बाइडेनको ६ ट्रिलियन डलरको बजेट प्रस्ताव सार्वजनिक
प्रकाशित मिति : जेष्ठ १५, २०७८ शनिबार
अमेरिकी राष्ट्रपति जो बाइडेनले ६ ट्रिलियन डलरको बजेट प्रस्ताव सार्वजनिक गरेका छन् । अर्थतन्त्र र अमेरिकनको जीवनको संघीय सरकार भूमिका बृद्धि गर्ने दृष्टिकोणसहितको बजेट प्रस्तावमा भौतिक संरचना, जनस्वास्थ्य र शिक्षामा खर्च केन्द्रीत गरिएको छ । धनी र कर्पोरेशनहरुमा ट्याक्स बढाउने योजना समेत बजेटमा छ ।
बाइडेन प्रशासनले आगामी अक्टोबर १ बाट सुरु हुने आर्थिक बर्ष २०२२ मा १ दशमलव ५२ ट्रिलियन डलर सेन्य र घरेलु कार्यक्रमहरुमा खर्च गर्ने योजना बनाएको छ । गतबर्षको तुलनामा यो ८ दशमलव ६ प्रतिशतले बृद्धि हो । गतबर्ष यसका लागि १ दशमलव ४ ट्रिलियन डलर छुट्याइएको थियो । जुन कोरोना महामारीबिरुद्ध लड्न आपतकालिन मापदण्ड बाहेकको हो ।
सैन्य र घरेलु कार्यक्रममा पनि घरेलु कार्यक्रममा बजेट बढी केन्द्रीत गरिएको छ । सैन्य कार्यक्रममा १ दशमलव ६ प्रतिशत बढाउँदा वैज्ञानिक शोध, उर्जा नविकरण लगायतका घरेलु कार्यक्रममा १६ दशमलव ५ प्रतिशत बृद्धि गरिने प्रस्ताव गरिएको छ ।

ह्वाइट हाउसले सामाजिक कार्यक्रम र भौतिक संरचनामा आगामी दशकमा ४ दशमलव ५ ट्रिलियन डलर खर्च गर्ने योजना बनाएको छ । जसमा आगामी बर्ष १७ बिलियन डलर बाटो, पुल र एयरपोर्टहरुको मर्मत लगायतमा खर्च गरिनेछ । त्यस्तै साढे ४ बिलियन पानीका पाइरुपहरु फेर्न खर्च गरिनेछ भने १३ बिलियन हाईस्पीड इन्टरनेटका लागि खर्च गरिनेछ ।
युनिभर्सल प्रिस्कुल र सबै शिक्षकले कम्तीमा घण्टाको १५ डलर प्राप्त गरेको सुनिश्चित गर्न सन् २०२२ मा ३ दशमलव ५ बिलियन खर्च गरिनेछ । परिवारहरुका लागि खर्च गर्न आगामी बर्षका लागि ८ दशमलव ८ बिलियन प्रस्ताव गरिएको छ । सस्तो चाइल्ड केयरका लागि ६ दशमलव ७ बिलियन डलर छुट्याइने छ भने तलबी बिदाका लागि ७५० मिलियन डलर छुट्याइनेछ ।





