न्युयोर्कमा १४८ माइल प्रतिघण्टा गाडी दौडाउने टिनएजरलाई ४३ वटा टिकट
प्रकाशित मिति : चैत्र १४, २०७७ शनिबार
न्युयोर्कको स्टेट रुट १७ मा १४८ माइल प्रतिघण्टा गाडी कुदाउने एकजना टिनएजरलाई विभिन्न नियमहरु उल्लंघन गरेको अभियोगमा ४३ वटा टिकट दिइएको छ । सुरुमा ११७ माइल प्रतिघण्टाको गतिमा गाडी दौडाएको बेलामा प्रहरीले पछ्याउन सुरु गरेको थियो । तर पछि उनले १४८ माइल प्रतिघण्टाको गतिमा गाडी दौडाएका थिए ।
६५ माइल प्रतिघण्टामात्र गाडी कुदाउन मिल्ने बाटोमा उनले तोकिएको भन्दा बढी गतिमा गाडी चलाएका हुन् । प्रहरीले पछ्याइरहेको बेलामा उनले हाइवे छाडेर भागेका थिए । प्रहरी टोलीले गाडी लुक्नु अगाडि नै नम्बर प्लेटको सुचना प्राप्त गरेका कारण उनलाई पक्राउ गर्न सहज भएको थियो ।

चालक आई ८७ साउथतिर भाग्दै गर्दा पनि प्रहरीले पछ्याइरहेको थियो । नम्बर प्लेटबारे अनुसन्धान गर्दा उक्त नम्बर प्लेट न्युयोर्क सिटीमा दर्ता भएको अर्कै गाडीको भएको पत्ता लागेको थियो । नम्बर प्लेटको वास्तविक मालिकसँग कुरा गर्दा उक्त टीनएजर चालक सम्बन्धित रहेको पत्ता लागेको थियो ।
न्युयोर्क प्रहरीको सहयोगमा चालकलाई न्युयोर्क सिटीको क्वीन्सबाट पक्राउ गरिएको छ । गाडीपनि क्वीन्समा नै भेटिएको थियो । न्युयोर्क प्रहरीले उनलाई पक्राउ गरेर राज्य प्रहरीलाई बुझाएको थियो । उनलाई लापरवाहीपूर्ण तरिकाले गाडी चलाएको, जोखिमपूर्ण लापरवाही गरेको, प्रहरीबाट भागेको लगायतका अभियोगहरु लगाइएको छ ।
उक्त चालकलाई गोसेनमा डेस्क उपस्थीति सहित छाडिएको छ । जहाँ उनलाई ४३ वटा टिकट जारी गरिएको थियो ।





