बन्दाबन्दी हटेको एक महिना : सङ्क्रमण र मृत्युदर अति उच्च


प्रकाशित मिति : भाद्र ७, २०७७ आईतबार

विश्व्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमण बन्दाबन्दी सकिएपछिको एक महिनामा निकै उच्च गतिमा वृद्धि भएको छ । मृत्युदर र सङ्क्रमण दर जुन गतिमा बढिरहेको छ, त्यसको तुलनामा निको हुने दर भने निकै न्यून छ । एक महिनाअघि निको हुने दर कुल सङ्क्रमितको ६९ दशमलव ३४ प्रतिशत थियो । एक महिनापछि निको हुने दर ५९ प्रतिशतमा झरेको छ ।

सरकारका प्रवक्ता डा युवराज खतिवडाले गत साउन ५ को मन्त्रिपरिषद्को निर्णयअनुसार साउन ६ गते रातिदेखि बन्दाबन्दी हटेको घोषणा गर्नुभएको थियो । त्यसको आज एक महिना पूरा भएको छ । यही एक महिनाले विगतका सबै महिनाको भन्दा सङ्क्रमण र मृत्युदरमा नसोचेको परिणाम दिएको छ । स्थिति जटिलतातर्फ गइरहेकाले नागरिकले उच्च सावधानी अपनाउनु जरुरी रहेको जनस्वास्थ्य विज्ञले बताएका छन् । सन् २०१९ डिसेम्बर ३१ मा चीनको उहानमा देखिएको कोभिड–१९ नेपालमा विसं २०७६ माघ ९ गते त्यहीँबाट आएका एक नेपालीमा देखा परेको थियो । त्यसपछि चैत १० गते तेस्रो मुलुकबाट आएका दोस्रो नेपालीमा देखिएको थियो । त्यसपछि सङ्क्रमण फैलिन नदिन सरकारले चैत ११ देखि बन्दाबन्दी जारी गरेको थियो । क्रमशः सङ्क्रमण वृद्धि हुँदै वैशाख अन्तिम सातादेखि तीन अङ्कमा सङ्क्रमण देखिन थालेको थियो ।

असारमा केही कमी देखिएपछि सरकारले चार महिना लामो बन्दाबन्दीलाई साउन ६ गतेदेखि अन्त्य गरेको थियो । बन्दाबन्दी अन्त्य भएर गतिविधि चलायमान हुँदा मुलुकका सबै जिल्लामा मानिसहरु विनासावधानी घुलमिल भए । त्यसैको परिणाम अहिले देखिन थालेको छ । अहिले एकैदिन ११ जनासम्मको मृत्यु भएको र एकै दिन एक हजार बढी नयाँ सङ्क्रमित भेटिएका छन् ।

प्राप्त तथ्याङ्क विश्लेषण गर्दा साउनअघि भएको कुल मुत्युभन्दा पछिल्लो एक महिनामै तीन गुणा बढीले मानिसको मृत्यु भएको छ । साउन ६ गतेसम्म कोभिड–१९ सङ्क्रमित ४२ जनाको मृत्यु भएको थियो । साउन ६ देखि भदौ ६ सम्म एक महिनाका अवधिमा मात्रै १०४ जनाले ज्यान गुमाए । शनिबारसम्म सङ्क्रमितमध्ये १४६ को मृत्यु भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यही महिनामा सङ्क्रमण दर पनि उच्च भएको छ । अन्य महिनाको कुल सङ्क्रमितभन्दा एकै महिनामा दोब्बरले सङ्क्रमित थपिएका छन् । त्यसदिन कुल १७ हजार ९९४ सङ्क्रमित रहेकामा मन्त्रालयले एक महिनापछि सोही दिन अर्थात् भदौ ६ गते सार्वजनिक गरेको विवरणमा कुल सङ्क्रमित १३ हजार १२६ थपिएर ३१ हजार ११७ जना पुगेका छन् । साउन ६ कुल १५० नयाँ सङ्क्रमित भेटिएका थिए भने भदौ ६ गते नयाँ सङ्क्रमित ६३४ जना भेटिए । त्यसबेला काठमाडौँ उपत्यकामा नगण्य सङ्क्रमित रहेकामा अहिले दैनिक १५० देखि २०० को हाराहारीमा नयाँ बिरामी भेटिँदै आएका छन् । त्यसमा पनि ८० देखि ९० प्रतिशत काठमाडौँ जिल्लाका छन् ।

अघिल्लो महिना साउन ६ गते सक्रिय सङ्क्रमित पाँच हजार ४७७ रहेकामा एक महिनापछि सोही दिन सक्रिय सङ्क्रमित १२ हजार ६२९ रहेको विवरणमा उल्लेख छ । प्राप्त विवरणले बन्दाबन्दी हटाइएपछिको सङ्क्रमणले नसोचेको गति लिँदैछ । बन्दाबन्दी हटाइएपछि मानिसले कोभिड–१९ सर्न सक्छ भन्ने ख्यालै नगरी लापरवाही गर्दा जोखिम उच्च रुपमा वृद्धि भइरहेको विपद् जोखिम व्यवस्थापनविज्ञ कृष्ण देवकोटा बताउनुहुन्छ । उहाँले नागरिक आफैँले उच्च सावधानी अपनाउनुपर्ने र स्वास्थ्य मापदण्डलाई पूर्ण कार्यान्वयन नगर्ने हो भने स्थिति भयावह हुने चेतावनी दिनुभयो ।

बन्दाबन्दी हटाइए पनि कोभिड–१९ सङ्क्रमण केही घटे पनि रोकिएको थिएन । त्यसबेला सीमित मात्रै परीक्षण गरिएको थियो । बन्द खुल्यो भनेपछि सबै क्षेत्र चलायमान भयो । सीमा क्षेत्रमा अलि बढी सङ्क्रमण थियो । त्यहाँका मानिसहरु हरेक क्षेत्रमा खुला रुपमा पुगे र भारतबाट आएका मानिससमेत जिल्ला जिल्लामा भित्रिए । यसबाट सङ्क्रमण बढ्न सहयोग गरेको देवकोटा बताउनुहुन्छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम यो समय सकेसम्म घरबाटै ननिस्कने र अत्यावश्यक कामका लागि निस्किएमा पनि भीडभाडमा नजाने, मास्क लगाउने, साबुनपानीले राम्ररी हात धुने र दुई मीटरभन्दा बढीको भौतिक दूरी कायम गर्ने गर्दा सङ्क्रमणबाट जोगिन सक्ने बताउनुहुन्छ ।

मुलुकभर नै सङ्क्रमण बढ्न थालेपछि अहिले जिल्लाजिल्लामा निषेध आदेश जारी गरिएको छ । अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइएको छ जसका कारण आधा मुलुक नै ठप्प हुन पुगेको छ । सरकारले निषेध आदेश जारी गरे पनि सर्वसाधरणले स्वास्थ्य मापदण्ड ख्याल नगर्ने हो भने स्थिति जटिल हुनेतर्फ स्वास्थ्यकर्मीले सचेत गराएका छन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com