कोरोना संक्रमित ३० प्रतिशतमा कुनै लक्षणनै नदेखिने, संक्रमण फैलाउनमा सबैभन्दा बढी घातक


प्रकाशित मिति : चैत्र २१, २०७६ शुक्रबार

कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण विश्वव्यापी रुपमा द्रुत गतिमा फैलिरहेको सम्बन्धमा विभिन्न अध्ययन तथा अनुसन्धान भइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो भाइरसका केही संक्रमित बिरामीमा प्रष्ट लक्षणहरु देखा नपर्दा उनीहरु संक्रमण फैलाउने माध्यम बन्ने गरेको पाइएको छ । चीनमा सुरुवाती चरणमा यस्ता संक्रमित एक देखि तीन प्रतिशतको हाराहारीमा पाइएका थिए ।

यद्यपि हाल सरदर ३० प्रतिशत संक्रमितमा लक्षणहरु प्रष्ट नदेखिने विभिन्न अध्ययनले देखाएको छ ।अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसीपी) काअनुसार अमेरिकामा यस्ता २० प्रतिशत मामिला प्रकाशमा आएको छ । सीएनएन, फोर्ब्स र नेचरमा प्रकाशित रिपोर्टका अनुसार सबैभन्दा बढी जापानमा ३०.८ प्रतिशत, इटलीमा ३० प्रतिशत, इरानमा २० प्रतिशत, स्पेनमा २७ प्रतिशत र जर्मनीमा १८ प्रतिशत संक्रमितमा कोरोनाभाइरसको खास लक्षण नै पाइएको थिएन ।

यस्ता संक्रमितमा धेरैजसो युवा रहेको बताइएको छ । भारतमा पनि ‘असिम्प्टोमेटिक’ अर्थात कुनै खास लक्षणविना नै संक्रमित भएका बिरामी पाइएको भए पनि सरकारले त्यस्ता बिरामीको तथ्यांक जारी गरिसकेको छैन ।

चिनियाँ अखबार ‘साउथ चाइना मर्निङ्ग पोस्ट’ का अनुसार हुबेइ प्रान्तमा कोरोनाका ९० हजारभन्दा बढी मामिला प्रकाशमा आइसकेको छ । फेब्रुअरीको अन्त्यसम्म पनि तीमध्ये करिब ४३ हजारमा कुनै प्रकारको लक्षण नै देखिएको थिएन । केहीमा लक्षण देखा परे पनि नगण्यमात्रामा पाइएको बताइन्छ । पछि तीमध्ये २० हजारमा संक्रमण देखिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कतिपयमा संक्रमित भएको दुईदेखि तीन हप्तापछिमात्र लक्षण पाइएको बताइन्छ । त्यतिन्जेलसम्म उनीहरु स्वस्थ मानिसजस्तै देखिन्थे । केहीमा सामान्य स्वास्थ्य समस्या भए पनि कोरोना संक्रमित भएको मान्न सकिने विश्वस्त आधार नपाइएको बताइन्छ । त्यसैले पनि कोरोना संक्रमित पहिचानका लागि संदिग्ध बिरामीलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्नुपर्ने मापदण्ड विकास गरिएको हो ।

दक्षिण कोरियामा सबैलाई संदिग्ध मानेर परीक्षण

दक्षिण कोरियामा अहिलेसम्म कोरोनाभाइरसको संक्रमित ९ हजारभन्दा बढी पाइएको छ । ५ करोड जनसंख्या भएको मुलुकमा करिब ४ लाख नागरिकको परीक्षण भइसकेको छ ।

दक्षिण कोरिया सरकारले सबैलाई संदिग्ध बिरामी मानेर परीक्षणको दायरालाई व्यापक बनाएको छ । अधिकारीहरुका अनुसार कोरोना संक्रमणका सबै बिरामीमा लक्षण देखा नपर्ने भएकै कारण दक्षिण कोरियाले ब्यापक मात्रामा परीक्षण गर्न थालेको हो । लक्षण देखिएका बिरामीदेखि लिएर कुनै प्रकारको लक्षण नभएकासम्मलाई दक्षिण कोरियाले कोरोना परीक्षणको दायरामा ल्याएको छ ।

