थप देशमाथि भिसा प्रतिबन्ध लगाउने तयारीमा ट्रम्प प्रशासन


प्रकाशित मिति : कार्तिक १४, २०७६ बिहीबार

ट्रम्प प्रशासनका अधिकारीहरु थप देशहरुमाथि अमेरिकामा यात्रा प्रतिबन्ध लगाउने विषयमा छलफल गरिरहेको जनाइएको छ । अत्यन्तै आलोचित यात्रा प्रतिबन्धको सुचीमा अरु देशहरुलाई थप्ने विषयमा छलफल भइरहेको दुईवटा श्रोतबाट सुचना प्राप्त भएको दावीसहित सीएनएनले प्रकाशित गरेको छ ।

५ वटाभन्दा कम देशलाई भिसा प्रतिबन्धको सुचीमा थप्ने तयारी भइरहेको जनाइएपनि कुन कुन देशहरु भन्नेबारे केही खुलाइएको छैन । सन् २०१८ मा ट्रम्पको बहुचर्चित र विवादित यात्रा प्रतिबन्धको तेश्रो संस्करणलाई सर्वोच्च अदालतले अनुमोदन गरेको थियो ।

पुरानो यात्रा प्रतिबन्धको सुचीमा लिबिया, इरान, सोमालिया, सिरिया, यमन, भेनेजुएला र नर्थ कोरिया रहेका छन् । चाडलाई गत अप्रिलमा सुचीबाट हटाइएको थियो । उक्त देशले अमेरिकी सुरक्षा मापदण्ड पूरा गरेको भन्दै सुचीबाट हटाइएको थियो ।

अमेरिकी विदेश मन्त्रालयका अनुशार मध्य सेप्टेम्बरसम्म ३१ हजारको भिसा यात्रा प्रतिबन्धको नियम अनुशार अस्वीकृत गरिएको छ । यो अवधिमा अमेरिकी सरकारले ७६ सयलाई भिसा सुविधा समेत प्रदान गरेको जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com