कोरोना महामारीका कारण अमेरिकाको जनसंख्याबृद्धि दर १२० बर्ष यताकै कम
प्रकाशित मिति : पुस ७, २०७८ बुधबार
कोरोना महामारीका कारण अमेरिकाको जनसंख्याबृद्धि दर १२० बर्ष यताकै कम भएको छ । रेकर्ड राखिएका कुनै पनि बर्षको तुलनामा सन् २०२१ मा अमेरिकाको जनसंख्या बृद्धिदर कम रहेको अमेरिकी जनगणना ब्यूरोले जनाएको छ ।
कूल अन्तर्राष्ट्रिय आप्रवासनमा कमी, प्रजनन क्षमतामा कमी, कोरोना महामारीका कारण बढेको मृत्युदर लगायतले जनसंख्या बृद्धिमा प्रभाव पारेको जनगणना ब्यूरोको भनाई छ । सन् १९३७ यता पहिलोपटक सन् २०२१ मा अमेरिकाको जनसंख्या १० लाख भन्दा कमले बृद्धि भएको भने सन् १९०० देखि रेकर्ड राख्न थालेयताकै कम जनसंख्या बृद्धि भएको छ ।
२०२१ मा अमेरिकाको जनसंख्यामा जम्मा ३ लाख ९२ हजार ६ सय ६५ जनाले बृद्धि भएको जनाइएको छ । यो जम्मा शुन्य दशमलव १ प्रतिशतले बृद्धि हो । केही बर्षयता अमेरिकामा जनसंख्या बृद्धिदरमा कमी हुँदै आएको छ । उमेर पुगेकाहरुको मृत्युदर, अन्तर्राष्ट्रिय आप्रवासनमा कमी, प्रजनन क्षमतामा कमी जस्ता कारणले त्यसमा प्रभाव पारेको मानिदै आएको छ ।

सन् २०२० र २०२१ को बीचमा अमेरिकाका ३३ वटा राज्यमा भने जनसंख्या बृद्धि भएको देखिएको छ । सातवटा राज्यहरु र वासिंटन डिसीको जनसंख्यामा कमी आएको छ । जनसंख्या कमी आएका १८ मध्येका ११ क्षेत्रमा १० हजारभन्दा बढीले जनसंख्या घटेको मगलबार सार्वजनिक तथ्यांकमा जनाइएको छ ।
२० औं शताब्दीमा जनसंख्या बृद्धिमा सन् १९१८ देखि सन् १९१९ का बर्षमा निकै कमी आएको थियो । फ्लुको महामारी र पहिलो विश्वयुद्धका कारण त्यतीबेला जनसंख्या बृद्धिमा कमी आएको थियो ।
सन् २०२० को अप्रिलयता अमेरिकाको जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २ सय ८१ बाट बढेर ३३ करोड १८ लाख ९३ हजार ७ सय ४५ मात्र भएको तथ्यांकले देखाएको छ । जुन शुन्य दशमलव १३ प्रतिशतलेमात्र बृद्धि हो । अमेरिकामा कोरानाका कारणबाट मृत्यु हुनेहरुको संख्या ८ लाख नाघेको छ ।





