छठ पर्वको तयारी


प्रकाशित मिति : कार्तिक १४, २०७६ बिहीबार

जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा छठ पर्वको तयारी तीव्ररुपमा हुँदैछ । अहिले छठ पर्वका लागि चाहिने सामानको जोहो गर्दै स्थानीयवासी छठको तयारीमा जुटेका छन् ।

यतिखेर बजारमा छठमा प्रयोग हुने बाँसको चङ्गेरा (दाउरी), सुप (नाङ्लो), डाला, सुपली, केरा लगायतका सामग्री किनमेल गर्नेहरुको व्यापक भीड लागेको देखिन्छ । प्रदेश २ को राजधानी जनकपुरसहितका सबै जिल्लाका स्थानीय हाटबजारमा बाँसबाट बनेका सामान र छठ पर्वमा प्रयोग हुने अन्य सामानको खरीदबिक्री धमाधम भइरहेको छ ।

छठमा प्रयोग हुने सामानहरू कतिपय व्यापारीले टायरगाडामै राखेर गाउँघरमा बेचिरहेका छन् । यस्ता सामग्रीले भरिभराउ बनेका बजारले छठको रौनक बढेको स्थानीयवासीको भनाइ छ ।

जनकपुर उपमहानगरपालिका शैलेश दासले भन्नुभयो, “बजार यति बेला जताततै छठकै सामग्रीले भरिभराउ देखिएको छ, यही सामान किन्न बजारमा चहलपहल बढेको छ, यसले छठको रौनक पनि बढाएको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बजारमा छठ पूजामा प्रयोग हुने सामग्रीसँगै खाद्यान्न, फलफूल र लत्ताकपडा किन्नेको पनि भीड बढेको छ । तराई मधेशमा छठ पर्वलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गरिन्छ । त्यही भएर छठको आगमनसँगै व्यापार बढेको व्यवसायीहरू बताउँछन् । “अरू बेलाभन्दा छठ पर्वका बेला बिक्री बढी हुन्छ”, जनकपुरका एक ‘रेडिमेड’ कपडा पसलका सञ्चालक निरञ्जन साहले भन्नुभयो, “छठ पर्व हामी व्यापारीहरूका लागि पनि ठूलो उत्सव हो, यति बेला हामीलाई भ्याइनभ्याइ छ ।”

त्यसैगरी सीमावर्ती बजार मधवापुर, सुरसन्ड, भिट्ठामोड, जयनगर, बासोपट्टीमा पनि छठ सामग्री खरीद गर्न नेपालीको घुइँचो लागेको छ । खासगरी भारतीय बजारमा कपडा, लुगाफाटा, तेल, चिनी नेपालको बजारमा भन्दा निकै सस्तो पाइने भएको हुँदा नेपालीहरु सीमावर्ती बजारबाट खरीद गर्न पुग्ने गर्दछन् ।

छठ पर्वका लागि अहिले बजार भाउ केही महँगिएको उपभोक्ताहरु बताउँछन् । जनकपुरको मुरली चोकमा छठ पर्वका लागि सामग्री खरीद गर्न पुगेका अशोक झाले छठ पर्वमा पूजाका लागि चाहिने केरादेखि कागतीसम्मको भाउ बढेको सुनाउनुभयो । उहाँले अरू बेला रु पाँच गोटाले पाउने कागती अहिले रु २० गोटाभन्दा कममा पाउन मुस्किल भएको बताउनुभयो ।

छठमा चाहिने सामग्री किन्नका लागि बिहानदेखि बेलुकासम्म बजारमा व्रतालुको भीड निकै नै बढेको छ । छठ पर्वमा चाहिने आवश्यक सामग्री केरा, उखु, भन्टा, दूध, माटोको हात्ती, ढकनी, केराउ, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती, अदुवालगायत खरीद गर्नेको सङ्ख्या उल्लेख्य छ ।

अहिले केरा घरीको रु ४०० देखि १००० सम्म बिक्री भएको व्यापारीहरु बताउँछन् । साथै उखु जोडाको रु ८० मा बिक्री भएको व्यापारीको भनाइ छ । छठ पर्वमा केराको सिङ्गै घरी नै प्रसादका रूपमा चढाउनुपर्ने भएको हुँदा अहिले बजारमा केराको मूल्य अत्यधिक देखिएको छ । तिहार तथा छठलाई लिएर जिल्लास्थित विभिन्न व्यापारिक केन्द्रहरुमा अहिले केराको व्यापार बढेको छ ।

