अमेरिकी राजदूत निवासमा नेपालमा रहेका अमेरिकनसँग छलफल, तीन नेपालीलाई सम्मान
प्रकाशित मिति : मंसिर ११, २०७६ बुधबार
काठमाडौंमा रहेको अमेरिकी राजदूत र्याण्डी बेरीको निवासमा नेपालमा रहेका अमेरिकनहरुसँग छलफल गरिएको छ । राजदूत निवास कमलकुञ्ज कमलादीमा आयोजना गरिएको टाउनहलमा नेपालमा रहेका अमेरिकनहरुसँग छलफल र अन्तरकृया गरिएको थियो ।
झण्डै २ घण्टा चलेको उक्त कार्यक्रममा एकसयभन्दा धेरै अमेरिकनहरुको सहभागिता रहेको थियो, जसमा अमेरिकी नागरिकता लिएका नेपालीहरुको पनि उल्लेख्य उपस्थीति रहेको थियो । नेपालमा नै बस्ने वा नेपाल भ्रमणमा आएका अमेरिकी नागरिकहरुलाई लक्ष्यित गरेर कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा राजदूत बेरीले सबैलाई थ्यांक्सगिभिंगको शुभकामना दिए भने नेपाल र अमेरिकाबीचको सम्बन्धको समेत चर्चा गरे । अमेरिकी नागरिकहरुको नेपाल भ्रमणको क्रममा दूतावासले दिने सेवा कन्सुलर सेवा सम्बन्धी अमेरिकी सरकारका अद्यावधिक नीतिबारे पनि चर्चा परिचर्चा भएको थियो । सहभागीहरुका प्रश्नहरुको सम्बन्धित अधिकारीहरुबाट जवाफ समेत दिइएको कार्यक्रम निकै उपलब्धीमूलक रहेको कार्यक्रममा सहभागी श्री पराजुलीले जानकारी दिए ।
कार्यक्रममा तीनजना नेपालीहरुलाई सम्मान समेत गरिएको छ । नेपाल प्रहरीका पर्यटक प्रहरी प्रमुख अमृतबहादुर बस्नेतलाई अमेरिकी लगायत नेपालमा आउने पर्यटकलाई पर्यटक प्रहरीले गरेको सहयोगका लागि सम्मान गरिएको थियो । त्यस्तै सेन्ट्रल जेलका पूर्व प्रमुख बेदनिधी अधिकारीलाई पनि कार्यक्रममा सम्मान गरियो । अधिकारीले उक्त जेलमा अमेरिकी नागरिकहरु पर्दा अमेरिकन दूतावाससँग समन्वय कायम गरेका थिए । त्यस्तै अमेरिकी नागरिक दुर्घटनामा पर्दा अस्पताल लैजाने र दूतावासलाई खबर गर्ने व्यवसायी जीवन पाण्डेलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
कार्यक्रमको सुरुमा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले मन्तब्यमार्फत सहभागीहरुको स्वागत गरेका थिए । कन्सुलर प्रमुख माइकल म्युसीले दूतावासका तर्फबाट प्रदान गर्ने कन्सुलर सेवाका बारेमा जानकारी दिएका थिए भने अमेरिकन सिटिजन सर्भिस प्रमुख जेम्स मांग्लोले अमेरिकी नागरिकहरु नेपाल भ्रमणमा आउँदा पासपोर्ट, भिसा लगायतका विषयमा ध्यान दिनुपर्ने कुराहरुबारे बोलेका थिए ।
दूतावासका क्षेत्रीय सुरक्षा अधिकारी तिमोथी कोर्सोले दूतावासको सुरक्षा प्रणालीबारे जानकारी दिनुका साथै अमेरिकी नागरिकले नेपालमा गाडी चलाउँदा अपनाउनुपर्ने सुरक्षा शतर्कता लगायतका विषयमा पनि बताएका थिए । कार्यक्रम संचालन अमेरिकन सिटिजन सर्भिस स्पेसलिष्ट शारदा श्रेष्ठले गरेकी थिइन् ।
प्रश्नोत्तर सेसनमा सहभागीहरुले धेरैजसो प्रश्नहरु कन्सुलर प्रमुखलाई गरेका थिए । खासगरी नेपालमा बस्ने नेपालीसँग विहे गरेका अमेरिकनहरुले आफूले भोग्नुपरेका विविध समस्याहरुबारे प्रश्न राखेका थिए । कार्यक्रममा पहिलोपटक नेपाल घुम्न आएकी एक अमेरिकनले नेपालमा गतबर्ष एकलाख अमेरिकीले भ्रमण गरेको तथ्यांक भएपनि आफूले भ्रमणका क्रममा अमेरिकीहरु नभेटेको अनुभव सुनाएकी थिइन् ।
कार्यक्रममा दूतावासका जेम्स मार्लोले नेपाल भ्रमण वर्ष २०२० मा आफूहरुको समर्थन रहेको र भ्रमणवर्षमा अझ धेरै अमेरिकीहरु आउने अपेक्षा गरेको बताए । उनले त्यसका लागि नेपाल सरकारसँग सहकार्य गरिरहेको समेत बताए ।

