न्युयोर्क सिटीमा कोरोना संक्रमणदर ५ महिनायताकै कम
प्रकाशित मिति : बैशाख १३, २०७८ सोमबार
न्युयोर्क सिटीमा कोरोना संक्रमणदर नोभेम्बरयताकै कम भएको छ । नोभेम्बर २३ यता न्युयोर्क सिटीमा कोरोना संक्रमणदर घटेर ३ दशमलव ५६ प्रतिशतमा झरेको हो । सात दिनको औषत कोरोना संक्रमणदर ४ प्रतिशतभन्दा कम भएको र यो अत्यन्तै खुशीको कुरा भएको न्युयोर्कका मेयर बिल डे ब्लाजिओले बताए ।
सोमबारसम्म न्युयोर्क सिटीमा नयाँ कोरोना संक्रमण पुष्टी १५८७ जनामा भएको र अस्पताल भर्ना हुने नयाँ बिरामीहरुको संख्या १ सय ६ रहेको मेयर ब्लाजिओले जानकारी दिए । दुबैसंख्या कैयन महिनाको तुलनामा सबैभन्दा कम हो । न्युयोर्क सिटीमा कोरोनाबिरुद्धको भ्याक्सिन वितरण तीब्र पारिरहँदा संक्रमणदरमा कमी आएको हो ।

न्युयोर्क सिटीको झण्डै आधा जनसंख्याले कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेको छ । न्युयोर्क सिटीले अहिलेसम्म ६० लाख डोजभन्दा धेरै भ्याक्सिन वितरण गरिसकेको छ, जुन मिजौरीको जनसंख्या भन्दा धेरै हो । न्युयोर्कमा अहिले १६ बर्षमाथि सबैले विना अप्वाइन्टमेन्ट भ्याक्सिन प्राप्त गर्न सक्छन् ।

अमेरिकामा भने कुल जनसंख्याको ४२ दशमलव ५ प्रतिशतले भ्याक्सिन लगाइरसकेका छन् । १८ बर्षमाथिको कुल जनसंख्याको ५३ दशमलव ९ प्रतिशतले भ्याक्सिन लगाइसकेको सीडीसीको तथ्यांकले देखाएको छ । अमेरिकामा अहिलेसम्म १४० मिलियनले कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेका छन् ।





