आजबाट सरकारी कर्मचारी, सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधिलाई कोरोना खोप दिइने
प्रकाशित मिति : फाल्गुन १, २०७७ शनिबार
आजबाट सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई कोरोना खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २ गतेबाट ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई कोरोना खोप दिने बताएको हो ।
यस्तै, पहिला छुट भएका स्वास्थ्यकर्मीहरू, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू, एम्बुलेन्स तथा शव बाहन चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलगायतलाई पनि खोप दिइने छ । खोप लगाउन जाँदा आफ्नो कार्यालयको परिचय पत्र साथमै लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ ।
सरकारले यही माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । पहिलो चरणमा भारत सरकारले उपलब्ध गराएको १० लाख डोजको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ ।





