हाउसबाट पारित राहत चेकसहितको बिल यो साता सिनेटमा, मार्च १४ अगाडि नै राष्ट्रपतिको टेबुलमा
प्रकाशित मिति : फाल्गुन १७, २०७७ सोमबार
१४ सयको राहत चेक र काम गुमाएकालाई बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ४ सय डलर लगायतका राहतहरु समेटिएको बिलबारे यो साता सिनेटमा छलफल हुने भएको छ । सिनेटका डेमोक्रेटिक नेता चक शुमरले यसैसाता बिलबारे सिनेटमा छलफल हुने जानकारी दिएका हुन् । सिनेटमा छिटोमा बुधबारबाट बिलमा छलफल सुरु हुनेछ ।
यो बिल शनिबार विहानै प्रतिनिधिसभाबाट पारित थियो । बिलका पक्षमा २१९ र विपक्षमा २१२ मत खसेको थियो भने २ जना डेमोक्रेटिक सांसदहरु मैनका जारेड गोल्डेन र ओरेगनका कुर्त शरदारले बिलका विपक्षमा मतदान गरेका थिए ।
अब सिनेटमा यो बिल बजेट प्रकृयाबाट पारित हुने अपेक्षा गरिएको छ । बजेट प्रकृयाबाट पारित गर्दा फिलिबस्टर ६० भोटको साटो सामान्य बहुमत भए पुग्नेछ । जसका लागि रिपब्लिकनको समर्थन आवश्यक छैन ।

न्यूनतम ज्याला १५ डलर बनाउने लगायतका प्रावधानहरु रिपब्लिकनहरुले अस्वीकार गरिसकेका छन् । त्यसैले यो प्रावधान बजेट प्रकृयाबाट पारित गर्न लगभग असंभव देखिएको छ ।
मार्च १४ अगाडि नै बिल राष्ट्रपति जो बाइडेनको टेबुलमा पुग्ने र हस्ताक्षर हुने अपेक्षा गरिएको छ । मार्च १४ पछि कैयन प्रावधानहरु अन्त्य हुने भएकाले यो बिल मार्च १४ अगाडि नै कार्यान्वयनमा ल्याउन खोजिएको हो ।
यो बिलले राष्ट्रपति जो बाइडेनको महामारी उद्दार योजनालाई नजिकबाट समेटेको छ भने विद्यालयहरु, भ्याक्सिन वितरण र राज्य तथा स्थानीय सरकारलाई धेरै रकम उपलब्ध गराउनेछ ।

बिलमा हरेक व्यक्तिलाई १४ सय डलर प्रदान गरिने उल्लेख छ । ४ जनाको परिवार भएको खण्डमा उनीहरुले ५६०० सय प्राप्त गर्नेछन् । बार्षिक आम्दानी ७५ हजार डलर भन्दा कम रहेका व्यक्ति र एकलाख ५० हजार डलरभन्दा कम रहेका दम्पत्तिले पूर्णरुपमा राहत चेक पाउनेछन् । सन् २०१९ को वा २०२० को आम्दानीका आधारमा हिसाब गरिनेछ ।
अहिले बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान भइरहेकोमा यो बिलले अगस्त २९ सम्म अतिरिक्त साप्ताहिक ४ सय डलर प्रदान गर्नेछ । महामारी सहायता कार्यक्रम पीयुए ५० हप्ताबाट ७४ हप्तासम्म लम्बिनेछ भने महामारी आपतकालिन बेरोजगारी क्षतिपूर्ति २४ हप्ताबाट ४८ हप्ता लम्बिनेछ ।
फुड स्ट्याम्पमा सेप्टेम्बरसम्म १५ प्रतिशत बृद्धि हुनेछ । महिला र बालबालिकाहरुका लागि पोषण कार्यक्रमका लागि ८ सय ८० मिलियन डलर खर्च हुनेछ । चाइल्ड ट्याक्स क्रेडिट पनि ६ बर्षभन्दा कम उमेरकाहरुका लागि ३६ सय डलर र ६ देखि १८ बर्षसम्मकाहरुका लागि ३ हजार डलर हुनेगरी बृद्धि हुनेछ ।