अमेरिकी भिसा पाउन तत्कालका लागि स्वास्थ्यविमा नचाहिने
कार्यक्रममा कन्सुलर प्रमुख माइकल म्युसीले अमेरिकी भिसाका लागि तत्कालका लागि स्वास्थ्यविमा नचाहिने स्पष्ट पारे । अमेरिकाको आप्रवासी भिसा पाउने व्यक्ति अमेरिकी स्वास्थ्य प्रणालीमा हुन नहुने नियमलाई अदालतले कार्यान्वयनमा रोक लगाएकाले तत्कालका लागि अमेरिकाको आप्रवासी भिसा प्राप्त गर्न स्वास्थ्यविमा नचाहिने उनले बताए ।
अमेरिकाको स्वास्थ्य प्रणालीमा भार हुनसक्ने सम्भावना भएकालाई भिसा नदिने नियम ट्रम्प प्रशासनले ल्याएपछि काठमाडौंमा रहेको अमेरिकी दूतावासले आप्रवासी भिसाका आवेदकलाई अमेरिकी स्वास्थ्य प्रणालीमा भार नहुने कुराको प्रमाण माग्न थालेको थियो । तर पोर्टल्याण्ड युएस डिस्ट्रीक्ट कोर्टका न्यायाधिस माइकल सिमोनले नियम कार्यान्वयनमा रोक लगाउनका लागि हिजोमात्र देशव्यापी प्राथमिक आदेश जारी गरेका छन् । यसअगाडि अदालतले उक्त नियम कार्यान्वयन नगर्न अस्थायी निरोधक आदेश जारी गरिएको थियो ।
कार्यक्रममा सहभागी अमेरिका निवासी सामाजिक व्यक्तित्व श्री पराजुलीको प्रश्नको जवाफ दिदै अमेरिकी दूतावास काठमाडौंका कन्सुलर प्रमुख म्युसीले अमेरिकाको आप्रवासी भिसा र स्वास्थ्यविमा सम्बन्धि नियमबारे प्रष्ट पारेका हुन् । अदालतको अर्को आदेश वा फैसला नहुँदासम्मका लागि स्वास्थ्यविमाको नियम तत्कालका लागि कार्यान्वयन नहुने कन्सुलर प्रमुखले स्पष्ट पारेका छन् ।

अमेरिकी सरकारले अमेरिकी स्वास्थ्य प्रणालीमा भार हुनसक्ने सम्भावना भएकाहरुको आप्रवासी भिसा अस्वीकृत गर्ने नियम ल्याएको थियो । यो नियम अनुशार अमेरिकाको सशुल्क स्वास्थ्य विमा भएको वा लिनेकुरा प्रमाणित गर्न नसक्नेहरुको भिसा अमेरिकी दूतावासले अस्वीकार गर्नसक्ने प्रावधान थियो ।
नयाँ नियम लागु भएमा अमेरिकी स्वास्थ्यप्रणालीमा भार हुनसक्ने भन्दै बार्षिक ३ लाख ७५ हजार भन्दा धेरैको ग्रिनकार्ड अस्वीकार गर्न सक्ने अनुमान गरिएको थियो । यो नियम अनुशार अमेरिकाको आप्रवासी भिसा अर्थात् ग्रिनकार्डका लागि स्पोन्सर गर्ने स्पोन्सरकर्तामाथि थप जिम्मेबारी र भार थपिन्छ । यो नियम अनुशार अमेरिकाको आप्रवासी भिसाका लागि आवेदन दिएको व्यक्तिले अमेरिकाको स्वास्थ्यप्रणालीमा आफू भार नहुने कुरा प्रमाणित गर्न नसके त्यस्ता व्यक्तिको भिसा अस्वीकृत हुनसक्छ ।
अमेरिकाको स्वास्थ्य प्रणालीमा भार हुनसक्ने व्यक्तिलाई अमेरिका प्रवेशमा रोक लगाउने सक्ने घोषणामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबरको पहिलो साता हस्ताक्षर गरेका थिए । यो नयाँ नियम अमेरिकाबाहिरबाट अमेरिकाको आप्रवासी भिसा आवेदन दिनेहरुका हकमा मात्र लागु उल्लेख गरिएको थियो ।
पहिले नै अमेरिकामा रहेकाहरु, अमेरिकी ग्रिनकार्डबाहकहरु, एसाइलम आवेदकहरु, शरणार्थीहरु र बालबालिकाहरुका सन्दर्भमा भने नयाँ नियम लागु नहुने जनाइएको थियो । तर अमेरिकी नागरिकका दम्पत्ति र बाबुआमाहरुका सन्दर्भमा भने यो नियम लागु नहुने जनाइएको थियो ।
अमेरिकाको आप्रवासी भिसाका लागि आवेदन दिनेहरुले अमेरिका प्रवेश गरेको ३० दिनभित्र मान्यताप्राप्त स्वास्थ्यविमा लिने कुरा प्रमाणित गर्न सक्नुपर्ने नियममा उल्लेख छ । आवश्यक इन्सुरेन्स व्यक्तिगत रुपमा किन्न सकिने र रोजगारदाताले प्रदान गर्ने इन्सुरेन्सलाई पनि मान्यता दिइने नियममा उल्लेख छ । तर सरकारी सुविधाप्रदान गरिएको स्वास्थ्यविमालाई भने मान्यता दिइनेछैन ।





