बुधबारदेखि सरकारी वेवसाइटबाटै निशुल्क कोरोना परीक्षण सामाग्री घरमा मगाउन सकिने


प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार

बुधबारदेखि सरकारी वेवसाइटबाटै निशुल्क कोरोना परीक्षण सामाग्री घरमा मगाउन सकिने भएको छ । हरेक घरमा ४ वटा सम्म परीक्षण सामाग्री मगाउन सकिने र त्यसका लागि हुलाक खर्च लगायतका कुनै पनि खर्च नलाग्ने जनाइएको छ ।

जनवरी १९ देखि निशुल्क कोरोना परीक्षण सामाग्री घरमै मगाउन यहाँ क्लीक गर्नुहोला ।

वेवसाइटमा गएर नाम र ठेगानामात्र हालेपछि कोरोना परीक्षण सामाग्री मगाउन सकिनेछ । अमेरिकी सरकारले ५ सय मिलियन कोरोना परीक्षण सामाग्री खरिद गरिसकेको र हरेक ठेगानामा ४ वटासम्म परीक्षण सामाग्री पठाइने उच्च सरकारी अधिकारीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

अनलाइनबाट अर्डर गरेको ७ देखि १२ दिनभित्र कोरोना परीक्षण सामाग्री घरमा पठाइसकिनेछ । बिहिबार अमेरिकी राष्ट्रपति जो बाइडेनले थप ५ सय मिलियन कोरोना परीक्षण सामाग्री खरिद गरिने घोषणा गरेका थिए । जसको अर्थ सरकारसँग १ बिलियन कोरोना परीक्षण सामाग्री उपलब्ध हुनेछ ।

यसरी मगाइएका कोरोना परीक्षण सामाग्री अमेरिकाको सरकारी हुलाकले पठाउनेछ । त्यसका लागि सरकारी हुलाक प्रणालीसँग सहकार्य गरिएको अधिकारीहरुले जनाएका छन् । इन्टरनेट नभएकाहरुले फोन गरेर पनि कोरोना परीक्षण सामाग्री घरमा मगाउन सक्नेछन् ।

अमेरिकामा कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण तीब्र बनिरहँदा सरकारले परीक्षणलाई ब्यापक बनाउन यो योजना ल्याएको हो । जनवरी १५ देखि लागु हुने गरी निजी इन्सुरेन्स हुनेहरुले मासिक ८ वटासम्म कोरोना परीक्षण सामाग्री निशुल्क मगाउनसक्ने व्यवस्था पनि गरिसकिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com