३५ बर्षका मेस्सी र २२ बर्षका अल्भारेजको गोलबाट अर्जेन्टिना विश्वकपको फाइनलमा
प्रकाशित मिति : मंसिर २७, २०७९ मंगलबार
Argentina’s Julian Alvarez, center, celebrates scoring his side’s 2nd goal during the World Cup semifinal soccer match between Argentina and Croatia at the Lusail Stadium in Lusail, Qatar, Tuesday, Dec. 13, 2022. (AP Photo/Thanassis Stavrakis)
३५ बर्षका सुपरस्टार लियोनेल मेस्सी र २२ बर्षका जुलियन अल्भारेजको गोलबाट अर्जेन्टिनाले क्रोएसियालाई ३- ० ले पराजित गर्दै विश्वकपको फाइनलमा प्रवेश गरेको छ । खेलमा अल्भारेजले २ गोल र मेस्सीले १ गोल गरेका थिए ।

खेलको ३४ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई क्रोएसियाविरुद्ध १–० को अग्रता दिलाएका थिए । लगत्तै अल्भारेजले ३९ औं मिनेटमा गोल गरेर अर्जेन्टिनाको अग्रता दोब्बर बनाएका थिए ।
खेलको ७० औं मिनेटमा मेस्सीको उत्कृष्ट सहयोगपछि जुलियन अल्भारेजले अर्जेन्टिनाका लागि तेश्रो गोल गरेका थिए । आजको खेलमा उनले गरेको यो दोश्रो गोल हो ।

लियोनेल मेस्सी आफ्नो ११ औं गोलको साथ विश्वकपको इतिहासमा अर्जेन्टिनाका सबै समयका सर्वाधिक गोलकर्ता बनेका छन् । यो विश्वकपमा उनको ५ औं गोल हो । जुन फ्रान्सका केलियन एमबाप्पेसँग बराबर हो । अरु ३ वटा गोली मेस्सीको सहायतामा भएका छन् ।
यसपटकको विश्वकपमा मेस्सीले ६ वटा खेल खेलिसकेका छन् भने फाइलन खेल्दा सातौं खेल हुनेछ । आजको खेल विश्वकपका खेलहरुमा उनको २५ औं सहभागिता हो । जसले उनलाई विश्व कप इतिहासमा लोथर माथाउससँग बराबरीमा ल्याउँदछ। आज अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियासँग खेल्दा मेस्सी विश्वकपको इतिहासमा लोथरसँगै संयुक्त कीर्तिमान बनाउने खेलाडी बनेका छन् ।

अब फाइनलमा उनले विश्वकपका धेरै खेल खेल्ने खेलाडीमा नयाँ कीर्तिमान बनाउनेछन् । ३५ वर्षीय स्टार मेस्सीले खेल अघि यो उनको अन्तिम विश्वकप हुने बताइसकेका छन् ।
उनले विश्वकप बाहेक सबै प्रमुख क्लब र राष्ट्रिय टोलीको उपाधि जितेका छन्। उनी सन् २०१४ मा नजिक आएका थिए तर फाइनलमा जर्मनीसँग हारेका थिए ।






