एप्पलले प्रयोगकर्ताका आईफोनमा बालबालिकाका अश्लील तस्वीर भए नभएको स्क्यान गर्ने
प्रकाशित मिति : श्रावण २३, २०७८ शनिबार
अमेरिकामा एप्पल कम्पनीले प्रयोगकर्ताका आईफोनमा बालबालिकाका नांगा तस्वीर राखिएका वा बाल यौन दुराचार सम्बन्धित तस्वीर भए नभएको स्क्यान गर्ने भएको छ । बाल संरक्षण समुहहरुले उठाएका आवाजहरुको सम्बोधन गर्दै एप्पलले यो नयाँ योजना अगाडि ल्याएको हो ।
एप्पलको यो योजनाप्रति सुरक्षा शोधकर्ताहरुले भने चासो देखाएका छन् । आफ्ना नागरिकको जासुसीका लागि सरकारले यो प्रणालीको दुरुपयोग गर्नसक्ने भन्दै चिन्ता समेत व्यक्त गरिएको छ । न्युट्रल म्याच नामको यो कार्यक्रम अन्तरगत बालबालिकाका नांगा तस्वीर वा यौन दुराचारका सामाग्री आईफोनमा राखिएमा एप्पलले त्यसको स्क्यान गर्नेछ ।

त्यस्तो सामाग्री भएको प्रणालीले संकेत गरेपछि एप्पलमा कार्यरत व्यक्तिले त्यसलाई हेर्नेछन् । यदि बालबालिकाको अश्लिल सामाग्री भएको पुष्टी भएमा प्रयोगकर्ताको एकाउन्ट खारेज गरिनेछ भने शोषित र बेपत्ता बालबालिकाहरुका लागि राष्ट्रिय केन्द्रमा समेत सुचित गरिनेछ ।
त्यस्तै फरक योजना अन्तरगत एप्पलले प्रयोगकर्ताका गोप्य सन्देशहरुपनि स्क्यान गर्ने योजना ल्याएको छ । बालबालिका सम्बन्धित यौन सामाग्री भए नभएको सुनिश्चित गर्न सन्देशहरु स्क्यान गर्ने यो योजनाबारेपनि गोप्यता सम्बन्धि काम गर्ने शोधकर्ताहरुले चिन्ता व्यक्त गरेका छन् ।
प्रणालीले केन्द्रको डाटाबेसमा रहेका बाल यौन दुब्र्यबहारका तस्वीरहरुसँग मेल खाने तस्वीहरुकोमात्र स्क्यान गर्ने जनाइएको छ । बुबाआमाहरुले आफ्ना बालबालिकाहरुका निर्दाेष तस्वीर खिचेर आईफोनमा राख्दा भने चिन्ता गर्नु नपर्ने जनाइएको छ ।
यसैबीच ह्वाट्सएपले भने बालबालिकाका अश्लिल तस्वीरहरु भए नभएको चेकजाँच नगर्ने बताएको छ ।






