२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
कोभिड १९ अपडेट

आज मोडेर्ना भ्याक्सिन स्वीकृतिका लागि सिफारिस गर्न एफडीए सल्लाहकार प्यानलको बैठक

कोरोनाबिरुद्धको मोडेर्ना भ्याक्सिन स्वीकृतिका लागि सिफारिस गर्ने वा नगर्ने भन्ने निर्णय गर्न आज अमेरिकाको खाद्य तथा औषधी प्रशासनको सल्लाहकार प्यानलको बैठक बसको छ । प्यालनको बैठकको सिफारिसका आधारमा एफडीएले खोपलाई स्वीकृति दिने वा नदिने निर्णय गर्नेछ ।

गत बिहिबार फाइजरको भ्याक्सिनबारे सिफारिस गर्न एफडीएको सल्लाहकार प्यानलको बैठक बसेको थियो । बैठकको सिफारिस लगत्तै शुक्रबार एफडीएले फाइजरको भ्याक्सिनलाई स्वीकृत गरेको थियो । आज प्यानलले स्वीकृत गरेमा मोडेर्नाको भ्याक्सिनलाई एफडीएले शुक्रबार वा शनिबार सम्म प्रयोगका लागि स्वीकृत गर्ने अपेक्षा गरिएको छ ।

अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले कोरोनाबिरुद्धको मोडेर्नाले उत्पादन गरेको भ्याक्सिन पनि प्रभावकारी र सुरक्षित रहेको निष्कर्ष मंगलबार निकालिसकेको छ । एफडीएको विश्लेषणमा मोडेर्नाको भ्याक्सिनबारे कुनै विशेष सुरक्षा समस्या नरहेको निष्कर्ष निकालिएको हो । नकारात्मक गम्भिर असर निकै दुर्लभ रहेको तर सामान्य साइड इफेक्टहरु भने हुनसक्ने जनाइएको छ । यो भ्याक्सिनको परीक्षणका क्रममा लगाएकाहरुले भ्याक्सिन लगाएको ठाउँमा दुखेको, टाउको दुखेको लगायतका साइड इफेक्ट देखिएको बताएका छन् ।

यो भ्याक्सिन पनि फाइजरको भ्याक्सिन जस्तै ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको छ । मोडेर्ना भ्याक्सिनका पनि दुई डोज दिनुपर्नेछ । २८ दिनको अन्तरमा दुई डोज दिनुपर्ने जनाइएको छ । तर यो भ्याक्सिन बुढाबुढीमा भने कम प्रभावकारी देखिएको एफडीएले निष्कर्ष निकालेको छ । १८ बर्षभन्दा माथिका र ६५ बर्षभन्दा मुनीकाहरुमा भ्याक्सिनको प्रभावकारिता ९६ प्रतिशत देखिएको छ । तर ६५ बर्ष माथिकाहरुमा ८६ प्रतिशतमात्र प्रभावकारी देखिएको छ ।

फाइजरको भ्याक्सिन १६ बर्षभन्दा माथिकालाई प्रयोगका लागि स्वीकृत गरिएकाले सोमबारदेखि वितरण सुरु भइसकेको छ । तर फाइजरको भ्याक्सिन माइनस ७६ डिग्री फरेनहाइट र त्योभन्दा चिसोमा राख्नुपर्छ । मोडेर्नाको भ्याक्सिन एकमहिनाभन्दा लामो दीर्घकालिन भण्डारणका लागि माइनस ४ डिग्री फरेनहाइट भन्दा चिसोमा राखे पुग्छ । त्यसैले भण्डारण र वितरणका लागि मोडेर्ना भ्याक्सिन फाइजरको तुलनामा सहज हुनेछ ।

मोडेर्नाको भ्याक्सिन तत्काल प्रयोग गर्नेभएमा ३६ देखि ४६ डिग्री फरेनहाइटको बीचमा राखे पुग्छ । जुन घरको सामान्य फ्रिजको तापक्रम हो । यो तापक्रममा एकमहिनासम्म राख्न सकिने जनाइएको छ ।

फाइजरको कोभिड १९ भ्याक्सिन अमेरिकामा प्रयोगको स्वीकृति पाउने पहिलो भ्याक्सिन हो । अमेरिकाले आगामी मार्चभित्र १ सय मिलियनलाई भ्याक्सिन लगाउने योजना बनाएको छ ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

फाइजरको भ्याक्सिन एउटामात्र डोजपछि भ्याक्सिनले कोरोना संक्रमण हुनबाट ८२ प्रतिशतसम्म रोक्न प्रभावकारी हुने जनाइएको छ । तर दुबै डोज दिएपछि भने ९५ प्रतिशतसम्म प्रभावकारी हुनेछ ।

फाइजर र बायोएनटेकको खोपले आनुवंशिक कोडहरूलाई प्रयोग गरेर रोग प्रतिरोधी प्रतिक्रिया निम्त्याउँछन् र यसलाई एमआरएनए खोप भनिन्छ। यसले मानव कोषमा फेरबदल गर्दैन बरू शरिरलाई कोभिड विरुद्ध प्रतिरोधी हुन तयार रहने हिसाबको निर्देशन दिन्छ।

यसैबीच अमेरिकी सरकारले कोरोनाबिरुद्धको मोडेर्ना भ्याक्सिनका थप एकसय मिलियन डोज किन्ने भएको छ । मोडेर्नाको भ्याक्सिन अमेरिकाले आगामी साता प्रयोगका लागि स्वीकृत गर्ने अपेक्षा गरिएको छ ।

प्रयोगको स्वीकृति पाएमा मोडेर्नाले यसै महिना २० मिलियन डोज प्रदान गर्नेछ भने ८० मिलियन डोज जनवरीमा प्रदान गर्नेछ । अब अमेरिकासँग मोडेर्ना भ्याक्सिनका कुल २ सय मिलियन डोज हुनेछन् । अमेरिकासँग मोडेर्नाबाट अरु ३ सय मिलियन डोज भ्याक्सिन किन्ने विकल्प रहेको छ ।

अहिलेसम्म अमेरिकाले मोडेर्ना र फाइजरबाट ३ सय मिलियन डोज भ्याक्सिन सुरक्षित गरिसकेको छ । जुन आधाभन्दा कम जनसंख्याका लागिमात्र प्रयाप्त हुनेछ । दुई डोज भ्याक्सिन दिनुपर्ने भएकाले उक्त भ्याक्सिन १५० मिलियनलाई प्रयाप्त हुनेछ ।

 

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →