जर्जियामा संदीग्धलाई पछ्याउँदा प्रहरीमाथि नै आक्रमण, तीन प्रहरी घाइते, संदीग्धको मृत्यु
प्रकाशित मिति : चैत्र ३०, २०७७ सोमबार
संदीग्ध व्यक्तिलाई पछ्याउने क्रममा उक्त व्यक्तिले प्रहरीमाथि गोली चलाउनुका साथै प्रहरीको कारमा आफ्नो कार ठोक्काउँदा तीनजना प्रहरी अधिकारीहरु घाइते भएका छन् । एकजना संदीग्ध व्यक्तिको मृत्यु भएको छ भने अर्का एकजनालाई हिराशतमा लिइएको छ ।
घाइते क्यारोल काउन्टी, क्यारोल्टन र भिला रिका प्रहरीका अधिकारीहरुलाई अस्पतालमा भर्ना गरिएको छ । उनीहरुको अवस्थाबारे केही जानकारी दिइएको छैन । सोमबार विहान इन्टरस्टेट २० मा प्रहरीले १११ माइल प्रतिघण्टाको गतिमा गाडी कुदाएका शंकास्पद व्यक्तिलाई पछ्याउन सुरु गरेको थियो ।
प्रहरीले गाडीको प्रयोग गरेर संदीग्ध व्यक्तिको गाडीलाई बाटोको छेउमा रोक्ने प्रयास गरेको थियो । तर उक्त व्यक्ति पुन फुत्किएर भागेको थियो । गाडीको यात्रु सिटमा रहेको व्यक्तिले राइफल निकालेर प्रहरीको गाडीमाथि गोली चलाएको थियो । प्रहरीको गाडी अनियन्त्रित भएर एउटा गाडी पल्टेको थियो भने अर्को गाडी विद्युतको पोलमा गएको ठोकिएको थियो ।

त्यसपछि संदीग्ध व्यक्तिले भिला रिका प्रहरीमाथि पनि गोली चलाएको थियो । एकजना प्रहरी अधिकारीलाई ताकेर दुईपटक सम्म गोली चलाइएको थियो । क्यारोल काउन्टीका एकजना प्रहरी अधिकारी पनि गोली लागेर घाइते भएका छन् । उनको पाखुरामा गोली लागेपछि एटलान्टा मेडिकल सेन्टरमा उपचार भइरहेको छ ।
एकजना संदीग्धलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ भने अर्का संदीग्धको प्रहरी कारवाहीमा मृत्यु भएको छ । तर कसरी मृत्यु भयो भन्नेबारे केही बताइएको छैन । कुनै पनि संदीग्धहरु फरार भने नरहेको जनाइएको छ ।





