आफ्नो नाममा टुक्रा जमीन छैन, कसरी परिवार पाल्ने ?


प्रकाशित मिति : असार १८, २०७७ बिहीबार

नदीको किनारमा सानो खरले छाएको घर । घरको एक छेउतिर बिहान मिरमिरेदेखि बेलुकीसम्म जाजरकोटको कुशे गाउँपालिका–५ साँधीबिसौनाका गणेशबहादुर बादी १३ वर्षीय छोरा रमणसँग पसिना निकाल्दै फलामको काम गर्न थालेको धेरै भयो । “जेठो छोरा भर्खरै जन्मिएको थियो, माछा मार्ने काम बन्द गरी फलामबाट भाँडा बनाउनतर्फ लागेँ”, गणेशले भन्नुभयो, “माछा मारेर परिवार पाल्न नसक्ने अवस्था आएपछि फलामको भाँडा बनाएर परिवार पाल्ने विकल्पको खोजी गरेको हुँ । अहिले मेरो घरमा छ छोराछोरीसहित आठ जना छौँ ।”

पेशा बदले पनि गणेशको समस्या अझै हल भएको छैन । उहाँको एकतलाको खरले छाएको कच्ची घर छ तर जुन घर निर्माण गरी गणेश बसिरहनुभएको छ, सो घर निर्माण गरेको जग्गासमेत उहाँको नाममा छैन । अन्य जग्गाको कुरा त सपनाजस्तै भइसक्यो । ऐलानी जग्गामा एकतले कच्ची घर निर्माण गरी बसेका गणेश आठ जना परिवारको समस्या टार्ने एक्लो व्यक्ति हुन् । वर्षैपिच्छे जन्मिएका छोराछोरीको स्याहारसुसार गर्नमै गणेशकी श्रीमती फूलमायाको दिन बित्ने गर्छ । छिमेकीको घरमा छोराछोरीलाई मिठो मसिनो खुवाएको देख्दा आफ्नो घरमा मकैको रोटी आधा पेट खाएर बाँकी छोराछोरीलाई दिई प्राण बचाउनुपरेको बाध्यता फूलमायाको हृदयमा बलियो गाँठो बनेर बसेको छ । दुब्ला, पातला देखिने स–साना बालबालिकाले पूरै पेट खाना नपाएको बताएका छन् । “बिहान खाए बेलुकी के खाने भन्ने चिन्ताले सताउने गर्छ”, फूलमायाले भन्नुभयो, “गाउँपालिकाका अध्यक्षसँग जग्गा माग्दा कसैले सुन्दैनन्, हाम्रो कुरा सुन्ने कोही भएन । सरकारले आधा तलो कच्ची घर बनाइदिएपछि बास बसेका छौँ ।”

फूलमायाले छोराछोरी पढाउने इच्छा भए पनि कपडा किन्ने, कापी कलम किन्ने पैसा नहुँदा विद्यालय पठाउन नसकेको पीडा सुनाउनुभयो । “फलामको भाँडा बनाए पनि बिक्री हुँदैन, बाहिरबाट फलाम ल्याउनसमेत मुस्किल छ”, गणेशले भन्नुभयो । गाउँगाउँमा डेक, मोबाइलका कारण मादल बिक्री हुन छाडेपछि पुख्र्यौली पेशा छाड्न बाध्य भएको अर्का कर्णबहादुर बादीले पीडा पोख्नुभयो । “मादल बनाउन काठ चाहिन्छ रु तर सामुदायिक वनले जथाभावी काठ काट्न दिँदैनन् अनि हाम्रो पेशा कसरी चल्छ रु”, कर्णले भन्नुभयो । आधुनिक प्राविधिका कारण मादलको महत्व घट्दै आएको उहाँको भनाइ छ । पुख्र्यौली पेशा माछा मारेर, मादल बनाएर जीवन निर्वाह गर्ने बादी समुदाय अहिले विस्तारै सो पेशा छाड्न बाध्य भएको उहाँको भनाइ छ ।

उहाँजस्तै कुशे गाउँपालिकामा मात्र ३० घरभन्दा बढी बादी समुदायका मानिसको बसोबास छ । कसैको पनि आफ्नो जमीन छैन । शुरुमा रुकुमपश्चिम आठबीसकोटको राडीमा बसोबास गर्दै आएका यहाँका बादी समुदायका सर्वसाधारण कुशेमा आएको करिब दुई दशक बितेको छ । आफ्नो निजी जमीन र सम्पत्ति नभएका बादी समुदायका सर्वसाधारण जीवन निर्वाह र आधारभूत आवश्यकता पूरा गर्नका लागि अहिले सङ्र्घषमा रहेको बताएका छन् । केही वर्षअघि आफ्ना र अर्काका पीडा गीतमार्फत सुनाउँदै आवश्यक खाद्यान्न, पैसा असुल्दै आएका यो समुदाय अहिले नयाँ जीवन जिउने रणनीति बनाउन अनेक उपायको खोजीमा छ । उनीहरु अब आफैँ आत्मनिर्भर भएर पीडाको जिन्दगीबाट मुक्ति पाउन चाहेको बताएका छन् । उनीहरुको इच्छा, स्थानीय सरकारले जग्गा उपलब्ध गराइदेओस् भन्ने छ । सरकारले एकतले कच्ची घर बनाउन पैसा दिए पनि अन्य जीवन जिउने आधार नदिएको उनीहरुको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्थानीय सरकारले आयआर्जन गर्न र जीवन जिउने गतिलो उपायसहितको योजना ल्याएर श्रम गर्ने वातावरण सिर्जना गरोस् भन्ने बादी समुदायको माग छ । जिल्लाका अन्य ठाउँमा समेत बादी समुदायको बसोबास छ । नलगाड नगरपालिका–७ दल्लीमा रहेका बादी समुदायलाई स्थानीय सरकारले जीविकोपार्जनका लागि आधार तयार गरेको नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । “अब सबै बदलिनुपर्छ, सधैँ एउटै काम गरेर हुँदैन”, नगरप्रमुख रावलले भन्नुभयो, “सीपमूलक कामका लागि बजेट दिएर हामीले बादी समुदायका साथीलाई दुई वर्षदेखि सहयोग गर्दै आएका छौँ, अन्य पनि बजेट दिन तयार छौँ, तर काम हुनुप¥यो ।” रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com