रिपब्लिकन नेतृत्वका २२ राज्यले बेरोजगारी बिमा रकमका अतिरिक्त साप्ताहिक ३ सय नदिने
प्रकाशित मिति : जेष्ठ ६, २०७८ बिहीबार
बाइडेन प्रशासनले केही राज्यहरुम बेरोजगारी बिमा रकमका अतिरिक्त संघीय सरकारबाट उपलब्ध साप्ताहिक ३ सय दिने विकल्पहरु अन्त्य भएको जनाएको छ । रिपब्लिकन पार्टीले नेतृत्व गरेका कम्तीमा पनि २२ राज्यहरुले बेरोजगारी बिमा रकमका अतिरिक्त संघीय सरकारबाट उपलब्ध साप्ताहिक ३ सय संघीय सरकारले तोकेको समयभन्दा अगाडि नै अन्त्य गर्ने भएका छन् ।
साप्ताहिक ३ सय डलर उपलब्ध गराउँदा यसबारे राज्यको अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै उनीहरुले उक्त रकम बन्द गर्ने घोषणा गरेका हुन् । संघीय सरकारले भने सेप्टेम्बरको पहिलो सातासम्म यो रकम उपलब्ध गराउन बिल पारित गरेको थियो ।

राज्यहरुको कदमका कारण झण्डै ३६ लाख काम गुमाएकाहरुले संघीय सरकारबाट पाउने अतिरिक्त रकमका रुपमा २१ दशमलव ७ बिलियन डलर रकम गुमाउने भएका छन् । टेक्सास, इन्डियाना, साउथ क्यारोलिना लगायतका राज्यहरु संघीय सरकारले तोकेको अवधि अगाडि नै अतिरिक्त रकम अन्त्य गर्ने मध्येका राजयहरु हुन् ।
टेनेसीले जुलाई ३ देखि उक्त साप्ताहिक ३ सय रकम उपलब्ध गराउन रोक्ने घोषणा गरिसकेको छ । त्यहाँका गभर्नर बिल लीले जुलाई ३ पछि अतिरिक्त साप्ताहिक ३ सय उपलब्ध नगराइने घोषणा गरेका हुन् ।
त्यस्तै आयोवाका गभर्नरले पनि जुन १२ देखि साप्ताहिक ३ सय उपलब्ध गराउने संघीय कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन् । नर्थ डाकोटाका गभर्नरले जुन १९ मा यो कार्यक्रमबाट पछाडि हट्ने बताएका छन् । अर्थात् नर्थ डाकोटामा पनि जुन १९ पछि बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय उपलब्ध हुनेछैन ।

मिसिसिपीका गभर्नरले आफ्नो राज्यले जुन १२ देखि यो संघीय कार्यक्रम छाड्ने बताएका छन् । मिसिसिपीमा पनि जुन १२ पछि बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय उपलब्ध हुनेछैन । अलाबामाले पनि जुन १९ पछि साप्ताहिक ३ सय उपलब्ध गराउन बन्द गर्नेछ ।
अर्कान्सासले जुन २६ बाट साप्ताहिक ३ सय उपलब्ध गराउन बन्द गर्नेछ भने साउथ क्यारोलिनाले पनि जुनको अन्तिमबाट यो कार्यक्रममा सहभागिता जनाउने छैन । अर्थात् जुनको अन्तिमबाट त्यहाँ पनि बेरोजगारी विमा रकमका अतिरिक्त साप्ताहिक ३ सय आउन बन्द हुनेछ ।
मोन्टानाले पनि जुन २७ बाट यो कार्यक्रम बन्द गर्नेछ । अतिरिक्त साप्ताहिक ३ सय प्रदान गर्दा कामदारको अभाव भएको भन्दै यो कार्यक्रम बन्द गर्न लागिएको हो ।





