कागजपत्रविहिन विद्यार्थीले समेत महामारी सहायता पाउनसक्ने नियम घोषणा
प्रकाशित मिति : बैशाख २९, २०७८ बुधबार
कागजपत्रविहिन विद्यार्थीले समेत ३६ बिलियन आपतकालिन सहायता रकमको बजेटबाट महामारी सहायता पाउनसक्ने नियम बाइडेन प्रशासनले घोषणा गरेको छ । कागजपत्रविहिन विद्यार्थीहरुलाई सहायता प्राप्त गर्न रोक लगाउने ट्रम्पकालिन नीतिलाई बाइडेन प्रशासनले उल्टाएको हो ।
शिक्षा मन्त्रालयले सार्वजनिक गरेको नयाँ नियम अनुशार विद्यार्थीहरुलाई उनीहरुको आवास र खाद्यान्नका लागि तिर्नका लागि संघीय सहायता आवश्यक भए नभएको जाँच्दा कलेजहरुले अब उनीहरुको बैध स्टाटस हेर्नु नपर्ने भएको छ । नयाँ नियमले विद्यार्थीको परिभाषालाई सरलीकृत गरिदिएको छ ।

नयाँ नियमले कलेजहरुलाई सहायता रकम प्राप्त गर्न र छिटोभन्दा छिटो विद्यार्थीहरुसमक्ष पुर्याउनका लागि सहज बनाएको छ । विद्यार्थीहरुलाई शिक्षा सामाग्री, खाना र आवासका लागिमात्र नभई उक्त सहायता रकम शैक्षिक सहायता सेवाहरु, ल्यापटप खरिद र मानसिक स्वास्थ्य कार्यक्रम विस्तारमा समेत प्रयोग हुने अपेक्षा गरिएको छ ।
विगतमा औपचारिक रुपमा संघीय सहायता रकमका लागि आवेदन नदिएका लगायतका सबै विद्यार्थीहरु यो सहायता प्राप्त गर्नका लागि योग्य भएका छन् । विगतमा ट्रम्पकालिन नीति अन्तरगत अमेरिकी नागरिक भएकाहरुबाहेक अन्यलाई सहायता प्राप्त गर्न रोक लगाइएपनि अब यो रोक हटाइएको छ ।
२ दशमलव २ ट्रिलियनको केयर एक्ट अन्तरगत छुट्याइएको ६ बिलियन डलरको आपतकालिन सहायता रकममा कागजपत्रविहिन विद्यार्थीहरुलाई पहुच कायम गर्न रोक लगाउनेगरी गतबर्षको जुनमा ट्रम्प प्रशासनले आपतकालिन नियमको घोषणा गरेको थियो । यो नियमले बाल्यकालमा अमेरिका आएका १० औं हजार कागजपत्रविहिन विद्यार्थीहरुलाई सहायता प्राप्त गर्नमा रोक लगाएको थियो ।





