सुध्रिएनन् राजमार्गका होटलहरु, गुनासो गर्दा उल्टै दुर्व्यवहार


प्रकाशित मिति : भाद्र १९, २०७९ आईतबार

शङ्कर श्रेष्ठ/ एक त नागढुङ्गा–नौबिसे सडकखण्डको जाम, त्यसमाथि राजमार्गका होटेलमा सडेगलेका खाना । गुनासो गर्दा होटल सञ्चालकबाट उल्टै दुर्व्यवहार । होटल सञ्चालकले असुल्ने मनपरी मूल्य आफ्नै ठाउँमा छ । खाना सफा भएन भन्दा होटेलका सञ्चालक र मजदुरले दुर्व्यवहार गर्नुका साथै धम्क्याउने गरेका छन् ।

केही दिनअघि काठमाडौँबाट धादिङ आउँदै गर्नुभएकी युनिशा अधिकारीले कान्तिपुर होटेलमा दुई सय तिरेर एक प्लेट मःम माग्नुभयो, तर खान सक्नुभएन । खान मिल्ने नै थिएन । खानीखोलास्थित आरपी कोल्ड स्टोर एण्ड खाजा घरमा भेटिनुभएकी अधिकारीले भन्नुभयो, “मःम काँटा चम्चाले टिप्नै नमिल्ने थियो । मुखमा हाल्न सक्ने नै थिएन । गुनासो गर्दा होटेलवालाले उल्टै थर्काउँदो रहेछ ।”

हुन त राजमार्ग आसपासमा सञ्चालन हुने होटेलमा यात्रु ठगिने र गुणस्तरहीन खाना खुवाउने विषय नौलो होइन । वर्षौंदेखि सर्वसाधारण यात्रुले भोग्दै आएको समस्या हो यो । राजमार्ग आसपासमा हजारौँको सङ्ख्यामा होटल सञ्चालन भएका छन् । सरकारले मूल्य सूची अनिवार्य रूपमा राख्नुपर्ने नियम ल्याए पनि कार्यान्वयन हुन सकेको छैन । खानाको गुणस्तरमा समेत सुधार हुन सकेको छैन ।

गुणस्तरअनुसार खानेकुरा महँगो भयो भनेर सञ्चालकलाई सुनाउँदा प्रायः सबैले धम्क्याइ खेप्नुपर्छ । खाना गुणस्तरीय भएन, महँगो भयो भनेर जसले सुनाउँछ उसले सञ्चालक वा मजदुरबाट खानाको साटो मुखभरिको जवाफ र दुर्व्यवहार सहनुपर्छ । व्यवसायीले आफूखुसी खानाको मूल्य निर्धारण गरी यात्रुसँग चर्को मूल्य असुल्दै आएका छन् । यात्रुहरूले महँगो मूल्य तिरेर पनि बासी खाना खानुपर्ने बाध्यता छ । गाडी सञ्चालक र होटल व्यवसायीको मिलेमतोमा सार्वजनिक सवारीमा आवतजावत गर्ने यात्रु यसरी ठगिँदै आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दार्चुलाबाट काठमाडौँ आउँदै गर्नुभएका तारादत्त भट्ट चढेको गाडी पृथ्वी राजमार्गको खयरघारीस्थित कान्तिपुर होटेलमा रोकियो । भट्टले खाना मगाउनुभयो, तर दुई गाँस पनि खान सक्नुभएन । सार्वजनिक यातायात चढेर यात्रामा रहनुभएका उहाँलाई बस जहाँ रोकिन्छ त्यहीँ खाना खानुको विकल्प पनि थिएन । भोको पेट भर्नकै लागि खाना खाँदा प्रायजसो चिसो भइसकेको गुणस्तरहीन खानेकुरा जबर्जस्ती खानुपर्ने बाध्यता आइपर्ने भट्टले गुनासो गर्नुभयो । “प्रायजसो बासी खाना भेटिन्छ । महँगो पैसा तिरेर गुणस्तरहीन खानेकुरा जबर्जस्ती खानुपर्ने बाध्यता छ । रु १० पर्ने चियालाई रु ३० सम्म लिन्छ”, उहाँले भन्नुभयो ।

“खानुभन्दा पहिले नै पैसा तिरेर खान लागेको खाना दुई चम्चा पनि खान सकिएन, होटेलवालासँग बोल्यो कि कुटुँला जस्तो गर्दो रहेछ । हाम्रोमा हुने यस्तै हो, खाए खाऊ नत्र जाऊ भन्दै उल्टै थर्काउँछ”, अर्का यात्रु अम्बिका श्रेष्ठले सुनाउनुभयो ।

