न्युयोर्कको म्यानहटन प्रवेश गर्ने गाडीलाई १५ डलर शुल्क जुन ३० देखि लागु हुने


प्रकाशित मिति : बैशाख १५, २०८१ शनिबार

a city street filled with traffic and tall buildings

न्युयोर्क सिटीको म्यानहटन प्रवेश गर्ने गाडीलाई १५ डलर शुल्क लिने नियम जुन ३० देखि लागु हुने भएको छ । ६० स्ट्रीट र त्योभन्दा तल म्यानहटनमा प्रवेश गर्न प्राय सवारी साधनहरूले १५ डलर टोल शुल्क तिनुपर्ने छ । यो कार्यक्रमले एमटीएको सबवे, बस र यात्रु रेलहरूको सञ्जाललाई आधुनिकीकरण गर्न प्रति वर्ष अनुमानित १ बिलियन डलर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

न्युयोर्क सिटीका सडकहरूमा भींड कम गर्न, पैदल यात्रुहरूको सुरक्षा बढाउन, ट्राफिक हिंसा कम गर्न, हावामा सुधार गर्न यो शुल्कको आवश्यकता रहेको यसका पक्षधरहरुले बताएका छन् । मूल्य निर्धारण संरचनामा १५ डलरको न्यूनतम टोल समावेश छ । स्कूल बसहरू, यात्रु बसहरू र केही सरकारी सवारीहरूको लागि छुट दिइनेछ । ट्रकहरूलाई तिनीहरूको प्रकारको आधारमा २४ वा ३६ डलर चार्ज गरिनेछ।

न्युयोर्क सिटीमा यात्रा गर्ने न्युजर्सीका ड्राइभरहरूका लागि यो योजनाले म्यानहटनमा पुग्नको लागि क्रसिङहरूमा तिर्ने शुल्कहरूका अतिरिक्त शुल्क थप्नेछ । यद्यपी यो कार्यक्रमले अझै पनि कानुनी चुनौतिहरुको भने सामना गरिरहेको छ । तर कानुनी चुनौतिहरू असफल भएमा न्युयोर्कवासीहरूले एकदमै फरक म्यानहट्टन देख्नसक्नेछन् ।

टोल शुल्क समावेश भएको क्षेत्र अमेरिकाकै सबैभन्दा धेरै भींड हुने क्षेत्र हो, जहाँको जाममा न्युयोर्कबासीहरुले बर्षमा ११७ घण्टा बिताउने गर्छन् भने औषत ट्राफिक स्पीड ७ माइल प्रतिघण्टामात्र हुनेगर्छ । कार्यक्रम सुरु भएपछि यो क्षेत्रमा हरेक दिन एकलाख कम गाडीहरु प्रवेश गर्ने अपेक्षा गरिएको छ । यस्ता कार्यक्रमहरु लण्डन, सिंगापुर र स्टकहोममा पनि रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com