अमेरिकी लोकतन्त्र नयाँ शिराबाट अगाडि बढिरहेको बाइडेनको घोषणा
प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार
अमेरिकी लोकतन्त्र नयाँ शिराबाट अगाडि बढिरहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरेका छन् । अमेरिकी संसदको संयुक्त सदनलाई सम्बोधन गर्दै बाइडेनले महामारीबाट नकारात्मक असर परेको अर्थतन्त्रलाई उकास्नकालागि संघीय कार्यक्रमहरुमा विस्तारको आव्हान गरेका हुन् ।
कोरोनाको कहरबाट अमेरिकाको उदयले अमेरिकी लोकतन्त्र अझै पनि कामयावी रहेको र विश्वमा प्रधानता बनाइराख्नसक्ने कुरा प्रमाणित भएको बाइडेनले बताए । पदभार ग्रहण गरेको एकसय दिनको सेरोफेरोमा बाइडेनले बालबालिका, शिक्षा र परिवारका लागि १ दशमलव ८ ट्रिलियन डलरको प्रस्ताव गदैृ आफ्नो सम्बोधनमा ठूलोमात्रामा संरचनात्मक परिवर्तनको आव्हान गरेका छन् ।
बाइडेनले सम्बोधन गर्दा संयुक्त संसदको दृश्य पनि ऐतिहासिक देखिएको थियो । पहिलोपटक राष्ट्रपतिको पछाडि दुबैजना महिला थिए । महिला उपराष्ट्रपति कमला ह्यारिस र हाउस स्पीकर न्यान्सी पेलोसीलाई पृष्ठभूमिमा राखेर ‘म्याडम प्रेसिडेण्ड’ भन्दै सम्बोधन सुरु गरेका बाइडेनले भने – ‘यो पोडियमबाट कुनै पनि राष्ट्रपतिले अहिलेसम्म यी शब्दहरु भनेका थिएनन् । र यो समयको कुरा हो ।’

बाइडेनले अगाडि भने – ‘अमेरिका उडानका लागि तयार छ । हामी फेरी काम गरिरहेका छौं । हामीले फेरी सपना देखिरहेका छौं । हामीले फेरी खोज गरिरहेका छौं । हामीले फेरी विश्वको नेतृत्व गरिरहेका छौं । हामीले एक अर्का र विश्वलाई अमेरिकाले केही नछाड्ने कुरा देखाएका छौं ।’
अमेरिकी राष्ट्रपति जो बाइडेनले न्युयोर्क समय अनुशार राती ९ बजेदेखि सम्बोधन सुरु गरेका थिए भने एकघण्टाभन्दा लामो सम्बोधन गरेका थिए ।
हाउस स्पीकर न्यान्सी पेलोसीले संयुक्त सदनलाई सम्बोधनका लागि पठाएको निमन्त्रणा स्वीकार गर्दै बाइडेन संयुक्त सदनको सम्बोधनमा उपस्थीत भएका हुन् ।
यो सम्बोधन आधिकारिक स्टेट अफ द युनियन सम्बोधन भने होइन । किनभने संसदसमक्ष राष्ट्रपतिको पहिलो सम्बोधनलाई स्टेट अफ द युनियन सम्बोधन मान्ने चलन छैन ।

कोरोना महामारीका कारण सम्बोधनका क्रममा च्याम्बरमा सांसदहरुको संख्या सिमित गरिएको थियो । बाँकीले हाउस फ्लोर र ग्यालरीमा बसेर सम्बोधन सुन्नेछन् । सांसदहरुका पाहुनालाई पनि अनुमति दिइएको थिएन ।
ह्वाइट हाउसले अफगानिस्तानबाट आगामी सेप्टेम्बर ११ सम्म सबै सेना फिर्ता गर्ने घोषणा गरेकै दिन पेलोसीको पत्र बाइडेनलाई प्राप्त भएको थियो । अमेरिकामा भएको सेप्टेम्बर ११ को आतंककारी हमलाको २० औं बार्षिकीमा अफगानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता गर्ने ह्वाइट हाउसले घोषणा गरिसकेको छ ।





