पेचेक प्रोटेक्सन प्रोग्रामको आवेदन अवधि थप, मे ३१ सम्म आवेदन दिन सकिने
प्रकाशित मिति : चैत्र १७, २०७७ मंगलबार
अमेरिकामा साना विजनेशहरुका लागि पेचेक प्रोटेक्सन प्रोग्रामको आवेदन अवधि थप गरिएको छ । अमेरिकी संसदले आवेदन दिन पाउने अवधि २ महिना थप गरेर मे ३१ सम्म बनाएको छ । अहिलेसम्म आवेदन नदिएकाहरुले अब उक्त अवधिभित्र आवेदन दिनसक्ने भएका छन् ।
तर यो कार्यक्रम अन्तरगतको ७० प्रतिशत रकम वितरण भइसकेकाले आवेदनका लागि ढिलो नगर्न सुझाव दिइएको छ । निश्चित मापदण्ड पूरा गरेकाहरुले दोश्रो चरणको पीपीपी ऋणका लागि समेत आवेदन दिन सक्नेछन् । पहिलोपटक आवेदन दिनेहरुका लागि पनि नियमहरु केही खुकुलो बनाइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आवेदन अवधि थप गर्ने बिलमा आज हस्ताक्षर गरेका हुन् । ९२ जना सिनेटरहरुले अवधि थप गर्ने पक्षमा मतदान गरेका थिए । प्रतिनिधिसभाबाट पनि दुईदलीय सहमतिमा नै यो बिल पारित भएको थियो ।
त्यस्तै पेन्डिंग रहेका आवेदनहरुका सन्दर्भमा एसबीएलाई थप एकमहिनाको अवधि समेत दिइएको छ । गतबर्ष पारित २ दशमलव २ ट्रिलियनको बिलमा पहिलोपटक पीपीपी कार्यक्रम समावेश गरिएको थियो । सांसदहरुले यो कार्यक्रम अन्तरगत कुल ८०६ बिलियन डलर छुट्याएका छन् ।

पीपीपी ऋण निश्चित मापदण्ड पूरा गरेपछि तिर्न नपर्नेगरी क्षमा हुने प्रावधान रहेको छ । तर समयमै ऋण मिनाहाका लागि आवेदन दिन आवश्यक छ ।





