२८ बर्ष अगाडिको सहमतिका कारण ट्रम्पलाई फ्लोरिडामा रहेको ‘मार ए लागो’मा बस्न समस्या
प्रकाशित मिति : माघ १५, २०७७ बिहीबार
२८ बर्ष अगाडिको एउटा सहमतिका कारण पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फ्लोरिडामा रहेको उनको रिसोर्ट मार ए लागोमा बस्नमा समस्या हुने देखिएको छ । उनले सन् १९९३ मा पाल्म बीचको टाउनसँग एउटा यस्तो सहमतिमा हस्ताक्षर गरेका थिए, जुन सहमति अनुशार ट्रम्पलाई उक्त रिसोर्टमा एकपटकमा लगातार ७ दिनभन्दा धेरै बस्न अनुमति छैन ।
स्थानीय टाउन सरकारले उक्त सहमतिमाथि नजर लगाइरहेको जनाइएको छ । उक्त सहमति अनुशार ट्रम्प मार ए लागो रिसोर्टमा एकपटकमा लगातार ७ दिन र बर्षमा अधिकतम २१ दिनसम्ममात्र बस्न पाउँछन् । सन् १९९३ मा आर्थिक चापमा परेको बेला ट्रम्पले आम्दानीको उद्देश्यले आवासीय हवेलीलाई क्लबमा रुपान्तरण गरेका थिए । क्लबमा रुपान्तरण गर्दा उनले आवासीय सम्झौतामा हस्ताक्षर गरेका थिए ।
डिसेम्बर २० मा ह्वाइट हाउस छाडेदेखि नै ट्रम्प त्यहाँ बसिरहेका छन् । जस अनुशार लगातार ७ दिनमात्र बस्न पाउने सम्झौताको उल्लंघन भइसकेको छ । विगतमा राष्ट्रपति भएको बखत ट्रम्पले आवासीय सम्झौताको उल्लंघन गरेपनि स्थानीय सरकारले उक्त सम्झौता कार्यान्वयनमा ध्यान दिएको थिएन ।
तर अहिले स्थानीयबासिन्दाले स्थानीय सरकारलाई पत्र लेखेर ७ दिनभन्दा बढी लगातार बस्न नपाउने सम्झौताको कार्यान्वयनको माग गरेको टाउन मेनेजर किर्क ब्लोइनले बताएका छन् । आगामी केही दिनमा हुने काउन्सिलको बैठकमा यो विषयमा छलफल हुने जनाइएको छ ।

पाल्मबीचसँगको सम्झौतामा मार ए लागोलाई बढीमा ५ सयजनासम्म सदस्य हुन पाउने गरी निजी क्लबमा रुपान्तरण गरिएको थियो । ट्रम्प लगायत सबै सदस्यहरुले लगातार ७ दिनभन्दा धेरै र बर्षमा २१ दिनभन्दा धेरै बस्न नपाउने नियमको पालना गर्नुपर्छ ।
ट्रम्पले सन् १९८५ मा झण्डै १० मिलियनमा मार ए लागो हवेली किनेका थिए । उनले त्यसमा मर्मत सम्भारका लागि पनि ठूलो रकम खर्चिएका थिए । तर सन् १९९० पछि उनलाई यो धान्नमा मुस्किल भएको थियो ।
सन् २०१९ सम्म ट्रम्पले आफ्नो मुख्य आवास र स्थायी ठेगानाका रुपमा न्युयोर्कमा रहेको ट्रम्प टावरलाई राखेका थिए । तर सन् २०१९ मा उनले आफ्नो स्थायी ठेगाना न्युयोर्कबाट फ्लोरिडा सारेका थिए ।
मार ए लागोको अहिलेको मूल्य १६० मिलियन डलर रहेको फोब्र्सले मूल्यांकन गरेको छ ।
ट्रम्पको मार ए लागो रिसोर्टमा प्रवेशका लागि सदस्यता शुल्क २ लाख डलर रहेको छ भने बार्षिक रुपमा १५ हजार डलर तिर्नुपर्छ । यदि रिसोर्टमा रात विताउन चाहेको खण्डमा एकरातको २ हजार डलर थप तिर्नुपर्छ ।
हाल यो रिसोर्टका सदस्यहरु ५ सयको हाराहारीमा रहेका छन् । सदस्यता लिएको व्यक्तिले साथमा दुईजनासम्म पाहुनाहरु रिसोर्टमा लैजानसक्ने व्यवस्था रहेको छ ।
रिसोर्टमा डोनाल्ड ट्रम्पले बेलाबेलामा पार्टी समेत गर्छन् । गतबर्ष नयाँ बर्षको यस्तै पार्टीमा रिसोर्टका सदस्यता लिएकाहरुका लागि ६ सय र सदस्यता लिएकाहरुका पाहुनाहरुलाई ७५० डलर शुल्क तोकिएको थियो ।
सदस्यता नलिएकाहरुले पनि विवाह, बर्थडे पार्टीहरु गर्न सक्छन् । तर त्यसको लागि महँगो शुल्क तिर्नुपर्छ । पार्टीको साइज र हल अनुशार यसको शुल्क निर्धारण हुन्छ ।
मार ए लागो रिसोर्टभित्र निजी समुन्दी तट, विशिष्ट श्रेणीका स्पा, टेनिस कोर्ट, गल्फ कोर्स लगायत रहेका छन् ।






