हैटीका राष्ट्रपति जोभनेल मोइजको हत्या
प्रकाशित मिति : असार २३, २०७८ बुधबार
हैटीका राष्ट्रपति जोभनेल मोइजको निजी निवासमा हत्या भएको छ ।
पोर्ट-अ-प्रिन्सस्थित राष्ट्रपतिको निवासमा स्थानीय समय अनुसार बिहान १ बजे अज्ञात हतियारधारीहरूले आक्रमण गरेको जनाईएको छ ।
आक्रमणमा प्रथम महिला घाइते भएकी छिन् ।
५३ वर्षीय जोभनेल मोइजले सन् २०१७ को फेब्रअरी महिनादेखि सत्ता सम्हालेका थिए।
भ्रष्टाचारका अभियोगहरूका माझ मोइजले सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शनको सामना गर्नु परिरहेको थियो।
यसै वर्ष केही अघि राजधानी र देशका अन्य शहरहरूमा पनि मानिसहरूले उनको राजीनामाको माग गर्दै व्यापक रूपमा विरोध प्रदर्शनहरू गरेका थिए।
मोइजले सन् २०१८ मा हुने व्यवस्थापिकाको चुनाव ढिलाइ भएपछि राष्ट्रपतिको विशेषधिकार प्रयोग गर्दै विभिन्न निर्देशनमार्फत् गरीब मुलुक हाइटीमा शासन गर्दै आएका थिए।
उनको कार्यकाल सकिनै लाग्दा विवादहरू चुलिँदै गएका थिए र यसमा उनलाई पनि दोषी मानिँदै आएको थियो ।
अप्रिलमा हुनुपर्ने गरी तोकिएको हाइटीको संवैधानिक जनमत संग्रह कोभिड–१९ को महामारीको कारण स्थगित भएको छ ।
राष्ट्रिय निर्वाचन आयोगले जनमत संग्रहलाई सेप्टेम्बर २६ मा गर्ने घोषणा गत यसै बर्षको जुन २६ मा गरेको थियो ।





