ट्रम्प दम्पत्तिले ह्वाइटहाउसमा छँदै सुटुक्क कोरोनाबिरुद्धको भ्याक्सिन लगाएको खुलासा
प्रकाशित मिति : फाल्गुन १८, २०७७ मंगलबार
डोनाल्ड ट्रम्प र उनकी पत्नी ले ह्वाइट हाउसमा छँदा नै गोप्य तरिकाले कोरोनाबिरुद्धको भ्याक्सिन लगाएको खुलासा भएको छ । उनीहरुले जनवरीमा कोरोनाबिद्धको भ्याक्सिन लगाएको उनका सल्लाहकारले सीएनएनलाई बताएका छन् । उनीहरुले कुन भ्याक्सिन लगाए र कति डोज लगाइसके भन्नेबारे भने स्पष्ट छैन ।
आइतबार फ्लोरिडामा आयोजित एक कार्यक्रममा ट्रम्पले आफ्ना समर्थकहरुलाई कोरोनाबिरुद्धको भ्याक्सिन लगाउन प्रेरित गरेलगत्तै यो खुलासा भएको हो । यसअघि मध्य डिसेम्बरमा ह्वाइटहाउसका अधिकारीहरुले ह्वाइटहाउसको मेडिकल टिमले सल्लाह नदिएसम्म ट्रम्पले भ्याक्सिन नलगाउने बताउँदै आएका थिए ।
राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले डिसेम्बरमा सार्वजनिक रुपमा नै टेलिभिजनबाट प्रशारण हुनेगरी कोरोनाबिरुद्धको भ्याक्सिन लगाएका थिए । तर त्यसको केहीदिनपछि ट्रम्प दम्पत्तिले सुटुक्क भ्याक्सिन लगाएको खुलासा भएको हो । पूर्व राष्ट्रपतिहरु बराक ओबामा, जर्ज बुस र बिल क्लीन्टनले पनि सर्वसाधारणलाई भ्याक्सिनका लागि प्रेरित गर्दै सार्वजनिक रुपमा भ्याक्सिन लगाएका थिए ।

पूर्व राष्ट्रपति जिम्मी कार्टरले पनि कोरोनाबिरुद्धको भ्याक्सिन लगाएका थिए । तर सुरुमा कोरोनालाई नै नक्कली बताउँदै आएका ट्रम्पले महामारीमा मास्कको प्रयोग आवश्यक नभएको बताउँदै आएका थिए ।
ट्रम्प राष्ट्रपति भएका बेला विश्वभरी नै कोरोनाभाइरसको महामारी फैलिएको थियो । अन्य देशहरुले भाइरसको महामारी नियन्त्रणका लागि मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने, सामाजिक दुरी कायम गर्नु पर्नेमा जोड दिएपनि ट्रम्पले भने त्यसको बेवास्ता गरेका थिए । जसका कारण उनी आफै संक्रमित भएका थिए ।






