२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
कोभिड १९ अपडेट

अमेरिकामा झण्डै २८ लाखलाई कोरोनाबिरुद्धको भ्याक्सिनको पहिलो डोज

अमेरिकामा २८ लाख भन्दा धेरैले कोरोनाबिरुद्धको भ्याक्सिनको पहिलो डोज लगाइसकेको अमेरिकन सीडीसीले जनाएको छ । भ्याक्सिन लगाउनेहरुको अन्तिम संख्या गणना भइरहेकाले यो संख्या अझै बढी हुनसक्ने अनुमान गरिएको छ । अहिलेम्म १ करोड २४ लाख ९ हजार ५० डोज भ्याक्सिन डेलिभर भइसकेको सीडीसीले जनाएको छ ।

दीर्घकालिन हेरचाह केन्द्रमा २१ लाख डोज भ्याक्सिन पुगिसकेको छ भने १ लाख ६७ हजारलाई पहिलो डोज दिइसकिएको छ । अमेरिकामा ५० वटै राज्य र भूभागहरुमा भ्याक्सिन वितरण भइरहेको छ ।

न्युयोर्कमा झण्डै ७ लाख भ्याक्सिनका डोजहरु डेलिभर गरिएको छ भने झण्डै डेढलाखलाई पहिलो डोज दिइसकिएको छ । टेक्सासमा झण्डै साढे ९ लाख डोज डेलिभर भइसकेको छ भने २ लाख बढीलाई पहिलो डोज दिइसकिएको छ । क्यालिफोर्नियामा झण्डै १५ लाख डोज डेलिभर गरिएको भने झण्डै ३ लाखलाई पहिलो डोज दिइसकिएको छ ।

अमेरिकामा डिसेम्बर १४ बाट फाइजरको र डिसेम्बर २१ बाट मोडेर्नाको भ्याक्सिन वितरण सुरु गरिएको हो । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनदेखि पदावधि सकिदै गरेका उपराष्ट्रपति माइक पेन्स सम्मले भ्याक्सिन लगाइसकेका छन् ।

पहिलो चरणको पहिलो उपचरणमा अमेरिकामा फ्रन्टलाइनमा खट्ने स्वास्थ्यकर्मी र दीर्घकालिन हेरचाह केन्द्रमा रहेकाहरुलाई भ्याक्सिन दिइएको छ । यो उपचरणमा भ्याक्सिन पाउनेमा अमेरिकामा रहेका नेपाली स्वास्थ्यकर्मीहरुको संख्या पनि उल्लेख्य रहेको छ । उनीहरुलाई भ्याक्सिनको पहिलो डोज दिइएको हो ।

दोश्रो उपचरणमा भ्याक्सिन पाउनेहरुमा ७५ बर्ष र त्योभन्दा माथिका व्यक्ति तथा अग्रपंक्तिमा खटिने अत्यावश्यक कामदार रहेका छन् । त्यस्तै पहिलो चरणको तेश्रो उपचारणमा ६५ देखि ७५ बर्षसम्मकालाई भ्याक्सिन दिइने भएको छ । त्यस्तै १६ देखि ६४ बर्षसम्मका स्वास्थ्य समस्या भएकाहरु र अन्य अत्यावश्यक कामदारहरुलाई यो उपचरणमा राखिएको छ ।

अबको चरणमा भ्याक्सिन पाउनेहरु प्रहरी, अग्नीनियन्त्रक, शिक्षक, ग्रोसरी स्टोरमा काम गर्नेहरु, खाद्य र कृषि कामदारहरु, उत्पादन कामदारहरु, जेलमा काम गर्नेहरु, हुलाकमा काम गर्नेहरु र सार्वजनिक यातायातमा काम गर्नेहरु हुनेछन् । यो संख्या अमेरिकामा झण्डै ३० मिलियन रहेको छ ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

त्यसपछिको चरणमा भ्याक्सिन पाउनेहरुमा जनस्वास्थ्य कामदारहरु, यातायात र लजिस्टिकमा काम गर्नेहरु, खाद्य सेवामा काम गर्नेहरु, निर्माणमा काम गर्नेहरु, बित्त क्षेत्रमा काम गर्नेहरु, आईटी र संचारमा काम गर्नेहरु, उर्जामा काम गर्नेहरु, मिडियामा काम गर्नेहरु, कानुनी क्षेत्रमा काम गर्नेहरु, सार्वजनिक सुरक्षा इन्जिनियरहरु, पानीका क्षेत्रमा काम गर्नेहरु हुनेछन् ।

यो चरणमा भ्याक्सिन पाउने स्वास्थ्य समस्या भएकाहरुमा मोटोपन भएकाहरु, दोश्रो प्रकारको मधुमेह भएकाहरु, दीर्घकालिन पल्मोनरी रोग भएकाहरु, मुटु र मृगौलाका रोगीहरु, अंग प्रत्यारोपण गरेकाहरु, गर्भवती र धुमपानका अम्मलीहरु पर्नेछन् । यो संख्या अमेरिकामा झण्डै ५७ मिलियन रहेको छ ।

पहिलो चरणको दोश्रो उपचरण फरबरीभन्दा अगाडि भने सुरु हुने अपेक्षा गरिएको छैन ।

US President-elect Joe Biden receives a Covid-19 vaccination from Tabe Masa, Nurse Practitioner and Head of Employee Health Services, at the Christiana Care campus in Newark, Delaware on December 21, 2020. (Photo by Alex Edelman / AFP) (Photo by ALEX EDELMAN/AFP via Getty Images)

अहिलेसम्म भ्याक्सिनका १२ मिलियन डोज उपलब्ध गराइएको छ भने मार्चसम्म ३ सय मिलियन डोज उपलब्ध गराइने भएको छ । अमेरिकाले फाइजरका थप १ सय मिलियन डोज किन्ने सहमति गरेको छ । जुनसम्म ७० मिलियन र जुलाईमा बाँकी भ्याक्सिनका डोजहरु फाइजरले प्रदान गर्नेछ ।

अमेरिकी सरकारले थप डोजका लागि १ दशमलव ९५ बिलियन डलर तिर्ने सहमति भएको फाइजरले जनाएको छ । फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर भ्याक्सिन उत्पादन गरिरहेको छ । नयाँ सहमतिले जुनसम्म भ्याक्सिन लिन चाहने हरेक अमेरिकनका लागि प्रयाप्त भ्याक्सिन प्राप्त गर्न बाटो खुलेको छ ।

अब अमेरिकाले फाइजर र मोडेर्नाका ४ सय मिलियन भ्याक्सिन प्राप्त गर्ने सहमति भइसकेको छ । डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसेजका अनुशार अमेरिकी सरकारसँग थप ४ सय मिलियन भ्याक्सिनका डोजहरु किन्नसक्ने विकल्प समेत रहेको छ ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →