बेरोजगारी बिमा रकमका अतिरिक्त साप्ताहिक ३ सय नदिने ८ राज्यको घोषणा
प्रकाशित मिति : बैशाख २८, २०७८ मंगलबार
अहिलेसम्म कम्तीमा ८ राज्यहरुले बेरोजगारी बिमा रकमका अतिरिक्त संघीय सरकारबाट उपलब्ध साप्ताहिक ३ सय नदिने घोषणा गरेका छन् । साप्ताहिक ३ सय डलर उपलब्ध गराउँदा यसबारे राज्यको अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै उनीहरुले उक्त रकम बन्द गर्ने घोषणा गरेका हुन् । संघीय सरकारले भने सेप्टेम्बरको पहिलो सातासम्म यो रकम उपलब्ध गराउन बिल पारित गरेको थियो ।
टेनेसीले जुलाई ३ देखि उक्त साप्ताहिक ३ सय रकम उपलब्ध गराउन रोक्ने घोषणा गरेको छ । त्यहाँका गभर्नर बिल लीले जुलाई ३ पछि अतिरिक्त साप्ताहिक ३ सय उपलब्ध नगराइने घोषणा गरेका हुन् । कैयन रिपब्लिकनहरुले साप्ताहिक ३ सयको विरोध गरिरहँदा टेनेसी साप्ताहिक ३ सय नदिने घोषणा गर्ने पछिल्लो राज्य हो ।

त्यस्तै आयोवाका गभर्नरले पनि जुन १२ देखि साप्ताहिक ३ सय उपलब्ध गराउने संघीय कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन् । नर्थ डाकोटाका गभर्नरले जुन १९ मा यो कार्यक्रमबाट पछाडि हट्ने बताएका छन् । अर्थात् नर्थ डाकोटामा पनि जुन १९ पछि बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय उपलब्ध हुनेछैन ।
मिसिसिपीका गभर्नरले आफ्नो राज्यले जुन १२ देखि यो संघीय कार्यक्रम छाड्ने बताएका छन् । मिसिसिपीमा पनि जुन १२ पछि बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय उपलब्ध हुनेछैन । अलाबामाले पनि जुन १९ पछि साप्ताहिक ३ सय उपलब्ध गराउन बन्द गर्नेछ ।

अर्कान्सासले जुन २६ बाट साप्ताहिक ३ सय उपलब्ध गराउन बन्द गर्नेछ भने साउथ क्यारोलिनाले पनि जुनको अन्तिमबाट यो कार्यक्रममा सहभागिता जनाउने छैन । अर्थात् जुनको अन्तिमबाट त्यहाँ पनि बेरोजगारी विमा रकमका अतिरिक्त साप्ताहिक ३ सय आउन बन्द हुनेछ ।
मोन्टानाले पनि जुन २७ बाट यो कार्यक्रम बन्द गर्नेछ । अतिरिक्त साप्ताहिक ३ सय प्रदान गर्दा कामदारको अभाव भएको भन्दै यो कार्यक्रम बन्द गर्न लागिएको हो । अन्य केही राज्यले पनि साप्ताहिक ३ सय डलर बन्द गर्ने घोषणा गर्ने तयारी गरेका छन् ।





