औपचारिक भेटघाटमा उपरखुट्टीः शिष्टाचारको उल्लंघन वा सामान्य विषय?
प्रकाशित मिति : भाद्र २४, २०७८ बिहीबार
नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँगको औपचारिक भेटघाटमा अमेरिकी सहयोग परियोजना एमसीसी उपाध्यक्ष फतिमा सुमारको बडी ल्याङग्वेजलाई लिएर सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । ओलीसँगको भेटघाटमा सुमारले उपरखुट्टी लगाएर बसेको तस्वीर सार्वजनिक भएपछि यसबारे चर्चा भएको हो ।
सुमारले नेपाल आएपछि पहिलो भेट ओलीसँग गरेकी हुन् । यो भेटघाटमा अरु सबै सामान्य पोजिसनमा बसेको देख्न सकिन्छ भने सुमारलेमात्र उपरखुट्टी लगाएको देखिन्छ । कतिपयले यसलाई नेपालका पूर्व प्रधानमन्त्रीको अपमानका रुपमा समेत व्याख्या गरेका छन् ।
कतिपय देशहरुमा उपरखुट्टी लगाएर बस्नुलाई सामान्य मानिएपनि औपचारिक र कूटनीतिक भेटघाटहरुमा यस्तो बसाईलाई अशोभनीय मान्ने गरिन्छ । कतिपयले त यस्तो बसाईलाइै अन्तर्राष्ट्रिय कूटनीतिक मूल्य मान्यता विपरित समेत बताउने गर्छन् ।
इरानी राष्ट्रपतिसँगको भेटघाटमा स्वीडिस राजदूतले सन् २०१२ को एउटा भेटमा उपरखुट्टी लगाएर बसेको विषय अन्तर्राष्ट्रिय रुपमा नै चर्चामा आएको थियो । राजदूतले उपखुट्टी लगाएपछि आक्रोशित भएका इरानी राष्ट्रपतिले पनि उपरखुट्टी लगाएरै बसेर त्यसको जवाफ दिएका थिए । उपरखुट्टी नलगाउँदासम्म सौहाद्र बनेको सम्बाद त्यसपछि भने एकाएक बिग्रेको थियो ।

राजदूत पिट टिलरले राष्ट्रपति मोहम्मद अहमदिनेजाद समक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछिको भेटमा उपरखुट्टी लगाएर बसेका थिए । इरानका संचारमाध्यममा राजदूतको बसाईको विषयलाई लिएर निकै आलोचना भएको थियो ।
कूटनीतिक र सरकारी भेटघाटका क्रममा जारी शिष्टाचारका नियममा राजाराम बर्तौलाले विशिष्ट व्यक्तित्वका अगाडि उपरखुट्टी लगाउन नहुने उल्लेख गरेका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको वेवसाइटमा प्रकाशित शिष्टाचार सम्बन्धि सामाग्रीमा उनले कुहिनो टेबुलमा राख्न नहुने र सोफामा समेत अडेस लगाउन नहुने उनले उल्लेख गरेका छन् ।
त्यस्तै ईडिप्लोम्याट डटकमले प्रकाशित गरेको फ्रान्सको सांस्कृतिक शिष्टाचारबारेको एउटा सामाग्रीमा खुट्टा फ्टयाएर वा उपरखुट्टी लगाएर नबस्न भनिएको छ । त्यस्तै टेबुल र कुर्सीमा समेत खुट्टा नराख्न भनिएको छ । अर्थात् फ्रान्समा पनि औपचारिक वा कूटनीतिक भेटघाटमा उपरखुट्टी लगायर बस्नु अशिष्ट मानिन्छ । जापानमा पनि उपरखुट्टी लगाएर बस्नु शिष्टाचारबाहिरको मानिन्छ ।

सन् २०१९ मा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको टिमले टर्कीको भ्रमणका क्रममा भएको एउटा उच्च स्तरीय बैठकमा कुटनीतिक शिष्टाचारको उल्लंघन गरेको चर्चा निकै चलेको थियो । टर्किस टिम शिष्ट तरिकाले बसिरहेको उक्त भेटघाटमा पाकिस्तानी प्रधानमन्त्री खान सहित टिमका केही व्यक्ति भने उपरखुट्टी लगाएर बसेका थिए ।
कतिपयले भने उपरखुट्टी लगाएर बस्नुलाई शिष्टाचारको उल्लंघनको रुपमा लिन नहुने बताउँछन् । अमेरिकामा यसरी उपरखुट्टी लगायर बस्नुलाई सामान्य नै मानिन्छ ।

राष्ट्रपति जो बाइडेनसँगकै भेटघाटमा उपराष्ट्रपति कमला ह्यारिस उपरखुट्टी लगायर बसेका कैयन तस्वीरहरु सार्वजनिक छन् ।
साउदी अरबको भ्रमणका क्रममा प्रथम महिलाका रुपमा भ्रमण गर्दा मिशेल ओबामाले कपाल नढाकेका कारण आलोचना खेप्नुपरेको थियो ।





