न्युयोर्कमा मनोरञ्जनका लागि गाँजालाई बैधता, दुबै सदनबाट पारित बिलमा गभर्नरबाट हस्ताक्षर


प्रकाशित मिति : चैत्र १८, २०७७ बुधबार

न्युयोर्क राज्य संसदका दुबै सदनबाट मनोरञ्जनका लागि गाँजालाई बैधता दिने बिल भारीमतले पारित भएपछि गभर्नर एन्ड्रयु कुमोले हस्ताक्षर गरेका छन् । राज्यको सिनेटमा बिलका पक्षमा ४० र विपक्षमा २३ मत खसेको थियो भने राज्यको प्रतिनिधिसभामा पक्षमा १ सय र विपक्षमा ४९ मत खसेको थियो ।

अब न्युयोर्कमा मनोरञ्जनका लागि गाँजालाई बैधता दिने अमेरिकाको १५ औं राज्य भएको छ । वासिंटन डिसीमा पनि मनोरञ्जनका लागि गाँजा बैध रहेको छ । बिलमा हस्ताक्षर गरेपछि गभर्नर कुमोले यसलाई ऐतिहासिक दिन भनेका छन् भने गाँजालाई बैध बनाउन निरन्तर वकालत गरेकोमा नेता र स्पीकरको प्रशंसा गरेका छन् ।

न्युयोर्क राज्यले गाँजालाई बैधता दिएर विगतमा गाँजा खाएका कारण अपराधिकरण गरिएका अश्वेत समुदायको उत्थानका लागि उचित कार्यक्रमको श्रृजना गरेको भन्दै न्युयोर्क सिटीका मेयर बिल ब्लाजिओले खुशी व्यक्त गरेका छन् । विगतमा गाँजालाई गैरकानूनी बनाउँदा गाँजा सम्बन्धित मामलामा कैयन व्यक्तिलाई अपराधीकरण गरिएको थियो । जसका कारण उनीहरुलाई समस्या भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०२० मा मात्र गाँजा सम्बन्धित विषयमा अश्वेत र ल्याटिनो समुदायका ९४ प्रतिशत पक्राउ परेका थिए । एउटा रिपोर्ट अनुशार न्युयोर्कमा २४ प्रतिशत श्वेत जनसंख्याले गाँजाको प्रयोग गर्छन् भने १४ प्रतिशत अश्वेत र १२ प्रतिशत ल्याटिनोले गाँजाको प्रयोग गर्छन् ।

गाँजालाई बैधता दिइएपनि कानूनी किनबेच भने सुरु हुन एकदेखि २ बर्षसम्म लाग्ने जनाइएको छ । बिल अनुशार २१ बर्षका माथिका व्यक्तिलाई न्युयोर्कमा मनोरञ्जनका लागि ३ आउन्स सम्म गाँजा किन्न र बोकेर हिड्नमा छुट दिइएको छ । तर गाँजाको किनबेच भने लाइसेन्सप्राप्त वितरकबाट गर्नुपर्छ ।

मनोरञ्जनका लागि गाँजा सेवन गर्नेहरुले घरमा ६ वटा बोटसम्म गाँजा रोप्न पाउनेछन् । एउटा परिवारले १२ वटा बोटसम्म गाँजा रोप्न पाउनेछ । राज्यको कर गाँजामा ९ प्रतिशत लगाइनेछ । जस अनुशार बर्षमा राज्यलाई ३ सय ५० मिलियन आम्दानी हुने अनुमान गरिएको छ । जसबाट ६० हजार जागिर थपिने अनुमान गरिएको छ ।

न्युयोर्क सिटीमा भने राज्यको ९ प्रतिशत र स्थानीय ४ प्रतिशत गरी १३ प्रतिशत ट्याक्स लाग्नेछ । जसबाट न्युयोर्कम मात्र बार्षिक १५० मिलियन भन्दा धेरै आम्दानी हुने अनुमान गरिएको छ ।

गाँजा सेवनका फाइदा

अमेरिकी चिकित्सक पिटर ग्रिनस्पुनले हारभर्ड विश्वविद्यालयको प्रकाशनमा गाँजा सेवनका फाइदाबारे उल्लेख गरेका छन् ।

एकसयवटा सकृय तत्वहरु पाइने गाँजामा हुने टेट्राहाइड्रोकानाबाइनोलका कारण व्यक्ति गाँजा सेवनपछि लठ्ठ पर्ने हुन्छ । त्यही तत्वका कारण गाँजाको नशा चढ्ने भएपनि गाँजा सेवनका दर्जनौं फाइदाहरु छन् । तर दुब्र्यसनीका रुपमा नभई औषधीको रुपमा गाँजाको सेवन गर्न जान्नुपर्छ ।

अनिद्रा, चिन्ता, चण्चलता जस्ता समस्याबाट छुटाकारा पाउन गाँजाको सेवन निकै फलदायी मानिन्छ । छारेरोग जस्तो प्राणघातक रोगको उपचार समेत गाँजाबाट सम्भव छ । बाल्यकालदेखिको छारेरोगको गाँजाको सेवनले पूर्ण उपचार सम्भव नभएपनि निकै कमगर्न सम्भव हुने चिकित्सक पिटर ग्रिनस्पुनले जनाएका छन् ।

अमेरिकामा सबैभन्दा धेरै पीडा नियन्त्रणका लागि गाँजाको प्रयोग गरिन्छ । तर हड्डी नै तोडिएको वा अपरेशन पछिको पीडा भने गाँजाको सेवनबाट सम्भव छैन । तर क्रोनिक खालको पीडाहरुमा भने गाँजाको सेवनले राहत दिलाउँछ । एडभिल, अलिभ जस्ता औषधीको साटो गाँजाको सेवन गरेर विभिन्न प्रकारको दुखाई कमगर्न सकिन्छ । मृगौला वा अल्सरको समस्याका कारण पीडा कम गर्ने त्यस्ता औषधी प्रयोग गर्न नसक्नेहरुका लागि गाँजाको सेवन फलदायी मानिन्छ ।

नशाको कारण हुने दुखाई, मासंपेशीमा राहतका लागि गाँजाको सेवन चिकित्सकहरुले फलदायी मानेका छन् । त्यस्तै पार्किन्सन लगायतका रोगको प्रभाव कमगर्न पनि गाँजाको सेवन उपयुक्त मानिन्छ । फाइब्रोमायल्गिया, एंडोमेट्रियोसिस, इंटरस्टिशियल सिस्टिटिसका लागि पनि गाँजाको सेवन फलदायी मानिन्छ । खासगरी लामो समयदेखिको दुखाई छ भने गाँजाको सेवन उपयुक्त मानिन्छ ।

त्यस्तै तौलकम हुने समस्या समाधानका लागि र ग्लुकोमाको उपचारका लागि गाँजाको सेवन उपयुक्त मानिन्छ । एचआईभीका कारण दुखाईबाट ग्रसित हुनेहरुका लागि पनि गाँजाको प्रयोग उपयुक्त ठानिएको छ । तर अति सर्वत्र बर्जयते भनेजस्तो अति सेवन भने घातक हुनसक्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com