कतिपय व्यक्तिले भ्याक्सिनको चौथो डोज लगाउनुपर्ने सीडीसीको सिफारिस
प्रकाशित मिति : कार्तिक ११, २०७८ बिहीबार
प्रतिरोध क्षमता कमजोर भएका कतिपय व्यक्तिले कोरोनाबिरुद्धको भ्याक्सिनको चौथो डोज समेत लगाउनुपर्ने अमेरिकन सीडीसीले जनाएको छ । प्रतिरोध क्षमता कमजोर भएकाहरुलाई भ्याक्सिनको तेश्रो डोज दिइसकेकाले सीडीसीले ६ महिनापछि लगाउन सिफारिस गरेको बुस्टर डोज उनीहरुका लागि चौथो डोज हुनेछ ।
गत अगस्तमा सीडीसीले फाइजर वा मोडेर्नाको दोश्रो डोज लगाएका प्रतिरोध क्षमता कमजोर हुनेहरुले तेश्रो डोज लगाउनसक्ने सिफारिस गरेको थियो । त्यसपछि अमेरिकामा प्रतिरोध क्षमता कमजोर भएका कैयनले तेश्रो डोज लगाएका थिए । तेश्रो डोज एमआरएनए भ्याक्सिनका लागिमात्र सिफारिस गरिएको थियो, जोन्सन एण्ड जोन्सनका लागि गरिएको थिएन ।
त्यतीबेला तेश्रो डोजलाई बुस्टर डोजका रुपमा लिइएको थिएन । केबल भ्याक्सिनको नियमित श्रृंखलाका रुपमा लिइएको थियो । तर अहिले उक्त तेश्रो डोज लगाएकाहरुलाई पनि बुस्टर डोज सिफारिस गरिएको छ । नयाँ बुस्टर डोज जोन्सन एण्ड जोन्सन लगायत कुनै पनि उपलब्ध भ्याक्सिनको हुनसक्ने सीडीसीले स्पष्ट पारेको छ ।

विभिन्न शोधहरुले प्रतिरोध क्षमता कमजोर भएका व्यक्तिमा दुईडोज भ्याक्सिन लगाउँदा समेत कोरोनाबिरुद्ध प्रयाप्त प्रतिरोध क्षमता विकाश नभएको पाइएको थियो । त्यसैले उनीहरुलाई तेश्रो डोज भ्याक्सिन समेत सिफारिस गरिएको थियो । तर चौथो बुस्टर डोजको उद्देश्य भने फरक हुनेछ । खस्कदो प्रतिरोध क्षमतासँग सामना गर्न बुस्टर डोज दिइनेछ ।
प्रतिरोध क्षमता कमजोर भएका र नभएकाहरुलाई दुबैलाई बुस्टर डोजको उद्देश्य एउटै रहेको छ । अमेरिकामा झण्डै २ दशमलव ७ प्रतिशत बयस्कहरुमा प्रतिरोध क्षमता कमजोर रहेको छ । जसमा अंग प्रत्यारोपण गरेकाहरु, क्यान्सरका बिरामीहरु र एचआईभीका बिरामीहरु समेत रहेका छन् । तर प्रतिरोध क्षमता कमजोर भएका सबैलाई चौथो डोज आवश्यक नभएको जनाइएको छ ।
अमेरिकामा ११ मिलियन प्रतिरोध क्षमता कमजोर भएकाहरुमध्ये केही व्यक्तिलाई २ डोजले नै काम गर्ने जोन हप्किन्स युनिभर्सिटीका प्राध्यापक डाक्टर डोरी सेगेभको भनाई छ । प्रतिरोध क्षमता कमजोर भएकालाई अगस्तमामात्र तेश्रो डोज सिफारिस गरिएकाले त्यसपछि तेश्रो डोज लगाएकाहरुले बुस्टर डोजका लागि ६ महिना कुर्नुपर्ने जनाइएको छ ।





