भोकको अघि रोगको पर्वाह नगरी भारत जाँदै नेपाली
प्रकाशित मिति : श्रावण २०, २०७७ मंगलबार
विश्वव्यापी कोरोना भाइसरले सन्त्रास मच्चाउदा नेपालसहित अधिकाँश मुलुकले लकडाउन अपनाएका छन् । भारतमा सङ्क्रमण देखापरेपछि घर फर्किएका नेपालीहरु भोक टार्न रोगको पर्वाह नगरी लकडाउनकैवीच पुनः भारत पसिरहेका छन् ।कैलालीको धनगढीस्थित त्रिनगर सीमामा रहेको नागरिक सहायता कक्षका दिनेश ठकुल्लाका अनुसार प्रत्येक दिन एक सयभन्दा बढी नेपाली मजदुरी गर्न भारत गइरहेका छन् । पछिल्लो केही दिनयता भारतबाट आउने र जानेको संख्या उस्तै रहेको भन्दै उहाँले भन्नुभयो–‘अहिले करिब २ सयको हाराहारीमा नेपालीहरू भारतबाट आइरहेका छन् ।
यताबाट रोजगारीको लागि त्यति नै संख्यामा नेपालीहरू भारत गइरहेका छन् ।’साउन महिनामा मात्रै १५९० जना सीमा पार गरेर भारततर्फ गएको तथ्याङ्क छ । उहाँहरुमध्ये केही भारतीय रहेपनि अधिकांश नेपाली भएको ठकुल्लाले बताउनुभयो । उहाँले भन्नुभयो– ‘भारततर्फ गएका १५९० मध्ये १४ सय हाराहारीमा नेपाली छन् ।’ त्रिनगर नाकामा खटिएका प्रहरीका अनुसार कैलालीको गौरिफन्टा नाका हुँदै भारतको मुम्बई, पुना, दिल्ली, लखनउलगायतका क्षेत्रमा जाने गरेका छन् । भारत जान रासन कार्ड अनिवार्य गरिएको छ ।
यसै सिलसिलामा सोमवार उमेरले झण्डै ५ दशक पार गरिसकेका कञ्चनपुर पुनर्बास नगरपालिका–६ का कृपाराम निरौला नेपाल भारत सीमा नाका गौरीफन्टामा देखिनुभयो । हातमा ठूलो झोला बोकेका उहाँको निधारमा रातो टीका थियो । कोरोना महामारीका कारण भारतबाट नेपालीहरु घर फर्किरहेका बेला उहाँ कता हिँड्नुभएको होला ? यही जान्न खोज्दा उहाँले भन्नुभयो– ‘मजदुरी गर्न भारत हिँडेको ।’ उहाँको जवाफ अनपेक्षित थियो । नेपालमा अहिले कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । तर भारतमा भने त्यो संख्या कयौं गुणा बढी छ । सोमबार साँझसम्म संक्रमितको संख्या १८ लाख ३ हजार ६९५ पुगेको छ भने ३८ हजार बढीले ज्यान गुमाएका छन् ।
‘घरमा साना दुई छोरा छन् । श्रीमतीले नजानू भन्दाभन्दै मनाएर आएको हुँ’ विगत ६ बर्षदेखि भारतमा मजदुरी गर्दै आउनुभएका कैलाली बर्दगोरियाका खेमराज चौधरीले भन्नुभयो– ‘अझै केही दिन भारत गइएन भने त भोकै परिन्छ भन्ने पीर भयो ।’ तर निरौलालाई भने कोरोनाको त्रास भन्दा बेरोजगारीको पीडा ठूलो भएको छ । ‘यहाँ बसेर बालबच्चालाई के खुवाउने ? आफूले के खाने ? पहिले कमाएर ल्याएको पैसा पनि सकियो’ उहाँले आफ्नो बाध्यता सुनाउनुभयो ।
निरौला विगत २२ वर्षदेखि भारतमा मजदुरी गर्दै आउनुभएको रहेछ । कोरोना महामारी र लकडाउनसँगै उहाँ चैत पहिलो साता घर आउनुभयो । ‘त्यो बेला आएपछि फेरि जान पाएको छैन । अब यस्तै अवस्था रहेपछि त भोकै परिन्छ होला’ उहाँले भन्नुभयो– ‘यहाँ भोकसँग लड्नुभन्दा रोगसँग लड्नु जाति भनेर हिँडेको हुँ ।’
निरौलाका नजिकै कैलाली घोडाघोडी नगरपालिका–३, निम्दीका राजकुमार चौधरी पनि हुनुहुन्थ्यो । उहाँको निधारमा पनि रातो टीका र हातमा झोला थियो । नेपाल भारत सीमा नाका कट्ने तरखरमा रहेका उहाँ १५ बर्षदेखि भारतमै रहेको सुनाउदै भन्नुभयो–‘हामी जस्ता गरिब मान्छे भारत नगए घरमा चुलो बन्दैन ।’ नेपालमै केही गर्ने योजनाका साथ उहाँ माघ अन्तिम साता घर आउनुभएको रहेछन् । ‘तर यहाँ केही काम पाइनँ । मन मारेर मुग्लान जानुपर्ने अवस्था आयो’ चौधरीले भन्नुभयो । ।
कैलालीको बर्दगोरिगा गाउँपालिकाका खेमराज चौधरीले पनि दुई सन्तान र श्रीमतीलाई घरमै छाडेर भारत हिँडेको बताउनुभयो । ‘घरमा साना दुई छोरा छन् । श्रीमतीले नजानू भन्दाभन्दै सम्झाइबुधाई आएको हुँ’ विगत ६ बर्ष देखि भारतमा मजदुरी गर्दै आएका उहाँले भन्नुभयो– ‘अझै केही दिन भारत गइएन भने त भोकै परिन्छ भन्ने पीर भयो ।’
कृपाराम निरौला, राजकुमार चौधरी र खेमराज चौधरी प्रतिनिधि पात्र मात्र हुन्, उहाँहरु जस्तै रोजगारीकालागि फेरि मुग्लान पस्नेहरुको संख्या बढ्न थालेको भन्सार नाकामा रहेको सहायता कक्षको आँकडाले देखाएको छ । गोरखापत्रबाट





