ट्रम्पलाई सजाय दिने न्यायप्रणाली छ -रिपब्लिकन नेता, १४ औं संसोधन लगाउनुपर्छ- डेमोक्र्याट्स
प्रकाशित मिति : फाल्गुन ३, २०७७ सोमबार
Image by M. H. from Pixabay
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाभियोगबाट उन्मुक्ति दिलाउनका लागि सिनेटमा मतदान गरेका सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेलले राष्ट्रपतिमा रहँदा गरेका कामका लागि ट्रम्प अझै पनि जिम्मेबार हुने बताएका छन् । ट्रम्पले सबै कुराबाट उन्मुक्ति नपाएको र मुलुकमा अपराध गर्नेलाई दण्डित गर्ने न्याय प्रणाली र नागरिक अभियोग रहेको समेत म्याक्कोनेलले बताएका छन् ।
शनिबार सिनेटबाट महाभियोगका सन्दर्भमा उन्मुक्ति पाए लगत्तै ट्रम्पले अमेरिकालाई पुन महान बनाउने देशभक्तिपूर्ण, ऐतिहासिक र सुन्दर अभियान सुरु भएको भन्दै वक्तब्य जारी गरेका थिए । ट्रम्पलाई महाभियोग लगाउन सिनेटमा ६७ भोटको आवश्यक रहेकोमा ५७ भोटमात्र खसेको थियो । जसमा ७ जना रिपब्लिकन सिनेटरहरुले समेत साथ दिएका थिए ।
महाभियोगबाट उन्मुक्ति पाउँदैमा ट्रम्पले सबै कुराबाट अहिले नै उन्मुक्ति पाउने भने देखिएको छैन । जनवरी ६ मा राष्ट्रपति निर्वाचनको परिणाम प्रमाणिकरण गर्नबाट रोक्न क्यापिटल हिलमा दंगाको लागि उक्साएको लगायतका विषयमा ट्रम्पले आगामी साता र महिनाहरुमा कानूनी लडाईको सामना गर्नुपर्ने देखिएको छ ।

रिपब्लिकन नेता मिच म्याक्कोनेलले उक्त दंगाका लागि ट्रम्प व्यवहारिक र नैतिक रुपमा जिम्मेबार भएको कुरामा कुनै प्रश्न नरहेको बताएका छन् । ट्रम्पलाई उन्मुक्ति दिलाउनका लागि भोट गरेपनि आफ्नो भोटले ट्रम्पको गतिविधिको प्रतिनिधित्व नगर्ने बरु राष्ट्रपतिबाट हटिसकेको एउटा नागरिकबिरुद्ध महाभियोग लगाउन नहुने आफ्नो विचारको प्रतिनिधित्व गर्ने म्याक्कोनेलको भनाई छ ।
जर्जियाका सेक्रेटरीलाई ट्रम्पले गरेको फोनकलका सन्दर्भमा पनि खुला छानविन भइरहेको छ । ट्रम्पले जर्जियाका सेक्रेटरीलाई फोन गरेर चुनावी नतिजा उल्टाउनका लागि आफ्ना पक्षका प्रयाप्त भोटहरु खोज्न दवाव दिएका थिए । त्यस्तै केही डेमोक्र्याट्सहरु ट्रम्पलाई अर्कोपटक ह्वाइटहाउस जानबाट रोक्न फरक खालका बाटाहरु समेत खोजिरहेका छन् ।
ट्रम्पलाई १४ औं संसोधन लगाएर पनि फेरी राष्ट्रपतिमा चुनाव उठ्नबाट रोक लगाउने बाटो खोजिदैछ । संघीयतालाई कमजोर बनाउने पूर्व पदासिनहरुलाई फेरी पदमा पुग्नबाट रोक लगाउनका लागि उक्त प्रावधान ल्याइएको थियो । ट्रम्पलाई पनि यही आधारमा फेरी पदमा पुग्नबाट रोक लगाउनेबारे डेमोक्र्याट्सहरुले विचार गरिरहेका छन् ।
यो प्रावधानले सपथ लिएर संसद सदस्यका रुपमा वा अन्य सरकारी पदमा पुगेको व्यक्तिले विद्रोह वा ध्वंसका लागि उक्साएको खण्डमा त्यसलाई उक्त पदमा अर्को पटक जानका लागि रोक लगाउँछ । १४ औं संसोधनले यो प्रावधान कार्यान्वयनका लागि उचित नियम कानून बनाउनका लागि संसदलाई अधिकार दिएको छ ।





