रिपब्लिकन सहमतिविना १.९ ट्रिलियनको प्याकेज पारितका लागि ल्याइएको प्रस्ताव दुबै सदनबाट पारित
प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार
बाइडेन समर्थित १ दशमलव ९ ट्रिलियन डलरको राहत प्याकेजलाई रिपब्लिकनको समर्थनविना नै अगाडि बढाउने बजेट मेलमिलाप प्रकृयामा लैजान संसदको दुबै सदनबाट बजेट संकल्प प्रस्ताव पारित भएको छ । सिनेटमा राहत प्याकेजलाई बजेट प्रकृयामा लैजाने संकल्प प्रस्तावका पक्षमा ५० मत र विपक्षमा ४९ मत परेको छ ।
त्यस्तै प्रतिनिधिसभामा संकल्प प्रस्तावका पक्षमा २१६ र विपक्षमा २१० मत परेको छ । अब डेमोक्र्याट्सहरुलाई रिपब्लिकनको समर्थन विना नै बजेट प्रकृयाबाट सामान्य बहुमतले राहत प्याकेजका महत्वपूर्ण भागहरु पारित गराउन संसदमा राहत बिल ल्याउनका लागि बाटो खुलेको छ । सिनेटमा डेमोक्रेटिक नेता चक शुमर र हाउस स्पीकर न्यान्सी पेलोसीले संयुक्त बजेट संकल्प प्रस्ताव ल्याएका थिए ।
राहत रकम कम बनाउनुपर्ने बताउँदै आएका रिपब्लिकनको सहमति विना नै राहत प्याकेज पारित गर्नका लागि डेमोक्रेटिक सांसदहरुले संसदमा बजेट प्रस्ताव ल्याएका थिए ।
बजेट प्रकृयाबाट अगाडि बढ्नका लागि सिनेटमा सामान्य बहुमत भए पुग्ने भएकाले र त्यसका लागि रिपब्लिकनको समर्थन आवश्यक नपर्ने भएकाले यो प्रकृयाबाट अगाडि बढ्न कदम चालिएको हो । न्यूनतम पारिश्रमिक घण्टाको १५ डलर बनाउने नीतिगत विषय भने बजेट प्रकृयाबाट पारित गर्न नसकिने भएकाले यो बाहेक अन्य विषय समेटेको ड्राफ्ट बनाउन प्रस्तावमार्फत कमिटिहरुलाई निर्देशन दिइएको छ ।

डेमोक्रेटिक सांसदहरु र राष्ट्रपति जो बाइडेनले १४ सय डलरको राहत चेकसहितको १ दशमलव ९ ट्रिलियनको राहत प्याकेज प्रस्ताव ल्याइरहँदा रिपब्लिकनहरुले भने १ हजारको मात्र राहत चेक उपलब्ध गराउने र ४० हजारभन्दा कम आम्दानी हुनेहरुलाईमात्र दिनुपर्ने प्रस्ताव ल्याएका छन् ।
रिपब्लिकन सांसदहरुले झण्डै ६१८ बिलियन डलरको राहत प्याकेज प्रस्ताव सार्वजनिक गरेका थिए । यो प्रस्तावमा काम गुमाएकाहरुलाई बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय डलर जुनसम्म प्रदान गर्ने, २० बिलियन डलर चाइल्ड केयर र स्कुलमा, ५० बिलियन साना व्यवसायलाई र १६० बिलियन भ्याक्सिन लगायतलाई उपलब्ध गराउने उल्लेख छ । डेमोक्र्याट्सको योजनामा साप्ताहिक ४ सय सेप्टेम्बरसम्म दिने उल्लेख छ ।
रिपब्लिकनको प्रस्तावमा ४० हजारभन्दा कम आम्दानी हुनेहरुलाई १ हजार डलरको चेक प्रदान गरिने र ५० हजारसम्म आम्दानी हुनेहरुले आंशिक रुपमा उक्त रकम प्राप्त गर्ने उल्लेख छ ।
डिपेन्डेन्ट बालबालिकाहरुका लागि ५ सय डलर प्रदान गर्ने प्याकेज प्रस्तावमा उल्लेख छ । डेमोक्र्याट्सको योजना अनुशार २ बच्चा भएका विवाहित दम्पत्तिले ५६ सय डलरसम्म पाउनेछन् । तर रिपब्लिकनको योजना अनुशार उनीहरुले ३ हजार डलरसम्म पाउनेछन् ।
डेमोक्र्याट्सको प्रस्तावमा चाइल्ड ट्याक्स क्रेडिट बढाएर ६ बर्षमुनीका बालबालिकाहरुका लागि ३६ सय डलर र अन्य बालबालिकाहरुका लागि ३ हजार डलर बनाउने उल्लेख छ ।






