम्मेहम्मे पर्ने गरेको बताउनुहुन्छ । “बाख्रापालनबाट केही घाटा छैन”, उहाँले भन्नुभयो, “दिनभर चराउँदा पनि पुग्छ, घाँस काट्नुपर्छ भन्ने हुँदैन । बिक्री नहोला भन्ने पनि छैन । दिउँसो ग्वालो (चरिचराउन गर्ने व्यक्ति) भए पुग्छ तर, ग्वालो बलियो छैन भने एकैपटक धेरै नोक्सान हुन्छ ।”

उहाँसँग बाख्रा मात्रै होइन, अन्य चौपाया पनि प्रशस्तै छन् । “भैँसी, गाई, गोरु पनि पाल्दै आएका छौँ”, उहाँले भन्नुभयो, “मेरा सम्पत्ति भनेकै यी चौपाया नै हुन् । यिनको रेखदेखमा लागेपछि कतै जान पाइँदैन । रेडियो सुन्नेबाहेक बाहिरी संसार पनि केही थाहा हुँदैन ।”

अहिले विष्ट परिवारलाई खसीबोका तथा बाख्रा विक्रीका लागि बाहिर जानुपर्दैन । कसैलाई चाहिएमा सम्पर्क गरेर पुँगरमै पुग्ने गरेको उहाँ बताउनुहुन्छ । पुँगर लेक एउटा ‘पिकनिक जोन’ पनि हो । वनभोज खान यहाँ सयौँको सङ्ख्यामा मान्छे आउँछन् । “मङ्सिर–पुसमा मात्रै दर्जनभन्दा बढी खसी बोका वनभोज खानेलाई विक्री गरेँ”, उहाँले भन्नुभयो, “बाख्रा व्यवसायको फाइदा पनि यही हो । बेच्ने पनि गाउँमा यसरी नै हो ।” खसी बोका बिक्रीका लागि अहिलेसम्म दौडधुप गर्नु नपरेको उहाँले बताउनुभयो ।

परिश्रम गरे हरेक कुरा सम्भव हुने बताउने विष्ट राज्यबाट अनुदान, पशु औषधिजस्ता कुराहरू केही नपाएको गुनासो गर्नुहुन्छ । “राज्यले काम गर्नेलाई सहयोग गर्नुपथ्र्यो”, उहाँ भन्नुहुन्छ, “कामै नगर्नेलाई लाखौँ, करोडौँ रूपैयाँ अनुदानको नाममा सरकारले सहयोग गर्छ तर, हामीजस्ता कृषकलाई सामान्य औषधि पनि दिँदैन ।” राज्यबाट केही सहयोग प्राप्त नगरे पनि गाउँमै लोभलाग्दो व्यापार भएपछि निर्धक्क देखिन्छन् उनी । “म यहाँ बसेको तीन दशक नाघिसक्यो”, उहाँले भन्नुभयो, “म मात्रै होइन, बुबा, बाजेले पनि यसै ठाउँमा जीवन बिताउनुभएको थियो । पुस्तौँदेखि वस्तुभाउ पाल्दै आउँदा पनि आफूलाई कुनै निकायबाट सहयोग मिलेको छैन ।”

उहाँका अनुसार काम गर्ने इच्छाशक्ति भएका कृषकलाई राज्यले लगानी गर्नुपर्छ । “म त आफैँ पनि गर्न सक्छु, व्यवसायमा मलाई सरकारको कुनै सहयोग नभए पनि केही छैन तर, काम गर्ने इच्छाशक्ति भएका गरिब परिवारलाई राज्यले लगानी गर्ने हो भने त्यसको नतिजा पनि राम्रो आउँथ्यो होला ।” उहाँ भन्नुहुन्छ ।

अहिले विष्टले बाख्राबाटै वार्षिक रु सात लाखभन्दा बढी कमाउँदै आउनुभएको छ । “मैले बाख्रा पालेको लामो समय भइसक्यो”, उहाँले भन्नुभयो, “पहिलेको आम्दानी घरखर्च मात्रै हुन्थ्यो, दुई÷चार वर्षयता भने बचत पनि भइरहेको छ ।” त्यसै आम्दानीबाट तीन जना छोराछोरीलाई कैलालीमा प्राविधिक शिक्षा पढाउँदै आएको उहाँले सुनाउनुभयो ।

भरत मात्रै हुनुहुन्न, उहाँका दर्जनभन्दा बढी छिमेकी नै पडेसभन्दा बढी पुँगरमै बस्नुहन्छ । भरतका छिमेकी बलराम विष्ट भन्नुहुन्छ, “घर ९पडेस० भन्दा लेक पुँगर नै सजिलो हुन्छ । यता खुला ठाउँ पनि छ । वस्तुभाउ पालनदेखि फलफूल तरकारी सबै यतै राम्रो उत्पादन हुन्छ । घरमा खेती लगाउने समयबाहेक बाँकी समय पुँगरमै बस्छौँ ।”

बलरामले पनि पुँगरमा फलफूल, तरकारी, बाख्रा, भैँसी पाल्दै आउनुभएको छ । व्यावसायिकरूपमा नलागे पनि आफ्नो गुजाराका लागि पुँगर सजिलो भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“उत्पादन भएको केही बिक्री गर्नुपरेमा चैनपुर जान्छौँ । नत्र हाम्रो सानोतिनो उत्पादन फलफूल, तरकारी आफैँलाई ठीक हुन्छ ।” उहाँका अनुसार पुँगर लेकमा सडक पुगेपछि नियमितरूपमा गाडी सञ्चालन भइरहेका छन् । “कहिलेकाहीँ ओखर, कागती त घरबाटै बेचिन्छ ।” उहाँले भन्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com