अमेरिकी संसद भवन अगाडि गाडी जोत्ने आक्रमणकारी र मृत्यु हुने प्रहरीको परिचय सार्वजनिक
प्रकाशित मिति : चैत्र २०, २०७७ शुक्रबार
अमेरिकी संसद भवन अगाडि एकजना व्यक्ति प्रहरीको अवरोधमाथि लगेर गाडी जोत्दा एकजना प्रहरी अधिकारीको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । १८ बर्षदेखि सेवामा खटिएका प्रहरी अधिकारी विलियम बिली इभान्सको मृत्यु भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । सुरुमा परिवारलाई जानकारी नदिंदासम्म ती प्रहरी अधिकारीको नाम सार्वजनिक गरिएको थिएन ।
आक्रमणकारीले प्रहरीमाथि गाडी जोतेपछि चक्कु निकालेर आक्रमण गरेको थियो । आक्रमणकारीमाथि पनि प्रहरीले गोली चलाउँदा मृत्यु भएको छ । घटना क्यापिटल हिलको उत्तरी भागको कन्स्टीच्युसन एभिन्युमा भएको हो । आक्रमणकारी २५ बर्षको नोह ग्रिन नामको व्यक्ति रहेको खुलेको छ ।

घटनाबारे अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बाह्य सुरक्षा खतरा रहेको भन्दै संसदभवन लकडाउन गरिएकोमा उक्त लकडाउन हटाएइएको छ । उक्त क्षेत्रमा थप सुरक्षा खतरा नरहेको जनाइएको छ । शुक्रबारको घटनाले केही महिना अगाडि क्यापिटल हिलमा भएको आक्रमणको घटनालाई स्मरण गराएको छ । तर शुक्रबार प्रहरी र नेशनल गार्डले घटनाबारे तुरुन्तै कदम चालेका थिए ।
BREAKING : Car smashes into one of US #Capitol entrances, ambulance on site, 2 people carried on stretcher and chopper came in and left.
Developing… video shows car: pic.twitter.com/R8PVeAYGDA
— Joyce Karam (@Joyce_Karam) April 2, 2021
शुक्रबार दिउसो एकबजे लगत्तै आक्रमणकारीले निलो गाडी क्यापिटल हिलको अवरोधमा जोत्दै दुईजना प्रहरी अधिकारीलाई हिर्काएको थियो । त्यसपछि संसद प्रहरीले तत्कालै संसदभवन लकडाउन गरेको थियो । आक्रमणकारी चक्कु लिएर प्रहरी अधिकारीलाई आक्रमण गर्न लागेपछि प्रहरीले आक्रमणकारीमाथि गोली चलाएको थियो । त्यसपछि घाइते भएको आक्रमणकारीलाई नियन्त्रणमा लिएकोमा पछि मृत्यु भएको थियो ।
आक्रमणकारीले कम्तीमा एकजना प्रहरी अधिकारीलाई चक्कु हानेर घाइते बनाएको जनाइएको छ । आक्रमणकारीले हालै सामाजिक सञ्जालमा गरेको पोष्टमा आफूले काम गुमाएको र स्वास्थ्य समस्या भएको तथा संघीय सरकारले उसलाई मष्तिष्क नियन्त्रणका लागि निशाना बनाएको उल्लेख गरेको थियो । घटना गराउनु भन्दा दुईघण्टा अगाडि पनि आक्रमणकारीले अमेरिकी सरकार अश्वेतहरुका लागि नम्बर एक दुश्मन रहेको भन्दै इन्स्टाग्राममा कैयन स्टोरीहरु हालेको थियो ।





