न्युयोर्कमा पाकिस्तानी महिलामाथि एसिड आक्रमणबाट अनुहार विक्षिप्त, आक्रमणकारी फरार
प्रकाशित मिति : बैशाख ९, २०७८ बिहीबार
(सावधान ! समाचारमा प्रयोग भएको फोटो र भिडियोले तपाईलाई विचलित बनाउन सक्छ ।)
न्युयोर्कमा २१ बर्षीय पाकिस्तानी महिलामाथि एसिड आक्रमण गर्ने व्यक्ति अहिलेसम्म फरार रहेको छ । न्युयोर्कको लङ आइल्याण्डमा पाकिस्तानी महिला नाफिया इकराममाथि एसिड आक्रमण भएको हो । आक्रमणबाट उनको अनुहार विक्षिप्त भएको घटनाको मुस्लिम विरोधी घआक्रमणका रुपमा अनुसन्धान गर्न अधिकारकर्मीहरुले माग गरेका छन् ।
गत मार्च १७ मा नाफिया इकराम र उनकी आमा घरबाहिर कारबाट बाहिर निस्कन खोज्दा एउटा व्यक्ति दौडदै उनको नजिक गएर अनुहार एसिड फ्याकेको थियो । त्यसपछि उक्त व्यक्ति भागेको थियो । आक्रमणमा नाफिया इकरामको अनुहार नराम्रोसँग जलेको छ भने उनी झण्डै अन्धो भएकी छिन् ।
त्यसपछि नाफियालाई तुरुन्तै अस्पताल लगिएको थियो । नाफियालाई कामबाट घरमा आउँदै गर्दा निशाना बनाइएको थियो । मेडिकल अध्ययन गरिरहेकी नाफियाको डाक्टर हुने लक्ष्य रहेको छ । यो आकस्मीक नभएर योजनाबद्ध आक्रमण भएको नाफियाका बाबुले बताएका छन् ।

यदि बुबाआमा घरमा नभएको भए र बुबाआमाले ९११ मा फोन नगरेको भए नाफिया बाँच्न सम्भव नहुने जनाइएको छ । यदि उनको फोक्सोमा एसिड परेको भएपनि उनको मृत्यु हुने भएकाले आक्रमणकारीले उनको हत्याको योजनासहित नै एसिड आक्रमण गरेको देखिएको छ ।
नाफियाले आफूमाथि आक्रमण भएपनि आत्तिएको र रुन थालेको बताएकी छिन् । कसैले आफ्नो अनुहारमा केही चीज फ्योकेको भन्दै चिच्याउँदा उनका बाबुले एसिड आक्रमण भएको बताएका थिए । एसिडले उनको आँखा, गला र पाखुरा समेत जलेको छ । तीनसातासम्म अस्पतालमा उपचार गर्दा पनि उनी अहिलेसम्म खानाखान सक्दिनन् भने एउटा आँखाले देख्द सक्दिनन् ।
सीसीटिभी क्यामेरामा भिडियो रेकर्ड त भएको छ तर संदीग्धको अनुहार चिन्न मुस्किल रहेको छ । नाफियाले आक्रमणकारीलाई आफूले नचिन्ने बताएकी छिन् । आक्रमणकारीले पनि केही नभनी नाफियामाथि एसिड आक्रमण गरेको थियो । आक्रमणकारी ६ दशमलव २ फिट अग्लो रहेको र कालो हुडी र पञ्जा समेत लगाएको प्रहरीले जनाएको छ ।
आक्रमणकारी रातो निशान गाडीमा चढेर फरार भएको प्रहरीको विश्वास छ । प्रहरीले आक्रमणकारीबारे कुनै सुराक भएमा जानकारी दिन सर्वसाधारणलाई अनुरोध गरेको छ । पक्राउका लागि कुनै सुराक दिनेलाई प्रहरीले १० हजार डलर इनाम समेत राखेको छ ।
एसिड आक्रमणबाट बाँचेकी नाफियाको न्यायका लागि सुरुवात गरिएको गोफण्डमी एकाउन्टमा अहिलेसम्म ४ लाख डलरभन्दा धेरै संकलन भइसकेको छ ।





