जर्ज फ्लोइडको हत्यामा संलग्न प्रहरी अधिकारी तीनवटै अभियोगमा दोषी ठहर, ४० बर्षसम्म जेल सजाय हुनसक्ने
प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार
अमेरिकामा अश्वेत जर्ज फ्लोइडलाई पक्राउ गर्ने क्रममा ९ मिनेटसम्म घाँटी न्याक्दा मृत्यु भएको घटनामा पूर्व प्रहरी अधिकारीलाई अदालतको जुरीले मंगलबार तीनवटै अभियोगमा दोषी ठहर गरेको छ । गत वर्ष मिनापोलिसको सडकमा जोर्ज फ्लोइडको पक्राउ गर्ने क्रममा प्रहरी अधिकारी ४५ बर्षीय डेरेक शोभिनले घुँडाले उनको घाँटी थिचेका थिए ।
यो घटनापछि जातिवाद र प्रहरीद्वारा अधिक बल प्रयोगविरुद्ध विश्वव्यापी प्रदर्शन भएको थियो । शोभिनलाई तीनवटा अभियोगमा दोषी ठहर गरिएको छ। जसमा सेकेन्ड डिग्री हत्या, थर्ड डिग्री हत्या र आशय बिनाको गैरकानुनी हत्या छन्।
सेकेण्ड डिग्रीमा हत्याको आशय हुनुपर्छ तर त्यो पूर्वनियोजित हुँदैन भने थर्ड डिग्री हत्यामा प्रतिवादीले पीडितलाई मार्न खोजेको भन्ने प्रमाण आवश्यक पर्दैन। त्यहाँ कारबाही खतरनाक भए पनि खासगरी ज्यान लिन खोजिएको हुँदैन।
जुरीले दोषी ठहर गरेपनि शोभिनलाई पछाडिपट्टी हतकडी लगाएर अदालतबाट बाहिर निकालिएको थियो । कतिबर्षसम्म उनले जेल सजाय भोग्नुपर्नेछ भन्ने कुराको अन्तिम निर्णय केहीसाताभित्र हुनेछ ।
सेकेन्ड डिग्री हत्यामा ४० बर्षसम्म जेल सजाय, थर्ड डिग्री हत्यामा २५ बर्षसम्म जेल सजाय, नरसंहारमा १० बर्षसम्मको जेल सजाय हुनसक्छ । तर सजायको गाइडलाइनमा डेरेकको विगतमा कुनै आपराधिक पृष्ठभूमि नभएका कारण हरेक हत्याको अभियोगमा साढे १२ बर्षका दरले र नरसंहारमा ४ बर्षको जेल सजाय सिफारिस गरिएको छ । तर राज्यले सिफारिस गरिएभन्दा कडा सजायको माग गरिएको छ ।
यसरी शोभिनलाई जेल सजाय नदिइँदासम्म ८ साता हिरासतमै रहनेछन् भने ४० बर्षसम्म जेलमा बिताउनु पर्ने हुनसक्ने जनाईएको छ । दुवै पक्षबाट सोमवार अन्तिम तर्कहरू प्रस्तुत गरिएपछि १२ जना सदस्य रहेको जुरी एक दिनभन्दा कम समयभित्रै आफ्नो निर्णयमा पुगेको हो। सुनुवाई तीन सातासम्म चलेको थियो ।
सुनुवाइ सकिएपछि जुरी बाह्य सम्पर्कबाट टाढा रहन एउटा होटलमा बसेको थियो। जुरी सदस्यहरू एकमत भएका थिए र उनीहरूले निर्णय नगर्दासम्म घर नफर्किने बताएका थिए।
राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्यारीसले निर्णयप्रति प्रशन्नता प्रकट गरेका छन्। बाइडनले कम्तीमा अहिले केही न्याय भएको बताए।
शोभिनले निर्णयविरुद्ध पुनरावेदन गर्ने अपेक्षा गरिएको छ ।





