अमेरिकामा सबै यातायातमा मास्क अनिवार्य, नियम नमान्नेलाई सजाय
प्रकाशित मिति : माघ १७, २०७७ शनिबार
फेब्रुअरी १ बाट लागु हुनेगरी अमेरिकन सीडीसीले ट्रेन, विमान लगायतका सबै यातायातका साधनहरुमा मास्क अनिवार्य गरेको छ । शुक्रबार राती जारी गरिएको उक्त आदेश अनुशार सबै यात्रुहरु र यातायातका कर्मचारीहरुले फेब्रुअरी १ मा न्युयोर्क समय अनुशार राती ११ बजेर ५९ मिनेटदेखि मास्क अनिवार्य लगाउनुपर्नेछ ।
विमान, पानीजहाज, फेरी, ट्रेन, सबवे, बस, ट्याक्सी, उबर लगायत सबै प्रकारका यातायातमा मास्क अनिवार्य हुनेछ । बस वा ट्रेनका टर्मिनल, विमानस्थल लगायतका स्टेशनहरुमा पनि मास्क अनिवार्य लगाउनुपर्नेछ । सीडीसीका निर्देशकले हस्ताक्षर गरेको ११ पृष्ठ लामो निर्देशिकामा महामारीमा यात्रा सुरक्षित बनाउन यो नियम ल्याइएको उल्लेख छ ।

बेलायत र दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ प्रकार अमेरिकामा पनि बढ्दै जाँदा यो नियम ल्याइएको हो । पूर्व राष्ट्रपति ट्रम्पको कार्यकालमा सार्वजनिक यातायातमा अनिवार्य मास्कको नियम ल्याउनमा सीडीसीलाई रोकिएको थियो । तर राष्ट्रपति जो बाइडेनले पहिलो नै कार्यकारी आदेश जारी गर्दै अन्तरराज्य यात्रामा पनि मास्क अनिवार्य गरेका थिए ।
अहिलदेखि अप्रिलसम्म मास्क अनिवार्य लगाउँदा अमेरिकामा कम्तीमा ५० हजारको ज्यान जोगाउन सकिने बाइडेनले बताएका छन् । सीडीसीले पनि बाइडेनको कार्यकारी आदेशलाई उच्चबिन्दुमा राखेर जीवनरक्षाका लागि यो निर्देशिका जारी गरिएको जनाएको छ ।

२ बर्षभन्दा कम उमेरका बच्चाबच्चीहरु र राम्ररी मास्क लगाउन नसक्ने अशक्तहरुलाई भने मास्कमा छुट दिइएको छ । खाँदा, पिउँदा र औषधी लिंदा छोटो समयका लागि बाहेक अन्य सबै समयमा यात्रुहरु र काम गर्ने कर्मचारीहरु सबैले अनिवार्य मास्क लगाउनुपर्नेछ । मास्कको नियम पालना नगर्ने यात्रुहरुलाई बाहिर निकाल्ने अधिकार एयरलाइन्स र यातायात संचालकहरुलाई दिइएको छ । नियमको उल्लंघन गर्नेहरुलाई आपराधिक दण्ड जरिवाना हुनसक्ने जनाइएको छ ।
यसैबीच सीडीसीले मार्च ३१ सम्म लागु हुने गरी घरभाडा तिर्न नसकेकाहरुलाई घरनिकाला हुनबाट रोक्ने आदेश समेत जारी गरेको छ । घरभाडा तिर्न नसकेकाहरुलाई घरनिकाला हुनबाट रोक्ने आदेश आइतबार समाप्त हुन लागेकोमा थप गरिएको हो । बाइडेनले यसमा थपका लागि कार्यकारी आदेश जारी गरेका थिए ।






