यस्तो छ चेस लगायतका बैंक एकाउन्टमा राहत चेक आउन मार्च १७ सम्म लाग्नुको कारण
प्रकाशित मिति : चैत्र ३, २०७७ मंगलबार
अमेरिकी सरकारको आईआरएसले मार्च १२ शुक्रबार नै करदाताहरुको खातामा १४ सय डलरको राहत चेक पठाएको बताएको छ । कतिपयले यो रकम प्राप्त गरिसकेका छन् तर कतिपयको खातामा भने रकम आइपुग्न मार्च १७ सम्म कुनुपर्ने भएको छ ।
आईआरएसको अनलाइन प्रणालीमा आफ्नो रकम ट्रयाक गर्दा पनि मार्च १७ मै डिपोजिट हुने मिति उल्लेख गरिएको छ । तर मार्च १७ उल्लेख गरिएपनि कतिपयले बैंकको नीतिका कारण अगाडि नै रकम पाएका छन् ।
आईआरएसले रकम डिपोजिट गर्ने आधिकारिक मिति मार्च १७ तय गरेपनि मार्च १२ मै बैंकहरुलाई नोटिफिकेशन पठाएपछि केही बैंकहरुले उक्त रकम तुरुन्तै खातावाहकको खातामा पठाइदिएका थिए । तर चेस, वेल्स फार्गो लगायतका बैंकहरुले रकम खातामा पठाइदिनका लागि मार्च १७ कै मिति प्रतिक्षा गरिरहेका छन् ।

बैंकको नीतिका कारण यस्तो भएको चेस र वेल्स फार्गोले जनाएका छन् । आफ्नो नियन्त्रणभन्दा बाहिरको कारणले गर्दा खातावालाले रकम प्राप्त गर्न मार्च १७ कुनुपर्ने अवस्था आएको बैंकले बताएका छन् । वेल्स फार्गोले रकम आफूले होल्ड नगरेको र छिट्टै खातामा पठाइने बताएको छ ।
कतिपय बैंकहरुले भने मार्च १२ मा आईआरएसले रकम पठाएको सुचित गर्नासाथ लगत्तै आफ्ना ग्राहकका खातामा रकम पठाएका थिए । करेन्ट नामको न्युयोर्कमा रहेको बैंकिंग स्टार्टअपले आफ्नै ब्यालेन्स सिटको प्रयोग गरिरहेको छ । यसका कैयन ग्राहकले मार्च १२ मै राहत चेकको रकममा पहुच प्राप्त गरेका थिए ।

आईआरएसले मार्च १७ का लागि बैंकसँगको सेटलमेन्ट मिति तय गरेकाले रकम अझै पनि सरकारसँग नै रहेको एसीएच नेटवर्क संचालन गर्ने कम्पनी नाचाले जनाएको छ । मार्च १७ मामात्र आईआरएसले बैंकहरुलाई रकम उपलब्ध गराउने र पूर्वीय समय अनुशार मार्च १७ को विहान साढे ८ बजेभित्र रकम खातामा देखिइसक्ने एसीएच कम्पनीले जनाएको छ ।
केही ग्राहकहरुले रकम आउन ढिलो भएको भन्दै चेस र वेल्स फार्गोका बैंक खाता बन्द गर्ने चेतावनी दिएका छन् । तर ती बैंकहरुले बुधबार अगाडि कुनै पनि हालतमा रकम पठाउन नसकिने बताएका छन् । वेल्स फार्गोले यो समस्याका कारण कुनै ओभरड्राफ्ट शुल्क लाग्ने अवस्था आएमा उक्त शुल्क नलिने बताएको छ ।





