अफगानिस्तानमा रहेका १३४ नेपाली सरकारको सम्पर्कमा


प्रकाशित मिति : श्रावण ३२, २०७८ सोमबार

अफगानिस्तानमा रहेका १३४ नेपालीले आफूहरूलाई उद्धार गरिदिन आग्रह गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार सोमबार साँझसम्म सम्पर्कका आएका ती नेपालीले आफूहरुलाई उद्धारका लागि आग्रह गरेका हुन्।

सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाउन परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा आइतबार एक कार्यदल गठन गरेको थियो ।

अफगानिस्तानमा रहेका नेपालीको अवस्थाबारे जानकारी आउने क्रम बढेको र उचित परिस्थिति बनेपछि उनीहरूको उद्धार हुने मन्त्रालयले जनाएको छ। मन्त्रालयले संयुक्त राष्ट्रसङ्घ, अमेरिका, बेलायत, क्यानडा, जर्मनी, युरोपेली सङ्घ, जापानलगायत देशलाई आफ्नो नागरिक उद्धार गर्दा नेपालीको पनि उद्धार गरिदिन पत्राचार गरिएको जनाएको छ।

सरकारले संयुक्त राष्ट्रसङ्घलाई फोन र पत्रमार्फत् पनि नेपालीको उद्धारका लागि अनुरोध गरेको छ। रोजगारीका सिलसिलामा अफगानिस्तानमा रहेका नेपालीको वस्तुगत अवस्था यकिन गरी आवश्यक समन्वय तथा उद्धारका लागि मुख्यसचिव शङ्करदास बैरागीको कार्यकक्षमा आइतबार अन्तर मन्त्रालयको बैठकले कार्यदल गठन गरेको थियो ।

उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण सङ्कलनका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा अनलाइन दर्ता गर्ने व्यवस्था गरिएको छ।  अनलाइनमा आफ्नो नामसहितको विवरण उल्लेख गरी दर्ता गर्न सम्बन्धित व्यक्ति वा परिवारलाई आग्रह गरिएको छ।

यस्तै उद्धारका लागि भाइबर, ह्वाट्सएपसहितको मोबाइल नम्बर ९७४९३२६४५८ र ९७४९३२६४५९ को व्यवस्था गरिएको छ । आफ्नो अवस्थाका बारेमा जानकारी गराउन वा मन्त्रालयमा सम्पर्क गर्न भनिएको छ । यस्तै सरकारले काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा कार्यरत नेपालीको तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन विशेष पहल गरिरहेको छ।

अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाबारे नयाँ दिल्लीस्थित नेपाली नियोगबाट ट्राभल एड्भाइजरी जारी गरिएको छ। आवश्यक सहयोगका लागि दूतावासको विभिन्न फोन तथा अन्य सम्पर्क नम्बरसमेत उपलब्ध गराइएको छ।

त्यस्तै अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीले त्यहाँ कार्यरत नेपालीको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवम् तथ्याङ्क उपलब्ध गराउनसमेत आग्रह गरिसकिएको छ।

यस्तै, कार्यदलको सोमबारको बैठकले तोकिएका फोन नम्बरमा आफ्नो विवरण टिपाउन सम्बन्धित व्यक्ति तथा परिवारलाई अनुरोध गरेको छ । अफगानिस्तानमा कार्यरत नेपालीले सामाजिक सञ्जालको प्रयोग गरेर आपसमा सुरक्षास्थिति तथा उद्धारसम्बन्धी सूचना आदानप्रदान गर्ने र सार्वजनिक भएका नम्बरमार्फत जानकारी उपलब्ध गराउन अनुरोध गरेको छ।

उद्धारको प्रक्रिया सुरु भई स्वदेश आउने क्रममा रहेका नेपालीको नेपाल आगमनपश्चात् गर्ने कोभिड–१९ को परीक्षण तथा क्वारेन्टिनलगायत कार्यको सहजताका लागि आवश्यक समन्वय गरी व्यवस्था मिलाउने निर्णय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

गृहमन्त्री बालकृष्ण खाँणले सोमबार नै सरकारका विभिन्न निकायका पदाधिकारी सम्मिलित बैठकमा अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि निर्देशन दिएका थिए। काबुलबाट आइतबारदेखि नै त्यहाँ रहेको नेपालीको सुरक्षित घर फिर्ती प्रक्रिया क्रमशः सुरु भइसकेको उल्लेख गर्दै परराष्ट्रले त्यसका लागि कूटनीतिक पहलसमेत भइरहेको स्पष्ट पारेको छ।

केही नेपालीलाई रोजगारदाताले नै उद्धार गरेर दोहा पुर्‍याएका छन् । वैदेशिक रोजगार विभागले अफगानिस्तानमा नेपाली पठाएका म्यानपावर व्यवसायीमार्फत पनि उद्धारको पहल गरिरहेको छ। व्यवसायीले ३३० नेपाली दोहा पुगेको जानकारी दिएको विभागले जनाएको छ। केही नेपाली भने काबुलस्थित विमानस्थलमै उद्धारको पर्खाइमा छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com