समानुपातिकतर्फ कांग्रेस र एमालेले चार चार लाख कटाए, राष्ट्रिय पार्टी बन्ने मापदण्ड यस्तो
प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार
प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा (एमाले) ले चार लाख मतभन्दा बढी मत ल्याएको छ । निर्वाचन आयोगले अद्यावधिक गरेको तथ्याङ्कअनुसार एमालेले चार लाख ५२ हजार सात सय ३०मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले चार लाख १६ हजार एकसय ८४ मत ल्याएको छ । अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी दुई लाख ३४ हजार सातसय ४७ मतसहित तेस्रो स्थानमा रहेको छ । नेकपा (माओवादी केन्द्र) ले एक लाख ९२ हजार सातसय ४२ मत ल्याएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख २३ हजार नौ सय ९ , जनता समाजवादी पार्टी, नेपालले ५७ हजार नौ सय १०, मत पाएका छन् । नेपाल मजदुर किसान पार्टीले ४२ हजार चार सय ५७, जनमत पार्टीले २८ हजार तीन सय ४४, नेकपा (एकीकृत समाजवादी) ले २८ हजार तीन सय ७६ र नागरिक उन्मुक्ति पार्टीले २५ हजार छ सय १६ मत ल्याएको छ । विभन्नि साना दलहरुको जोड्दा ९८ हजार पाँच सय १९ मत आएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक अनुमान अनुसार समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि तीन लाख २० हजार बढी मत ल्याउनुपर्ने छ ।
प्रदेश सभा सदस्य समानुपातिकतर्फ पनि एमाले नै अग्रस्थानमा देखिएको छ । चार प्रदेशमा एमाले, दुई प्रदेशमा कांग्रेस र एक प्रदेशमा माओवादी अगाडि देखिएको छ ।
राष्ट्रिय पार्टी बन्ने मापदण्ड कस्तो छ ?
राजनीतिक दल सम्बन्धी ऐन अनुसार प्रतिनिधिसभामा राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिक तर्फ दलहरूले प्राप्त गरेको कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्छ।
निर्वाचन आयोगको प्रारम्भिक अनुमान अनुसार यसपटक समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि तीन लाख २० हजार बढी मत ल्याउनुपर्ने देखिएको छ।
देशभरबाट एक करोड ९ लाख ७० हजार बढी मतदान भएको देखिन्छ।
आयोगले अनुमान गरेजस्तै तीन लाख हाराहारी मत बदर भएको अवस्थामा एक करोड ६ लाख मतको तीन प्रतिशत मत ल्याउने दलले समानुपातिक प्रणालीबाट संसद्मा आफ्ना उम्मेदवार निर्वाचित गराउन सक्छ।
बदर भएको मत घटाएर कुल सदर मतको तीन प्रतिशत मत तीन लाख २० हजार आसपास हुन आउँछ। प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६० को उपदफा १२ अनुशार समानुपातिकमा तीन प्रतिशत भन्दा कम मत ल्याउने दलहरूको मत दलले प्राप्त गरेको कुल मतमा गणना नगरिने व्यवस्था छ । जस अनुसार तीन प्रतिशत नपुर्याउने कैयौँ दलहरूले प्राप्त गरेको मत गणना हुँदैन।
निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीतर्फ कुल ४८ वटा दलले भाग लिएका छन्।
राष्ट्रिय दलको मान्यता पाएका पार्टीले संसद्मा एउटा संसदीय दलको कार्यालय सहित सांसदको सङ्ख्या अनुसार कर्मचारी र खर्चको सुविधा पाउँछन्। संसद् सचिवालयले यस्तो मान्यता पाएका दलहरूलाई संसदीय दलको सुविधा उपलब्ध गराउँछ ।
हरेक राष्ट्रिय दलको संसदीय दलका प्रमुख सचेतकले पनि संसद् सचिवालयबाट गाडी सहित सचिवालय र कर्मचारी सुविधा पाउँछन्।
त्यस्तै राष्ट्रिय दलले हरेक निर्वाचनमा आफ्नो चुनाव चिन्ह कायम राख्ने सुविधा पाउँछन्। तर राष्ट्रिय दलको मान्यता असफल भएका पार्टीहरूले हरेक निर्वाचनमा त्यही चुनाव चिन्ह पाउँछन् भन्ने निश्चित हुँदैन। यद्यपि निर्वाचन आयोगले उनीहरूले रोजेको चुनाव चिन्ह प्रदान गर्दै आएको छ।
राष्ट्रिय मान्यता प्राप्त दलले पाएको मत अनुसार मतपत्रमा चुनाव चिन्ह पनि सबैभन्दा अगाडिबाट क्रमशः राखिन्छ ।