क्यापिटल हिल दंगामा प्रहरीमाथि आक्रमण गर्नेलाई ५ बर्षभन्दा लामो जेल सजायको फैसला
प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार
जनवरी ६ को क्यापिटल हिल दंगामा प्रहरीमाथि आक्रमण गर्ने फ्लोरिडाका एकजना व्यक्तिलाई संघीय जेलमा ५ बर्षभन्दा लामो समय सजायको फैसला सुनाइएको छ । ती व्यक्तिले सुरुमा क्यापिटल हिल दंगा हेरेर उत्सव मनाएका थिए भने पछि आगो निभाउने उपकरणले प्रहरीमाथि समेत आक्रमण गरेका थिए ।
क्यापिटल हिल दंगामा सहभागी भएका व्यक्तिलाई ५ बर्षभन्दा लामो जेल सजाय सुनाइएको यो पहिलो घटना हो । ५४ बर्षका रोबर्ट पाल्मर नामका ती व्यक्तिले गत अक्टोबरमा अदालतसमक्ष आफूबिरुद्धको अभियोग स्वीकार गरेका थिए । उनले खतरनाक हतियारको प्रयोग गरेर कानून कार्यान्वयन अधिकारीमाथि आक्रमण गरेको अभियोग सामना गरेका थिए ।
सुरुमा अभियोग स्वीकारेका उनले डिसी जेलमा प्रवेश गरेपछि भने अनलाइन फण्डरेज सुरु गर्दै आफ्नो भनाई समेत बदलेका थिए । उनले आफूमाथि रबरका गोली र अश्रुग्यास प्रहार भएपछि प्रतिरक्षाका लागि आफूले प्रहरीमाथि आगो निभाउने उपकरणले हानेको बताएका थिए ।

तर शुक्रबार भने उनले आफ्नो गल्ती स्वीकार गरेका छन् । उनले प्रहरीमाथि आगो निभाउने उपकरणले दुईपटक फ्याकेको र चारदेखि पाँच फुट लामो खम्बा समेत प्रहरीमाथि फ्याकेको स्वीकार गरेका छन् । उनले आफूले गरेको गतिविधिको जिम्मेबारी नलिएको भन्दै सुरुमा ५ बर्षभन्दा कम तोकिएको जेल सजाय बढाएर ५ बर्षभन्दा बढी बनाइएको छ ।
पाल्मरले क्यापिटल हिल दंगामा आफूले गरेको गतिविधिका लागि लज्जाबोध भएका बताएका छन् । जेलमा भएको बेलामा आफूले टेलिभिजनमा आफ्नो फूटेज देखेको र आफैलाई देखेर लज्जाबोध भएको उनले बताएका छन् ।
जनवरी ६ को क्यापिटल हिल दंगामा प्रहरीबिरुद्ध आक्रमण गरेको अभियोग १३० जना भन्दा धेरैबिरुद्ध लगाइएपनि पाल्मर सजाय पाउने दोश्रो व्यक्ति हुन् । पाल्मरले मार्चमा आत्मसपर्मण गरेको तथा एफबीआईसँग समन्वय गरेकोमा अभियोजनकर्ताहरुले प्रशंसा गर्दै न्यायाधिस समक्ष ६३ देखि ७८ महिनासम्मको दायराको सजायको माग गरेका थिए ।






