नेपालको मानवअधिकार अवस्थाबारे अमेरिकी रिपोर्ट, कैयन गैरन्यायायिक हत्याबारे उल्लेख
प्रकाशित मिति : चैत्र १७, २०७७ मंगलबार
अमेरिकी सरकारको विदेश मन्त्रालयले नेपालको मानवअधिकार अवस्थाबारे रिपोर्ट सार्वजनिक गरेको छ । आज सार्वजनिक रिपोर्टमा कैयन गैरन्यायायिक हत्याबारे उल्लेख गरिएको छ । अमेरिकी विदेशमन्त्रालयले विश्वब्यापी मानवअधिकारबारे रिपोर्ट प्रकाशित गरेको हो ।
रिपोर्टमा गत जुन १० मा धनुषामा प्रहरी हिराशतमा मारिएका दलित समुदायका शम्भु सदादेखि जुलाई १६ मा नेपाली सेनाको हिराशतमा यातना पाएपछि मृत्यु भएका राजकुमार चेपाङसम्मको प्रसंग उल्लेख गरिएको छ । सदाले एकजना महिलालाई गाडी दुर्घटनामा ठक्कर दिंदा मृत्यु भएपछि प्रहरी समक्ष आत्मसमर्पण गरेको र प्रहरीले हिराशतमा आत्महत्या गरेको बताएको रिपोर्टमा उल्लेख छ । तर उनका परिवार समुदायले भने सदाको मृत्यु प्रहरीको यातनाबाट भएको विश्वास गर्ने अमेरिकी रिपोर्टमा उल्लेख छ ।

त्यस्तै चेपाङ र उनका ६ जना साथीहरु चितवन नेशनल पार्कबाट पक्राउ परेकोमा केहीदिनमा रिहा गरिएको थियो । तर उनलाई दिइएको यातनाका कारण उनको जुलाई २२ मा मृत्यु भएको परिवार र समुदायको विश्वास छ । नेपाली सेनाले यसबारे अनुसन्धान भइरहेको जनाइएको छ । त्यस्तै सर्लाहीमा बिप्लव नेतृत्वको नेकपाका नेता कुमार पौडेल मारिएको घटनाबारे पनि रिपोर्टमा उल्लेख गरिएको छ । मानवअधिकारवादी संघ संस्थाहरुले उक्त इन्काउन्टर नक्कली भएको दावी गर्दै घटनामा संलग्न तीन प्रहरी अधिकारीको बर्खास्तीको माग गरेका थिए । त्यस्तै पौडेलको परिवारले प्रहरीमा रिपोर्ट फाइल गर्न खोज्दा अस्वीकार गरिएपछि हुलाकबाट पठाइएको थियो ।
सन् २०२० मा सरकारका तर्फबाट बेपत्ता बनाइएका कुनै घटनाहरु नरहेको अमेरिकी सरकारको रिपोर्टमा उल्लेख छ । तर रिपोर्टमा प्रहरी यातनाका कैयन घटनाहरु उल्लेख गरिएको छ । कोभिड १९ लकडाउनको उल्लंघन गर्नेहरुलाई प्रहरीले घण्टौं बाटोमा उभ्याउने, भ्यागुतो जस्तै उफ्रन लगाउने, बाटोमा घस्रिन लगाउने र जर्बजस्ती सिटअप गर्न लगाउने लगायतका अमानवीय व्यवहार गरेको रिपोर्टमा उल्लेख छ । मानवअधिकारवादी संस्थाले सन् २०१९ मा १ हजार ५ जना हिराशतमा रहेकाहरुको अन्तरवार्ता लिएकोमा १९ प्रतिशतले यातना पाएको फेला पारेको थियो ।
नेपालका जेल र हिराशतको अवस्था निकै खराब रहेको तथा अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेको अमेरिकी रिपोर्टमा उल्लेख गरिएको छ । त्यस्तै प्रहरीले मनोमानी तरिकाले व्यक्तिलाई पक्राउ गर्ने गरेको समेत रिपोर्टमा जनाइएको छ ।
रिपोर्टको पूर्ण पाठ यहाँ पढ्नुहोला ।





