अब न्युयोर्कको ड्राइभर लाइसेन्स र स्टेट आईडीमा लैंगिक तटस्थता
प्रकाशित मिति : असार १२, २०७८ शनिबार
अब न्युयोर्कको ड्राइभर लाइसेन्स र स्टेट आईडीमा महिला वा पुरुषका रुपमा आफूलाई चिनाउन नचाहनेहरुले लिंगको स्थानमा महिला र पुरुषको साटो एक्स चिन्ह लेख्न सक्ने भएका छन् । अहिलेसम्म लिंगको स्थानमा महिला र पुरुषमात्र लेख्न पाउने व्यवस्था रहेकोमा बिहिबार न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले नयाँ प्रावधानसहितको बिलमा हस्ताक्षर गरेका हुन् ।
लैंगिक मान्यता ऐन नामको उक्त ऐन यसै महिनाको सुरुवाततिर पारित भएको थियो । आफूलाई कडा रुपमा महिला वा पुरुषका रुपमा चिनाउन नचाहनेहरुलाई विकल्प प्रदान गर्नेमात्र नभई यो कानूनले आफ्नो नाम परिवर्तन गर्न चाहने तेश्रोलिंगीहरुलाई पनि सहज बनाएको छ । यसअगाडि नाम परिवर्तन गर्न चाहनेहरुले पत्रिकामा नाम र ठेगाना छपाउनुपर्ने प्रावधान रहेकोमा अब अदालतमा फाइल गरेर सिल लगाएपछि नाम परिवर्तन गर्न सकिने भएको छ ।

त्यस्तै उक्त कानूनले जन्मदर्ता प्रमाणपत्रमा पनि नाम र लिंग परिवर्तनको अवस्थालाई पनि सहज बनाएको छ । दर्ता गराउने व्यक्ति, बुबा वा आमाको स्थानमा अभिभावक (प्यारेन्टस) लेख्न सकिने व्यवस्था गरिएको छ । जसका कारण आफूलाई लैंगिक रुपमा बुबा वा आमाका रुपमा चिनाउन नचाहनेहरुले अभिभावक (प्यारेन्टस) का रुपमा चिनाउन सक्नेछन् ।
न्युयोर्कमा समलिंगी विवाहलाई मान्यता दिने कानून बनेको १० औं बार्षिकीको अवशरमा गभर्नर कुमोले नयाँ कानूनमा हस्ताक्षर गरेका हुन् । सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिका लागि यसलाई कोषेढुंगाका रुपमा लिइएको छ । यो ऐनले आधारभूत मानव सम्मानको सुनिश्चित गर्ने र लैंगिक आधारमा स्वास्थ्य, समानता, सुरक्षाबाट वञ्चित गराउने अवरोधहरु खारेज गर्ने कुमोले बताएका छन् ।

यो बिलमा राज्य संसदमा भएको मतदानमा पक्षमा ११३ र विपक्षमा ३६ मत खसेको थियो । त्यस्तै जुन ८ मा भएको मतदानमा राज्यको सिनेटमा पक्षमा ४६ र विपक्षमा १७ मत खसेको थियो । यो कानून १८० दिनभित्र लागु हुनेछ । जन्मदर्ता प्रमाणपत्रमा लिंग जनाउन एक्स लेख्नसकिने प्रावधानपहिले नै भएपनि यसले ड्राइभर लाइसेन्स र स्टेट आइडीमा समेत विस्तार गरेको हो ।
यो बिल राज्य सांसद डानियल ओडोनिलले स्पोन्सर गरेका हुन् । उनले नै एकदशक अगाडि न्युयोर्क राज्यमा समलिंगी विवाहलाई मान्यता दिलाउने बिलको स्पोन्सर गरेका थिए । राज्य सिनेटमा सिनेटर ब्राड होलिम्यानले बिलको स्पोन्सर गरेका थिए । यी दुबै राज्यसांसदहरु म्यानहटनका डेमोक्र्याट्सहरु हुन् ।





