काठमाडौँका सडक बनाउने र भत्काउनेको समन्वय नहुँदा जताततै खाल्डैखाल्डा


प्रकाशित मिति : कार्तिक १, २०७८ सोमबार

काठमाडौँ उपत्यकामा विद्युत्, टेलिकम, इन्टरनेट, खानेपानी, ढललगायतका युटिलिटी (लाभ वा उपयोगिता)का कारण सडक अवरुद्ध भइरहेको छ । विभिन्न सेवा प्रदायकले खन्दा कतै सडक खनेर खाल्डो भएको छ त कतै सडक र सडक पेटी अवरुद्ध भएका छन् ।

सडक विभागले सडकको निर्माण गर्ने र अरु विभिन्न निकायले आवश्यक संरचना राख्ने भए पनि आपसी समन्वय नहुँदा समस्या आएको हो । सडक कुनै निकायले बनाउने र कुनैले भत्काउने हुँदा सडक प्रयोगकर्ताले दुःख पाइरहेका छन् ।

यिनै समस्या समाधानका लागि वर्षौदेखि ‘युटिलिटी करिडोर’ सम्बन्धी ऐनको आवश्यकता महसुस भए पनि ऐन निर्माण अघि बढेको छैन । काठमाडौँका सडकमा आवश्यक संरचना राख्नका लागि खन्दा खाल्डैखाल्डा भएको छ । युटिलिटीका लागि सडक खन्दा नै त्यही निकायले पहिलेको अवस्थामा ल्याउनुपर्ने सडक विभागका महानिर्देशक अर्जुनजङग थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिलेको अवस्थामा ल्याउन ढिलो गर्दा सडक बिग्रने गर्छ ।”अहिले महाराजगञ्जदेखि बूढानीलकण्ठसम्मको सडकमा ठाउँठाउँमा खाल्डो रहेको छ । नेपाल विद्युत् प्राधिकरणले गत वर्ष तार जमिनमुनिबाट लैजानका लागि खाल्डो खनेकोमा उसले पुर्न बाँकी रहेको महानिर्देशक थापाले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विभागले निर्माण सुरु हुनु पहिले लिखित समझदारी गरेर तारको काम सकिएपछि सडकलाई पहिलेको अवस्थामा ल्याउनुपर्ने समझदारी भएको थियो । प्राधिकरणले केही समय पहिलेसम्म पनि पानीले गर्दा सडकको खाल्डा टाल्न नसकिएको जनाएको थियो । उहाँले भन्नुभयो, “अहिले वर्षा कम भइसकेकाले काम हुनसक्छ ।”

धोबीखोला करिडोरमा पनि प्राधिकरणकै कारण सडकमा ठाउँठाउँमा अवरोध रहेको छ । प्राधिकरणले यहाँको पैदलमार्ग नै ढाकिने गरी निर्माण सामग्री राखेको छ । पैदलमार्ग बाहेक झण्डै आधा मिटरसम्म सडकमा पनि ती सामग्री रहेको देख्न सकिन्छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका कारणले पनि बर्सेनि सडकमा खाल्डाखुल्डी हुने गरेको छ । खानेपानीको चुहावट हुँदा तत्काल नटाल्दा समस्या आउने गरेको विभागले जनाएको छ । गत वर्ष मेलम्चीको पानी आएपछि चुहावट बढेको र सडकमा खाल्डा बढेको थियो ।

सडक निर्माण गर्ने एउटा निकाय र युटिलिटी सञ्चालन गर्ने अर्को निकाय हुँदा समस्या आउने गरेको महानिर्देशक थापाले बताउनुभयो । सडकको र ती अरु निकायको योजना नमिलेकाले सडक प्रयोगकर्ताले दुःख पाउने गरेका छन् । सडकमा पहिले विभागले कालोपत्र गर्ने पछि अरुले खन्ने काम वर्षौदेखि भइरहेको उहाँले बताउनुभयो ।

यही समस्या हल गर्ने उद्देश्यले युटिलिटी करिडोरको अवधारणा आए पनि कानून अभावमा कार्यान्वयनमा जान सकेको छैन । सडक निर्माण गर्दा नै युटिलिटीका लागि एउटा डट (बिन्दु)बनाउँदा समस्या नहुन सक्छ । त्यही डटबाट नै नेपाल टेलिकम, इन्टरनेट सेवा प्रदायकले तार लैजान सक्नेछन् ।

उहाँले भन्नुभयो,“सडकको अहिले जस्तो खराब अवस्था नहोस् भनेर नै सो अवधारणा आएको हो ।” विभागले काठमार्डौँ उपत्यका बाहिरका स्थानमा डट राखेर त्यही युटिलिटीमा व्यवस्थापन गर्ने योजना बनाएको छ । विस्तारको क्रममा रहेको नौबिसे–मुग्लिन सडकमा टेलिकमसँगको समन्वयमा युटिलिटीका लागि डट राख्न लागिएको महानिर्देशक थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले विस्तारै अरुअरु सडकमा पनि त्यही गर्दै जाने योजना बनाएका छौँ ।”काठमाडौँ उपत्यका बाहिर जसरी उपत्यकामा भने युटिलिटीको व्यवस्थापन सजिलो छैन । विभागको अधिकार क्षेत्र आफ्नो हुँदा सहमति गरेर डट राख्न सकिने भए पनि काठमाडौँ उपत्यकामा धेरै निकाय भएकाले समन्वयमा समस्या रहेको महानिर्देशक थापाले बताउनुभयो । उपत्यकामा २१ पालिका भएकाले धेरै सरोकारवाला भएका ठाउँमा समन्वय गर्न गाह्रो रहेको उहाँले बताउनुभयो ।

सडक निर्माण गर्नु पहिले एउटा डट विच्छ्याएर त्यहीँबाट विद्युत्, टेलिकम, इन्टरनेट सेवा प्रदायकले आ–आफ्नो सेवा सञ्चालन गर्ने र त्यसको नियमित मर्मत खर्च उनीहरुबाट पनि उठाएर गर्ने नै यसको समाधान भएको उहाँले बताउनुभयो । युटिलिटी विधेयक स्वीकृत भएपछि त्यही मोडलमा जान सकिन्छ । उहाँले भन्नुभयो, “त्यो नभएसम्म अहिले सडकको अवस्था भद्रगोल छ ।”

उपत्यकामा कतै सङ्घीय त कतै स्थानीय सडक छन् । कतैकतै सङ्घकै उपत्यका विकास प्राधिकरणलगायतका निकायले बनाएका सडक पनि छन् । स्थानीयवासीले भने सडक भन्नासाथ विभागको नै जिम्मेवारी भन्ने बुझेर गुनासो गर्दै आएका छन् । अहिले पनि ललितपुरमा ठाउँठाउँमा ललितपुर महानगरपालिकाले काम गरिरहेको छ । काठमाडौँ महानगरपालिकाले थापाथलीमा प्रसूति गृह अगाडि निर्माण गरिहरेको छ । त्यहाँ समयमा निर्माण नसकिँदा वा अरु निकायले कुनै कामका लागि बिगार्दा पनि सडक विभागले नै आलोचना सहनुपरेको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com