मङ्गलबारदेखि बजारमा लाखौँ रुपैयाँको केराको व्यापार भएको फलफूल व्यवसायी हनुमानप्रसाद साहले बताउनुभयो । उहाँले विगतको तुलनामा यस वर्ष केराको मूल्यमा अत्यधिक वृद्धि भएको बताउनुभयो । जनकपुरका फलफूल व्यवसायी नवीन साहले बजारमा मागअनुसार आपूर्ति नभएकाले केराको मूल्यमा ह्वात्तै वृद्धि भएको बताउनुभयो ।

प्रायःजसो सबै बजारमा अहिले केराकोे खरीदबिक्री गर्नेको ठूलै भीड लागेको देखिन्छ । स्थानीय बजारमा केराको माग बढेपछि स्थानीय किसानले लगाएको केरा बजारमा ल्याउने क्रमसमेत जारी रहेको छ भने मुलुकका विभिन्न ठाउँमा जहाँ केराको खेती गरिन्छ, त्यहाँका केराले पनि बजार आपूर्ति गर्र्न सक्दा भारतको आसाम, हाजिपुर, दरभङ्गा, पटना लगायतका ठाउँमा केरा मगाएको जीवन फलफूल सेन्टरका सञ्चालक जीवन साहले बताउनुभयो ।

तिहार र छठको बेला सबैले केरा खरीद गर्ने भएकाले केराको मूल्य आकासिएको जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ललित साहले बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष केराको मूल्य करीब ३० देखि ४० प्रतिशत वृद्धि भएको छ ।

त्यसैगरी छठ पर्वका लागि यहाँका जलाशय तथा घाटहरूमा सरसफाइ तथा सजावटको काम शुरु भइसकेको छ । यहाँका नदी तथा पोखरीमा टेन्ट लगाएर सजावटको काम जोडतोडले भइरहेको छ । खासगरी जनकपुरको धार्मिक तथा ऐतिहासिक पोखरी, तलाउ, गङ्गासागर, धनुषसागर, अङ्गराजसर, दशरथ तलाउ लगायतको पोखरीहरुलाई नवदुलही झँै सजाएर झकिझकाउ बनाउने कार्य जारी छ ।

जनकपुरको मुख्य मुख्य चोकहरुमा आकर्षक प्रवेशद्वारहरु निर्माण गरिएको छ । अहिले गाउँघर, सहर बजार, गल्लीमा गुञ्जिरहेको छठपर्वको सुमधुर लोकगीतले सारा जनकपुर, मिथिलाञ्चललगायत तराई मधेश नै अहिले छठमय उल्लास वातावरणमा डुबेको छ । रोजगारीका लागि भारतलगायत अन्य मुलुक गएकाहरू पनि छठ पर्व मान्न गाउँ फर्किरहेका छन् ।

दशैँ र तिहारमा गाउँ आउन नसक्नेहरू पनि छठमा घर फर्किरहेका छन् । रोजगारीका कारण अरू बेला सुनसान जस्तै बनेका गाउँघरमा यति बेला चहलपहल बढेको छ । छठ पर्व बुधबारदेखि विधिवत्रूपमा शुरु भएको छ । बुधबार व्रतालु महिलाहरुले नुहाएर मात्र खाएका छन्, जसलाई ‘नहा खाय’ भनिन्छ । यसै दिन व्रतालुले छठ पर्व गर्ने भनेर सङ्कल्प लिन्छन् । यसको भोलिपल्ट अर्थात् बिहीबार दिनभरि व्रतालु महिला निराहार बसेर साँझ प्रसाद चढाउने गर्छन् । यो दिनलाई ‘खरना’ भनिन्छ । शनिबार बिहानदेखि पर्वमा प्रयोग हुने विभिन्न किसिमका पकवानहरू घरमै बनाएर साँझ पवित्र जलाशयमा गएर पूजाआजा गर्दै अस्ताउँदो सूर्यको अघ्र्य दिने चलन छ, यसलाई ‘संझियाघाट’ भनिन्छ ।

रातभरि पूजापाठ गरेर आइतबार उदाउँदो सूर्यको अघ्र्य दिएर छठ पर्वको समापन हुन्छ । छठ पर्व व्रतालु महिलासहित घरका अन्य सदस्यले निष्ठापूर्वक मनाउने चलन छ । छठ पर्वमा बनाउने प्रसाद ठकुवा, भुसुवा सहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर ख्वाउने र आफन्त नातेदारकहाँ पु¥याउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवा सहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पीठोबाटै तयार गरिन्छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com