दक्षिण कोरियामा सुरुवातमा कुनै प्रकारको लक्षण नदेखिएका २० प्रतिशतमा कोरोना संक्रमण ‘पोजेटिभ’ फेला परेको अधिकारीहरुको भनाइ छ । बेलायत, इटली, अमेरिका लगायतका मुलुकमा भने कोरोनाभाइरसको लक्षण नदेखिएका व्यक्तिलाई परीक्षणको दायरामा नै ल्याइएको छैन । त्यसैले पनि ती मुलुकमा संक्रमितको संख्या लगातार बढिरहेको विश्लेषकहरु बताउँछन् ।

असिम्प्टोमेटिक के हो ?

संक्रमित व्यक्तिमा आमरुपमा दुई वा तीन दिनभित्र कोरोनाभाइरसको लक्षण देखा पर्दछ । ज्वरो आउनु, फ्लु हुनु, शरीर दुख्नु, श्वास फेर्न कठिन हुनुजस्ता लक्षण देखा पर्नु कोरोना भाइरसको संकेत मानिन्छ । तीनदेखि पाँच दिनसम्ममा यो लक्षण बढ्दै जान्छ ।

यस्तै, ५ देखि १० दिनसम्ममा श्वास फेर्न निकै कठिन हुने र निमोनियाको लक्षण देखा पर्न थाल्छ । असिम्प्टोमेटिक हुने अर्थात् यस्ता लक्षणविना नै संक्रमित भएकाहरुमा भने ज्वरो, शरीर दुख्ने तथा फ्लुका लक्षण देखिदैँन । केहीमा न्यूनमात्रामा लक्षण देखिए पनि केही समयमा आफैँ निको भएजस्तो हुने गर्दछ । उनीहरुमा रुघाखोकीसमेत नदेखिने विज्ञहरुको भनाइ छ । त्यस्ता व्यक्तिमा दुईदेखि तीन हप्तासम्म पनि संक्रमणको लक्षण नदेखिने भएकै कारण संक्रमण फैलाउन त्यस्ता व्यक्तिहरु नै मुख्य कारक बन्ने गरेको पछिल्ला अनुसन्धानले देखाएको छ ।

लक्षणविनाका संक्रमित कति खतरनाक ?

भारतको राजीव गान्धी सुपर स्पेशियलिटी हस्पिटल नयाँ दिल्लीका निर्देशक प्रो. बीएल शेरवालका अनुसार लक्षणविनाका संक्रमितले समाजमा निकै ठूलो खतरा सिर्जना गर्दछन् । उनीहरुलाई आफू संक्रमित भएकोसमेत महसुस नहुने भएका कारण समाज तथा घरपरिवारमा उनीहरु घुलमिल भइरहने र नजानिँदो किसिमले अरुलाई संक्रमण फैलाइरहने भूमिकामा करिब तीन सातासम्म सक्रिय भइरहन्छन् । परिणामस्वरुप अरुमा तीव्र रुपमा यो भाइरस फैलने डर कायम रहन्छ ।

वृद्धवृद्धा तथा बालबालिकाको तुलनामा युवा वर्गमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने गर्दछ । त्यसैले युवा वर्गको शरीरमा भाइरस प्रवेश गर्नासाथ उनीहरुको शरीरको रोग प्रतिरोधात्मक शक्तिले उक्त भाइरसविरुद्ध लड्न थाल्छ र संक्रमणको लक्षण देखा पर्न समय लाग्न सक्छ । जबकि, वृद्धवृद्धाको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएका कारण उनीहरुमा चाँडै नै संक्रमणको लक्षण देखा पर्दछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com