भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकैदिनमा ३ लाख ५३ हजार संक्रमण पुष्टी
प्रकाशित मिति : बैशाख १३, २०७८ सोमबार
भारतमा लगातार पाँचौ दिन अर्थात् आइतबार पनि कोरोना संक्रमणमा नयाँ रेकर्ड कायम भएको छ । आइतबारमात्र भारतमा ३ लाख ५२ हजार ९ सय ९१ जनामा कोरोना संक्रमण पुष्टी भएको जोन हप्किन्स युनिभर्सिटीको तथ्यांकले देखाएको छ । योसँगै भारतमा कुल संक्रमण पुष्टी हुनेहरुको संख्या १७ मिलियन नाघेको छ ।
आइतबारमात्र कम्तीमा २८ सय १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको आधिकारिक संख्या १ लाख ९५ हजार नाघेको छ । तर यो संख्या वास्तविक भन्दा निकै कममात्र रिपोर्ट गरिएको संचारमाध्यमहरुले रिपोर्ट प्रकाशित गरेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले हालैका दिनमा ठूला ठूला जमघट र धार्मिक भेलाहरुलाई अनुमति दिएपछि कोरोना संक्रमण अनियन्त्रित रुपमा बढेको हो । दोश्रो छाल आउनुभन्दा अगाडि भारतमा कोरोना संक्रमितहरुको संख्या दैनिक १० हजारको हाराहारीमा मात्र रहेको थियो । तर दोश्रो छालका कारण अप्रिलमामात्र भारतमा संक्रमण पुष्टी हुनेहरुको संख्या ५० लाख नाघेको छ ।
भारतमा कोरोनाको महामारीका कारण त्यहाँको स्वास्थ्य प्रणाली नै अस्तव्यस्त भएको छ भने अस्पतालहरु भरिभराउ भएका छन् । सिकिस्त बिरामीहरुलाई पनि बेडको अभावमा अस्पतालहरुले फर्काउने गरेका छन् । अस्पतालहरुमा अक्सिजनको अभाव भएका कारण बिरामीहरुको मृत्यु भइरहेको छ ।
अन्तर्राष्ट्रिय सहायता
अमेरिकाले भारतमा आष्ट्राजेनेका भ्याक्सिन उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थको आपूर्ति गर्ने भएको छ । विगतमा अमेरिकाले भारतमा आष्ट्राजेनेका भ्याक्सिन उत्पादनका लागि आवश्यक पर्ने सामाग्रीहरु पठाउनमा रोक लगाएको थियो ।
त्यस्तै अमेरिकाले भारतमा कोरोना परीक्षण किट, भेन्टिलेटरसहित उपचार सामाग्रीहरु पनि पठाउने भएको छ । अमेरिकाले आपतकालिन अवस्थामा अक्सिजन उत्पादन र सम्बन्धित सामाग्रीको आपूर्तिका लागि विकल्पहरु समेत खोजिरहेको ह्वाइट हाउसले जनाएको छ । अमेरिकाले सीडीसी र युएसएआईडीबाट जनस्वास्थ्य सल्लाहकारको टिमपनि भारत पठाउने भएको छ ।

महामारीको सुरुवातमा अमेरिकाका अस्पतालहरु तनावग्रस्त हुँदा भारतले सहायता पठाएजस्तै अमेरिका पनि भारतले संकटको यो घडीमा सहयोग गर्न दृढ रहेको ह्वाइटहाउसले जारी गरेको वक्तब्यमा जनाइएको छ । बाइडेन प्रशासनले भारतलाई सुरक्षात्मक पोशाक लगायतका सामाग्रीहरु पनि पठाउने तयारी गरिरहेको छ ।
ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभान र उनका भारतीय समकक्षी अजित डोभालबीच भएको फोनवार्ता लगत्तै अमेरिकाले सहयोगका लागि दृढतासहित वक्तव्य निकालेको हो । आगामी दिनमा सहयोगका लागि दुबै जना नजिकको सम्पर्कमा रहने समेत जनाइएको छ ।
बेलायत, फ्रान्स र जर्मनीले पनि सप्ताहन्तमा भारतलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । युरोपियन आयोगकी प्रवक्ताले पनि सहायताका लागि भारतको अनुरोधलाई सम्बोधन गर्न शीघ्र कदम चालिरहेको बताएकी छिन् । गतसाता चीनको विदेश मन्त्रालयले पनि भारतको आवश्यकतालाई सम्बोधन गर्ने सहायताका लागि तयार रहेको बताएको थियो ।
सिंगापुरको सरकारी लगानीकर्ता टेमासेकले मेडिकल उपकरणहरु भारत पठाउनका लागि एयर इन्डिया र अमेजन इन्डियासँग सहकार्य गरिरहेको जनाएको थियो । मेडिकल उपकरणहरु मुम्बई र पश्चिम बंगाल लगायतका क्षेत्रमा पठाइएको थियो । माइक्रोसफ्ट र गुगल लगायतका कम्पनीहरुले पनि सार्वजनिक रुपमा सहयोगको प्रतिबद्धता जनाएका छन् ।
स्थानीय सहायता
भारतका धनाड्य मुकेश अम्बानीको रिलायन्स उद्योगले एउटा तेल प्रशोधन केन्द्रमा हरेक दिन ७ सय टन मेडिकल ग्रेडको अक्सिजन उत्पादन गर्ने भएको छ । उक्त अक्सिजन कोरोनाबाट अति प्रभावित क्षेत्रमा निशुल्क प्रदान गरिने भएको छ । त्यस्तै टाटा गु्रपले तरल अक्सिजन ढुवानीका लागि २४ वटा कन्टेनरहरु आयात गर्ने भएको छ । जिन्दल स्टील एण्ड पावरले अस्पतालहरुलाई ५ सय मेट्रिक टन तरल अक्सिजन आपूर्ति गर्ने बताएको छ ।





