उबर र लिफ्ट चालक लगायतका सन्दर्भमा ट्रम्पकालिन नियम बाइडेन प्रशासनबाट खारेज
प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार
उबर र लिफ्ट चालक लगायत एप्लीकेशनबाट काम गर्नेहरुका सन्दर्भमा ट्रम्पकालिन स्वतन्त्र कन्ट्रयाक्टर सम्बन्धि नियमलाई बाइडेन प्रशासनले खारेज गरिदिएको छ । बुधबार लेबर डिपार्टमेन्टले गरेको घोषणामा एप्लीकेशनबाट काम गर्नेहरुलाई व्यवसायले स्वतन्त्र कन्ट्रयाक्टरका रुपमा बर्गिकृत गर्न पाउने नियमलाई खारेज गरिएको हो ।
बिहिबारदेखि लागु हुनेगरी गरिएको यो घोषणा अन्तरगत एप्लीकेशनबाट काम गर्ने गिग कामदारहरु निष्पक्ष श्रम मापदण्ड ऐन अन्तरगत न्यूनतम ज्याला पाउने र बढी समय काम गरेकाहरुलाई ओभरटाइम क्षतिपूर्ति पाउने व्यवस्था गरिएको छ । कर्मचारी बर्गिकरणको यो नियम उबर, लिफ्ट, डोरड्यास जस्ता कम्पनीहरुका सन्दर्भमा लागु हुनेछ ।

ट्रम्पकालिन स्वतन्त्र कन्ट्रयाक्टर नियम खारेज गरेर अत्यावश्यक कामदारको अधिकारलाई संरक्षण गरिएको लेबर सेक्रेटरी मार्टी वाल्सले बताएका छन् । अधिकांश सन्दर्भमा एप्लीकेशनमार्फत काम गर्नेहरु पूर्ण कामदारका रुपमा सुचिकृत हुनुपर्ने उनको भनाई छ ।
आगामी दिनहरुमा लेबर डिपार्टमेन्टले एप्लीकेशनबाट काम गर्नेहरुको उपयुक्त ज्यालामा पहुच, बिरामी विदा र हेल्थकेयर लगायतका सुविधा पाए नपाएकोबारे सुनिश्चत गर्न कम्पनीहरुसँग छलफल गर्ने जनाइएको छ । एप्लीकेशनबाट काम गर्ने कामदारहरुमा भर पर्ने कम्पनीहरुले क्यालिफोर्नियामा चालकलाई कामदारका रुपमा सुचिकृत गराउने नियमबिरुद्धको लडाईमा २ सय मिलियन डलर खर्च गरेका थिए ।

उबरले अहिलको आफ्नो रोजगारप्रणाली आउटडेटेड भएको स्वीकार गरेको छ । नयाँ नियम अनुशार चालकहरुलाई उबरले कामदारका रुपमा सुचीकृत हुने र बढी सुविधाहरु प्राप्त गर्ने तर कम लचकता हुने वा स्वतन्त्र कन्ट्रयाक्टरका रुपमा सुचिकृत हुने र बढी लचकता प्राप्त गर्ने विकल्प दिने जनाइएको छ ।
डोर ड्यासले आफ्नो एप्लीकेशनमा काम गर्नेहरुले हप्तामा ४ घण्टाभन्दा पनि कम का गर्ने भएकाले उनीहरुले लचकता चाहने बताएको छ । लिफ्टले यसबारे कुनै प्रतिकृया जनाएको छैन ।





