अमेरिकामा भ्याक्सिन पहिलो चरणमा स्वाथ्यकर्मी र आश्रममा हुनेहरुलाई दिनका लागि मतदान


प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार

अमेरिकन सीडीसीका भ्याक्सिन सल्लाहकारहरुले कोरोनाबिरुद्धको भ्याक्सिन पहिलो चरणमा कसलाई दिने भन्ने सन्दर्भमा मतदान गरेका छन् । १४ जनामध्ये १३ जनाले पहिलो चरणमा भ्याक्सिन स्वास्थ्यकर्मीहरु र आश्रममा दीर्घकालिन हेरचाहमा रहेकाहरुलाई प्रदान गर्नका लागि मतदान गरेका छन् ।

अमेरिकाको खाद्य तथा औषधी प्रशासनले भ्याक्सिन प्रयोगको अनुमति प्रदान गर्नासाथ उनीहरुलाई भ्याक्सिन दिइने भएको छ । सल्लाहकार समितिले यी दुबै समुहलाई पहिलो चरणमा भ्याक्सिन दिनेमा सहमति जनाएको छ । आत्मनिर्भर भएर बाँच्न नसक्ने हेरचाह केन्द्रमा रहेकाहरुलाई प्राथमिकतामा राखिएको सीडीसीले जनाएको छ ।

६ प्रतिशत कोरोनाका केसहरु दीर्घकालिन हेरचाह केन्द्रमा रहेकाहरुमा रहेको र अमेरिकाभर ४० प्रतिशत मृत्यु उनीहरुको भएको सीडीसीले जनाएको छ । त्यस्तै साढे २ लाख भन्दा धेरै स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण भएको सीडीसीले जनाएको छ । जसमध्ये ८ सय ५८ जनाको मृत्यु भएको छ ।

डाक्टर हेलेन ट्यालबोटले भने पहिलो चरणमा दीर्घकालिन हेरचाह केन्द्रमा रहेकाहरुलाई दिन नहुने भन्दै मतदान गरेकी छिन् । त्यस्ता दीर्घकालिन हेरचाह केन्द्रमा रहेकाहरुमाथि भ्याक्सिनको परीक्षण नभएकाले उनीहरुलाई पहिलो चरणमा दिन नहुने उनको तर्क छ । तर उनले भ्याक्सिनले काम गर्ने र सुरक्षित हुने आशा व्यक्त गरेकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकन बायोटेक कम्पनी मोडेर्नाले सोमबार कोरोनाबिरुद्धको भ्याक्सिनको आम प्रयोगको अनुमतिका लागि अमेरिकाको खाद्य तथा औषधी प्रशासन समक्ष आवेदन दिएको थियो । कम्पनीले सोमबार अमेरिकाको साथै युरोपमा पनि प्रयोगको अनुमतिका लागि आवेदन दिएको छ ।

योसँगै मोडेर्ना प्रयोगको अनुमतिका लागि आवेदन दिने दोश्रो भ्याक्सिन कम्पनी भएको छ । यसअगाडि जर्मन कम्पनी बायोएनटेकसँग मिलेर भ्याक्सिन बनाएको अमेरिकन कम्पनी फाइजरले खाद्य तथा औषधी प्रशासन समक्ष प्रयोगका लागि आवेदन दिइसकेको छ ।

मोडेर्नाले बनाएको कोरोनाबिरुद्धको भ्याक्सिन कोरोना संक्रमणबाट सिकिस्त बिरामी हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी देखिएको छ । यो भ्याक्सिन कोरोना संक्रमणबाट जोगाउन ९४ दशमलव १ प्रतिशत प्रभावकारी देखिएपनि सिकिस्त बिरामी हुनबाट जोगाउन भने शतप्रतिशत नै प्रभावकारी देखिएको छ ।

अमेरिकाको खाद्य तथा औषधी प्रशासनमा भ्याक्सिन सल्लाहकार समितिका सदस्य डाक्टर पउल ओफिटले यी तथ्यांकहरु निकै उत्साहजनक भएको बताएका छन् । शनिबार राती भ्याक्सिनको प्रभावकारिताबारेका तथ्यांक हेर्दा आफू निकै भावुक भएको मोडेर्नाका प्रमुख मेडिकल अफिसर डाक्टर ताल ज्याक्सले बताए ।

भ्याक्सिनको परीक्षणमा सहभागीमध्ये १९४ जनालाई कोरोना संक्रमण भएकोमा तीमध्ये ११ जनाले पूर्ण वास्तविक भ्याक्सिन प्राप्त गरेका थिए । अरु १८५ जनाले भ्याक्सिनको सलाइनमात्र प्राप्त गरेका थिए ।

सिकिस्त भएका ३० जनाले वास्तविक भ्याक्सिन लिएका थिएनन्, केबल सलाइनमात्र लिएका थिए । एकजना सलाइनमात्र लिएकाको मृत्यु भएको थियो । तर वास्तविक भ्याक्सिन लिएकाहरु सामान्य र सिकिस्त संक्रमण हुनबाट जोगिएका थिए । भ्याक्सिनको प्रभावकारिता सबै जातजाती र उमेर समुहमा देखिएको छ । हिस्पानिक, एसियन, अश्वेत, अमेरिकन र बहुजातीयहरु परीक्षणमा सहभागी थिए ।