राजमार्गका होटल तथा रेस्टुराँ अन्यत्रभन्दा महँगा भएको स्वयं होटल सञ्चालकले नै स्विकार्ने गरेका छन् । यात्रु ल्याउने गाडीलाई भत्ता दिनुपर्ने र तीनरचार वटा खाना चालक सहचालकलाई निःशुल्क दिनुपर्दा खानाको मूल्य बढी लगाउनुपरेको होटल सञ्चालक कुमार घिमिरेले बताउनुहुन्छ ।

होटल सञ्चालकको मिलेमतोमा बस तथा माइक्रोबस चालकले २० मिनेट मात्र खाना तथा खाजा खाने समय राखेर यात्रुलाई अप्ठ्यारोमा पार्ने गरेका छन् । “बीस मिनेटमा शौचालय जान, हातमुख धुन र खाना, खाजा खान भ्याइँदैन । एउटै होटेलमा एक पटकमा दसौँ गाडी र सयौँ यात्रु हुनेहुँदा शौचालय, धारो र टेबलमा समेत पालो पाउन गाह्रो पर्छ”, काठमाडौँ आउँदै गर्नुभएकी राधिका अधिकारीले भन्नुभयो, “खाना थप्न त कता हो कता पहिलेकै खाना बुत्याउन भ्याइँदैन ।”

पृथ्वी राजमार्गको नौबिसेदेखि बेनिघाट आसपासका होटेलले यात्रुलाई सेवा दिने नाममा गुणस्तरहीन खाना खुवाएर मनपरी पैसा असुल्ने गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयले अनुगमन थालेको छ । अनुगमनमा परेका अधिकांश होटल फोहरी भेटिएका छन् ।

बाहिरबाट टिलिक्क पारिएका होटलको खानामा पनि गुणस्तर नभएको उपभोक्ताले गुनासो गरेका छन् । होटेलले भान्छा र भाँडा माँझ्ने ठाउँ एकै ठाउँमा चलाएको समेत भेटिएको छ । “बाहिर सरसफाइ छ तर खानामा गुणस्तर छैन । मूल्य सूची राखेको छ । आफ्नै मनोमानीमा तयार गरेको समेत भेटियो”, घरेलु तथा साना उद्योग कार्यालय धादिङका प्रमुख मेघनाथ गौतमले भन्नुभयो, “किराना पसल होटेलले दोब्बरसम्म मूल्य लिएको गुनासो आयो । त्यही गुनासोका आधारमा अनुगमन गर्दा ६० प्रतिशतसम्म बढी मूल्य लिएको पाइएको छ ।”

जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय धादिङले पृथ्वी राजमार्ग अन्तर्गतको धादिङको चरौँदी, बेनिघाट, सलाङघाट, धार्के, नौबिसे क्षेत्र आसपासका होटल तथा खाजा घर र किराना पसलमा शनिबार पनि अनुगमन गरेको छ । गुणस्तरहीन खाना दिने गरेको गुनासोपछि धादिङका सरकारी निकाय अनुगमनका लागि निस्किएका हुन् । होटल अनुगमनका क्रममा अधिकतम खुद्रा मूल्यभन्दा बढीमा सामान बेच्ने, गुणस्तरहीन खानेकुरा बेच्ने होटेललाई कारबाही पनि गरिएको छ ।

स्थानीय नागरिक तथा यात्रुको गुनासोलाई ध्यान दिएर अनुगमन गरिरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताउनुभयो । अनुगमनका क्रममा सरसफाइ नगर्ने, मूल्य सूची नराख्नेलाई पनि कारबाही र सचेत गराइएको छ । मूल्य सूची नराख्नेलाई सात दिनभित्र राख्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी लम्सालको भनाइ छ ।

पृथ्वीराजमार्ग क्षेत्रमा सञ्चालित होटल तथा खाजा घरमा अनुगमनका क्रममा २० वटा होटल तथा खाजा घर, छ वटा सप्लायर्स र किराना पसल गरी जम्मा २६ वटा फर्मको जिल्ला अनुगमन टोलीद्वारा अनुगमन गरिएको छ ।

करिब एक लाख एक हजार ५०० रुपैयाँ बराबरको म्याद गुज्रेका र सडेगलेका प्रयोग गर्न अयोग्य सामग्री जफत गरी नष्ट गर्नुका साथै अनुगमनका क्रममा कैफियत भेटिएका १५ वटा फर्मलाई नगद जरिवाना समेत गरिएको प्रमुख जिल्ला अधिकारी लम्सालले जानकारी दिनुभयो । अनुगमनकै क्रममा भेटिएका यात्रुले यस्ता होटल सञ्चालकलाई सरकारले नै कडाइपूर्वक अनुगमन गरेर ठेगान लगाउन सुझाव दिने गरेका छन् ।
रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com