‘ग्रिनकार्डवाहक र नेपाली पासपोर्टवाहकलाई नेपालमा जानमा समस्या छैन’


प्रकाशित मिति : चैत्र ३, २०७६ सोमबार

अमेरिकी ग्रिनकार्डवाहक र नेपाली पासपोर्टवाहकलाई नेपालमा जानमा समस्या भएको न्युयोर्कस्थीत नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराई जानकारी दिनुभएको छ । तर अमेरिकी नागरिकता लिइसकेकाहरुलाई भने अन अराइभल भिसामा रोग लगाइएको र कोरोना परीक्षणको स्वास्थ्य प्रमाणपत्र अनिवार्य गरिएको उहाँले स्पष्ट पार्नुभएको छ ।

उहाँले भन्नुभयो – ‘सकभर यो समयमा यात्रा नगर्नु नै उचित हुन्छ । तर अत्यावश्यक भएमा अमेरिकामा घुम्न आएर फर्कदै गरेका र नेपाली पासपोर्टमै यात्रा गर्ने ग्रिनकार्डवाहकलाई नेपालमा प्रवेश गर्न स्वास्थ्य प्रमाणपत्र अनिवार्य छैन । तर उनीहरुले नेपाल प्रवेश गरिसकेपछि कम्तीमा १४ दिन भने अनिवार्य सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ ।’

सरकारले प्रदान गर्दै आएको एनआरएन परिचयपत्र प्राप्त गरेका गैरआवासीय नेपालीहरुलाई पनि अनअराइभल भिसामा रोक लगाइएको छ । उनीहरुले नेपाल जानुभन्दा अगाडि दूतावास र कन्सुलेटबाट भिसा लिनुपर्ने तथा त्यसका लागि कोरोना परीक्षणको स्वास्थ्यप्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने जनाइएको छ ।

अमेरिकामा लक्षण नदेखिएका व्यक्तिलाई कोरोना परीक्षण गर्न सुरु नगरेको अवस्थामा स्वास्थ्य प्रमाणपत्र बनाउन लगभग असम्भव रहेको छ । यसबारेमा आफूले नेपाल सरकारको सम्बन्धित निकायलाई जानकारी पठाउने कार्यकारी महावाणिज्यदूत पुष्पराज भट्टराईले बताउनुभयो ।

कोरोना परीक्षणको स्वास्थ्यप्रमाणपत्र बनाउन अहिलेको अवस्थामा असम्भव भएका कारण अमेरिकामा रहेका कैयन नेपाली अमेरिकनहरु यसबाट प्रभावित भएका छन् । स्वास्थ्य प्रमाणपत्रको अभावमा कैयनलाई अमेरिकाकै विमानस्थलबाट फर्काइएको छ भने कैयनलाई दूतवास र कन्सुलेटबाट भिसा नदिई फर्काइएको छ ।

अहिलेसम्म ३६ जना विदेशीहरुलाई काठमाडौंको विमानस्थलबाटै फिर्ता पठाइएको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले स्वास्थ्य प्रमाणपत्र नल्याएका ३६ विदेशीलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।

फिर्ता पठाइएकामा नेपाली मूलका बेलायती स्वर्णिम गुरुङ पनि छन् । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि अध्यागमनले स्वास्थ्य प्रमाणपत्र नल्याएका विदेशीलाई फर्काउने नीति लिएको छ । अध्यागमनले फागुन २७ देखि सोमबारसम्म ३६ विदेशीलाई फिर्ता गरेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com