मोडेर्ना भ्याक्सिनबारे निर्णय गर्न एफडीएको बैठक डिसेम्बर १७ मा बस्नेछ । त्यो अगाडि डिसेम्बर १० मा फाइजरको भ्याक्सिनबारे निर्णय गर्न एफडीएको बैठक बस्दैछ । बैठकको केहीदिनमा नै भ्याक्सिनले स्वीकृति पाउने अपेक्षा गरिएको छ ।

डिसेम्बर दोश्रो साता अमेरिकनले फाइजरको भ्याक्सिन पाउनसक्ने

छिटोमा डिसेम्बर ११ सम्म अमेरिकनले फाइजरको भ्याक्सिन पाउनसक्ने अपेक्षा गरिएको छ । अमेरिकन कोरोना भ्याक्सिन कार्यक्रम प्रमुख डाक्टर मोन्सेफ स्लाओईले प्रयोगको स्वीकृति पाएको २४ घण्टाभित्र भ्याक्सिन लगाउने स्थलमा भ्याक्सिनका डोजहरु पठाइने बताएका छन् ।

अमेरिकाको खाद्य तथा औषधी प्रशासनको सल्लाहकार समितिको बैठक डिसेम्बर १० मा बसेर फाइजरको भ्याक्सिनलाई स्वीकृति प्रदान गर्ने अपेक्षा गरिएको छ । स्वीकृति पाएको एक वा दुई दिनमा ११ वा १२ डिसेम्बरमा वितरण सुरु गरिने अमेरिकन कोरोना भ्याक्सिन कार्यक्रम प्रमुखले बताएका हुन् ।

अमेरिकन कम्पनी फाइजरले जर्मन कम्पनी बायो एनटेकसँग मिलेर बनाएको कोरोनाबिरुद्धको भ्याक्सिनको प्रयोगको स्वीकृतिका लागि नोभेम्बर २० मा अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीए समक्ष आवेदन दिएको थियो । यो संगै कोरोनाबिरुद्ध लड्न फाइजरको भ्याक्सिन डिसेम्बरका अमेरिकामा उपलब्ध हुने संकेत मिलेको छ । फाइजरको भ्याक्सिनको अन्तिम परीक्षण सफल भएपछि प्रयोगको स्वीकृतिका लागि आवेदन दिइएको हो ।

एफडीएका वैज्ञानिकहरुले भ्याक्सिन सुरक्षित र प्रभावकारी भए नभएको बारे निष्कर्ष निकाल्नेछन् । स्वीकृत भएमा प्राथमिकताका आधारमा अमेरिकामा भ्याक्सिन वितरण सुरु गरिनेछ । सुरुमा स्वास्थ्कर्मी, बृद्धबृद्धा र स्वास्थ्य समस्या भएकाहरुलाई भ्याक्सिन दिइने जनाइएको छ । त्यसपछि अत्यावश्यक कामदार, शिक्षक, होमलेस र कैदीबन्दीहरुलाई दिइनेछ । तेश्रो चरणमा बयस्क र बालबालिकाहरुलाई दिइनेछ ।

फाइजरको भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी र सुरक्षित रहेको अन्तिम निष्कर्ष निकालिएको थियो । एफडीएको स्वीकृति पछि यो भ्याक्सिन एफडीए स्वीकृत पहिलो कोरोनाबिरुद्धको भ्याक्सिन हुनेछ । स्वीकृत भएमा यो भ्याक्सिनले डिसेम्बरमा रातारात करोडौं डोज भ्याक्सिन सप्लाई गर्ने योजना बनाएको छ ।

प्रारम्भिक विश्लेषणमा यो भ्याक्सिन ९० प्रतिशतभन्दा बढी प्रभावकारी र सुरक्षित रहेको निष्कर्ष निकालिएको थियो । ४३ हजार स्वयंसेवकहरुमा गरिएको परीक्षणपछि यस्तो निष्कर्ष निकालिएको थियो । सहभागीमध्ये सुरुमा ९४ जनामा र पछि कुल १७० जनामा कोरोनाको लक्षण देखिएको थियो ।

१७० मध्ये १६२ जनामा सलाइन शटमात्र दिइएको थियो भने वास्तविक भ्याक्सिन दिइएका ८ जना पनि संक्रमित भएका थिए । यसको अर्थ फाइजर भ्याक्सिन लक्षणयुक्त कोरोना संक्रमण रोक्नमा औषतमा ९५ प्रतिशत प्रभावकारी रहेको निष्कर्ष निकालिएको छ ।

भ्याक्सिन कतिलामोसमयसम्म प्रभावकारी हुन्छ भने निर्धारण गर्न स्वयंसेवकहरुलाई २ बर्षसम्म फ्लोअप गरिनेछ ।

भ्याक्सिनको दुईमहिनाको सुरक्षा तथ्यांक हेरेर एफडीएले आपतकालिन प्रयोगका लागि स्वीकृति दिनसक्नेछ । एफडीएले फाइजरको आवेदनपछि विज्ञहरुको सुझाव लिनेछ । र, विज्ञहरुको सुझावका आधारमा भ्याक्सिनलाई आपतकालिन प्रयोगको अनुमति दिने वा नदिने निर्धारण गर्नेछ ।

फाइजरको भ्याक्सिन स्वीकृत भएमा भने वितरणमा केहीसमस्या आउनसक्ने जनाइएको छ । किनभने यो भ्याक्सिनलाई माइनस ९४ डिग्रि फरेनहाइट चिसो तापक्रममा राख्नुपर्छ । साथै ६५ बर्षभन्दा माथिकाहरुमा यो भ्याक्सिन ९४ प्रतिशतभन्दा माथि प्रभावकारी देखिएको छ ।

फाइजरले सन् २०२० भित्रै ५० मिलियन भ्याक्सिन उत्पादन गर्नसक्ने बताएको छ । जुन २५ मिलियनलाई दिन प्रयाप्त हुनेछ । यो भ्याक्सिन हरेकलाई २ शट दिनुपर्छ । आगामीबर्षसम्म फाइजरले १ दशमलव ३ बिलियन भ्याक्सिनका डोज उत्पादन गर्नसक्ने जनाइएको छ ।

मोडेर्नाले भ्याक्सिनको मूल्य २५ देखि ३७ डलर

मोडेर्नाले भ्याक्सिनको मूल्य प्रतिडोज २५ देखि ३७ अमेरिकी डलर लिने भएको छ । अर्डर संख्याका आधारमा मूल्य थोरैधेरै हुनसक्ने कम्पनीका सीईओले बताएका छन् । सरकारलाई भ्याक्सिन बेच्दा मोडेर्नाले यो रकम लिने जनाइएको छ ।

कोरोनाबिरुद्धको भ्याक्सिनको मूल्य फ्लुशटकै मूल्यको हाराहारीमा रहेको छ । फ्युशटको मूल्य पनि १० देखि ५० डलरको हाराहारीमा रहेको छ । युरोपियन कमिसनले मोडेर्ना भ्याक्सिनका करोडौं डोजहरु २५ डलरभन्दा कम मूल्यमा प्राप्त गर्नका लागि छलफल गरिरहेको छ ।

डिसेम्बरमा २ करोड अमेरिकनले भ्याक्सिन पाउनसक्ने

डिसेम्बरमा २ करोड अमेरिकनहरुले कोरोनाबिरुद्धको भ्याक्सिन प्राप्त गर्नसक्ने अमेरिकी सरकारको भ्याक्सिन पहलमा संलग्न बरिष्ठ बैज्ञानिक मन्सेफ स्लाउइले बताएका छन् । अपरेशन र्याप स्पीडका प्रमुख सल्लाहकार समेत रहेका उनले सन् २०२० को अन्त्यसम्ममा २ करोडले भ्याक्सिन पाउनसक्ने बताएका हुन् ।

उनले डिसेम्बरमा २ करोड र त्यसपछि हरेक महिना साढे २ करोडदेखि ३ करोड अमेरिकनले भ्याक्सिन पाउनसक्ने बताए । फरबरीको अन्त्यसम्ममा अमेरिकामा रहेका ७ देखि ८ करोडले भ्याक्सिन पाउनसक्ने उनको भनाई छ । आगामी तीनमहिनामा अमेरिकी जनसंख्याको एक चौथाईले भ्याक्सिन पाउने अपेक्षा गरिएको छ ।

सन् २०२१ को अप्रिलसम्म कोरोनाबिरुद्धको भ्याक्सिन सर्वसुलभ रुपमा नै उपलब्ध हुने अमेरिकाका बरिष्ठ सरुवारोग विशेषज्ञ डाक्टर एन्थोनी फाउची लगायतले बताएका छन् । फाउचीले पनि अब छिट्टै भ्याक्सिन उपलब्ध हुने तर कोरोना सम्पूर्णरुपमा निर्मूल भने तत्काल नहुने बताएका छन् ।

विश्वमा अहिले १७० वटाभन्दा धेरै कोरोनाबिरुद्धको भ्याक्सिनहरु पूर्व क्लीनिकल परीक्षणमा रहेका छन् । त्यस्तै १० वटा भ्याक्सिन पहिलो चरणको र १५ वटा भ्याक्सिन दोश्रो चरणको क्लीनिकल परीक्षणमा रहेका छन् ।

कोरोनाको भ्याक्सिन तीब्र गतिमा बनाउने प्रयास भइरहेको छ । जबकी पोलियोको भ्याक्सिन बन्न ७ बर्ष, दादुराको ९ बर्ष, ठेउलाको ३४ बर्ष लागेको थियो ।

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com